काठमाडौं। दुई दिन निरन्तर उकालो लागेको सेयर बजारमा आज दोहोरो अंकको करेक्सन आएको छ । यस दिन नेप्से परिसूचक २१.३४ अंकले घटेर २१९०.४२ विन्दुमा झरेको छ।
नेप्से घटेपनि ७ अर्ब माथिको सेयर कारोबार भयो । अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक ४७.७६ अंकले बढेर २२११.३८ विन्दुमा पुगेको थियो । सो दिन ५ अर्ब ३१ करोडको सेयर कारोबार भएको थियो।
पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २०.६९अंकले बढेको थियो । त्यसदिन ५ अर्ब ४५ करोडको सेयर किनबेच भएको थियो ।
यसदिन २५४ कम्पनीको २ करोड ८ लाख ४३ हजार ९५२ कित्ता सेयर ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार ५७९ रुपैयाँमा खरिदबिक्री भयो । यसदिन एउटा मात्रै कम्पनीको मूल्य १० प्रतिशत हाराहारिमा बढ्यो । कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को मूल्य घट्यो भने २ को मात्रै बढ्यो ।
फाइनान्स समूहको सूचक सर्वाधिक ४.३१ प्रतिशतले ओरालो लाग्यो । बैंकिङ र म्युचुअल फण्डको सूचक क्रमश:०.६५ र ०.२२ प्रतिशतले बढ्यो ।
प्रतिक्रिया