काठमाडाैं । सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत् आयोजनाको डिसेन्डर स्ल्याबको ढलान भत्किँदा थिचिएर मृत्यु भएका दुई कामदारका परिवारलाई प्रवर्द्धक कम्पनीले आर्थिक सहायता प्रदान गर्ने भएको छ । भोटेकोशी गाउँपालिका-४ मा निर्माणाधीन आयोजनाको प्रवर्द्धक इलेक्ट्रोपावर कम्पनी लिमिटेडले मृतक कामदार बर्दियाको ठाकुरबाबा नगरपालिकाका रामजीन थारू र सुमन थारूका परिवारलाई प्रतिपरिवार ३० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएको हो ।
लेट्रो पावरका आयोजना प्रबन्धक उमेश पराजुलीका अनुसार आयोजना निर्माणको ठेक्का लिएका ‘सब-कन्ट्र्यक्टर’ कम्पनी बीएमआर कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि र मृतक परिवारको तर्फबाट वडा अध्यक्षले आर्थिक सहायता दिने लिखित सम्झौतामा हस्ताक्षर गरेका छन् । सहायता रकम १५ दिनभित्र उपलब्ध गराउने सम्झौता भएको छ ।
मृतक दुवै कन्ट्र्याक्टर कम्पनीका तर्फबाट आयोजनामा कार्यरत थिए । पराजुलीका अनुसार सम्झौतामा कम्पनीले मृतक परिवारलाई कामदारको जीवन बीमा बापतको २० लाख रुपैयाँ परिवारको मुद्दती खातामा निक्षेपको रूपमा जम्मा गरिदिने छ । प्रतिपरिवार नगद सात लाख रुपैयाँ र डेढ लाख काजक्रिया खर्चबापत उपलब्ध गराउने भइकाे छ ।
मृतकका छोराछोरीको १२ कक्षासम्म पढाइ खर्च व्यहोर्ने, आयोजना निर्माण अवधिभर मृतकले पाउने तलब परिवारको खातामा जम्मा गरिदिनेसमेत सम्झौतामा उल्लेख छ । मृतक परिवारका सदस्यलाई आयोजनामा रोजगारी दिने सम्झौता भएको छ ।
प्रतिक्रिया