काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको बिहीबार खेलिएको खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराएको छ ।
प्रतियोगितामा ६ खेल खेलेको कोशी प्रदेशको यो पाँचौँ जित हो । एक खेलमा भने कोशी पराजित भएको थियो । यसैगरी ६ खेल खेल खेलेको सुदूरपश्चि प्रदेशको यो दोस्रो हार हो । ४ खेलमा भने सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।
जितसँगै कोशी प्रदेश प्रतियोगिताको अघिल्लो चरणमा पुग्ने निश्चित भएको छ । यसअघि एपीएफ क्लब पनि प्रतियोगिताको अघिल्लो चरणमा पुगिसकेको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय १८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले १७.४ ओभरमै केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।
कोशी प्रदेशका लागि दुई ब्याट्रले अर्धसतकीय पाली खेले । कप्तान रुविना क्षेत्रीले अविजित ५१ रन बनाइन् । ओपनर रुबिनाले ५५ बलमा एक छक्का र आठ चौका पनि हिर्काइन् । अर्की ओपनर काजल श्रेष्ठले ५४ रन जोडिन् । उनले ४८ बलमा आठ चौका हिर्काइन् ।
सुदूरपश्चिकी बलर अनु कडायतले दुई विकेट लिइन् । त्यसअघि सुदूरपश्चिमका लागि ओपनर बिन्दू रावलले ३३, सम्झना खड्काले २७, कविता जोशीले अविजित २६ र रेवती धामीले अविजित २० रन बनाएका थिए । कोशीका बलर सबनम राई र अप्सरी बेगमले १-१ विकेट लिए ।
प्रतिक्रिया