काठमाण्डौ। पेरिस ओलम्पिकको टिकट किन्न चाहने हरुले नयाँ मौका पाउने छन् । मुख्य आयोजक टोनी एस्टान्गुएटले अर्को २ लाख ५० हजार थान टिकट जारी गर्ने बताएका छन् ।
अप्रिल १७ देखि सबै खेल, सबै मूल्य श्रेणी र सबै प्रतियोगिता स्थलका लागि नयाँ टिकट विक्री गर्न राख्ने उनको भनाई रहेको छ । यसअघिको टिकट जारीका क्रममा उच्च मूल्यको आलोचना भएपछि उनले तीमध्ये आधालाई एक सय युरो (एक सय आठ अमेरिकी डलर) भन्दा कममा बिक्री गरिने बताए ।
खेलहरू एफिल टावर अगाडिको अस्थायी रङ्गशालामा खेलाइने भनिएको छ । पेरिस ओलम्पिक जुलाई २६ देखि अगस्ट ११ सम्म सञ्चालन हुनेछ । यसपछि भने अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म पाराओलम्पिक ।
यस्तै, नेपालले एसीसी प्रिमियर कपको पहिलो खेल मलेसियासँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले १२ अप्रिलमा मलेसियासँग खेल्ने भएको हो ।
टी-२० फर्म्याटमा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसियासँगै, हङकङ, कतार र साउदी अरब छन् । समूह ‘बी’ मा आयोजक ओमानसहित यूएई, कुवेत, बहराइन र कम्बोडिया छन् । त्यस्तै, समूह चरणको दोस्रो खेल नेपालले कतारसँग १३ अप्रिलमा खेल्ने छ । हङकङसँग १५ अप्रिल र साउदी अरबसँग १७ अप्रिलमा खेल्ने नेपालले समूह चरणका खेल सक्काउने छन् ।
समूहमा शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल जित्ने दुई टोलीले फाइनल खेल्नेछन् । यो प्रतियोगिता जित्ने टोली सन् २०२५ मा टी-२० फर्म्याटमा आयोजना हुने एशिया कपमा पुग्नेछ । शीर्ष ३ टोलीले एसीसी इमर्जिङ टिम्स एशिया कप खेल्नेछन् ।
प्रतिक्रिया