• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    डाेला चक्रपथ बन फडानी फलोअप १- प्रदेश सांसद जाेशीका स्वकीय सचिवको घरबाट काठ बरामद

    15.5K
    SHARES

    काठमाडाैं ।  सुदुरपश्चिम प्रदेश सांसद कुन्ती जोशीका स्वकीय सचिवको घरबाट समेत काठ बरामद भएको छ । जिल्लाको आलितालस्थित डोला चक्रपथ क्षेत्रमा ब्यापक बन फडानी गरि त्यहाँबाट तस्करी गरेर लुकाइ राखेको अवस्थामा आलिताल वडा नम्बर ८ मा रहेको शर्मानन्द जोशीको घरबाट चिरान गरिएको काठ (कडी) र गोलिया बरामद भएको डिभिजन वन कार्यालय डडेल्धुराका निमित्त प्रमुख डबल बहादुर बोहराले संचारकेन्द्रलाई बताए ।

    अर्को ठाउँमा पनि ३० गोलिया काठ बरामद भएको र आफुहरु त्यतैतिर गइरहेको उनले बताए । ‘काठ बरामद भएको छ हामी त्यहाँ जादैछाैं।’ उनले संचारकेन्द्रसँग भने । शर्मानन्द जोशीको घरमा कति मात्रामा काठ भेटिएको हो ? भन्ने प्रश्नमा उनले अगाडि थपे- ‘केहि थान गोलिया, चिरेर राखेको ४ थान कडी र दाउरा बनाउन लायकको काठ बरामद भएको छ ।’ काठ तस्करी घटनासँग जोडिएका व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याएर कारवाही हुने उनले बताए ।

    जिल्लाको आलितालस्थित डोला चक्रपथ सडक निर्माणका क्रममा व्यापक रुखहरु काटिएका थिए । स्थानीयले बन फडानी भएको रिपोर्ट डिभिजन बन कार्यालयलाई गरेपछि कार्यालयको टोलीले शुक्रबार आलिताल ८ क्षेत्रबाट १ सय १० गोलिया काठ बरामद गरेको थियो । थप लुकाइएको हुनसक्ने आशंकामा खोजि जारी राखेको बन कार्यालयको टोलीले सोमबार जोशीको घरबाट ठुलो मात्रामा काठ बरामद् गरेको हो ।

    जोशीको घरबाट काठ बरामद गर्ने वन कार्यालयका रेञ्जर सन्तोष भट्टसहितको टोलीसँग संचारकेन्द्रकर्मी पनि घटनास्थलमा थिए । जोशी प्रदेश संसाद कुन्ती जोशीका दाई समेत रहेकोले उनलाई बचाउन चलखेल समेत सुरु भएको बुझिएको छ । तर चिरान गरी राखिएको र गोलिया बनाएर लुकाइएको अवस्थामा जोशीकाे घरबाट बरामद भएको काठको तस्विर र भिडियो संचारकेन्द्रसँग सुरक्षित छ ।

    सांसद जोशीका दाई तथा स्वकिय सचिब शर्मानन्द जोशीले यसअघि पनि बिभिन्न काण्ड मच्चाउदै आएको स्थानीयको आरोप छ । केहि समयअघि मात्रै प्रदेश सरकारले सांसद जोशीलाई दिएको सरकारी स्कार्पियो शर्मानन्दले गाडिमा घरायसी कामका लागि मल बोकेपछि उनको गाउँभर बिरोध तथा आलोचना भएको भयो । स्वकिय सचिव जोशीले बहिनीको पावर प्रयोग गरेर प्रदेश सरकारबाट बिभिन्न ठाउँमा बजेट पास गराउने र त्यसबाट कमिसन समेत खाने गरेको स्थानीयको आरोप छ ।

    यस्तै संसदीय समितिले पनि डडेल्धुराको आलिताल गाँउपालिका वडा नं. ८ डोलामा सालका रुखहरू काट्नकै लागि ‘डोला चक्रपथ सडक’ निर्माण गरिएको ठहर गरेको छ। सुदूरपश्चिम प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले आलिताल गाउँपालिकाको गोदाम बजारदेखि डोला जोड्ने सडकको आइतबार स्थलगत अनुगमन गरेको थियो।

    समितिका संयोजक दीर्घराज सोडारीको नेतृत्वमा रहेको टोलीले अनुगमन गरेपश्चात सोमबार डडेल्धुरामा पत्रकार सम्मेलन गरी सडकलाई आवश्यकता पर्ने भन्दा पनि रुख काट्नकै लागि योजनावद्ध रुपमा सडक बनाइएको जानकारी गराएको हो।

    स्थलगत अध्ययनका क्रममा जंगलमा चक्रपथ सडक निर्माण गर्न आवश्यक नदेखिएको समितिको ठहर छ । रुख काटेर तस्करी गर्न नियोजित रूपमा सडक निर्माण गरिएको संसदीय समितिले जनाएको छ। वातावरणीय प्रभाव मूल्यांकन नगरी डोला चक्रपथ सडक काठ तस्करी गर्ने नियतबाटै निर्माण गरिएको प्रदेश सभासदस्य सोडारीले बताए।

    डिभिजन वन कार्यालयको टोलीले शुक्रबार उक्त क्षेत्रमा काठ गोलिया बनाइरहेकाे अवस्थामा एक जना र सोही सामुदायिक वनका अध्यक्षलाई नियन्त्रणमा लिएर थप कारवाही अगाडि बढाएको छ ।

    डाेला चक्रपथ सडक निर्माण कार्यको ठेक्का उग्रतारा निर्माण कम्पनीले लिएको छ । उक्त कम्पनी परसुराम नगरपालिकाका मेयर भिम बहादुर साँउदको सहायक कम्पनी हो । मेयर साँउदले राजेन्द्र निर्माण सेवा प्रालि र उग्रतारा निर्माण सेवा कम्पनीमार्फत बिगत लामो समयदेखि भित्री मधेशको बनजङ्गल तथा नदिजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा दोहनजस्ता कार्यमा संलग्न रहेको भन्दै स्थानीयहरुले पटकपटक बिरोध जनाउदै आएका छन् । हामी यो घटनाको निरन्तर फलोअपमा छौं…

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ