• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विचार-ब्लग

    मूल धार र माफीनामा

    आजको नेपालमा जुनसुकै स्तरको भए पनि क्रान्ति र प्रतिक्रान्तिको टक्कर चलिरहेको छ । सत्ताधारीहरूले विद्रोहीलाई राजनीतिको मूल धारमा आउन अपिल गरिरहेका छन् । विद्रोहीमा पनि माफीनामाका रूपमा एक प्रकारको विचलन देखिँदैछ । यो स्थितिमा मूल धार र माफीनामाका बारेमा छोटो चर्चा गरौँ ।

    मूल धारबारे
    राजनीतिको मूल धार सापेक्ष र अस्थायी हुन्छ भने मूल धारविरुद्धको जनताको सङ्घर्ष निरपेक्ष र स्थायी हुन्छ । हालको सत्तासीन नेकपाले आफूलाई राजनीतिको मूल धार दाबी गर्छ । उसले पछिल्लो परिवर्तन तथा क्रान्ति, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र कम्युनिस्टसमेतको मूल धारको दाबी गर्दछ । यो दाबीको प्रमुख आधार र कारण भनेको चुनावबाट बहुमत प्राप्त गरी सत्तासीन हुनु नै हो । यो शुद्ध संसद्वादी विचार हो । त्यसैले संसदीय राजनीति कसरी मूल धार ? सैद्धान्तिक विवेचनाको जरुरी छ भने व्यावहारिक रूपमा अर्को चुनावमा यो यही रूपमा आउँछ कि आउँदैन ?

    विश्लेषणको आवश्यकता छ । संसदीय बहुदलीय लोकतन्त्रको आधार सामन्तवादविरुद्धको सङ्घर्षमा पुँजीपति वर्गको उत्थान र सत्तारोहणसँगै जन्मे-हुर्केको र स्थापित भएको हो । यसको प्रारम्भिक प्रगतिशील र क्रान्तिकारी चरित्र कालान्तरमा प्रतिगामी र प्रतिक्रान्तिकारी चरित्रमा बदलियो । परिमाणतः उसका ‘स्वतन्त्रता, समानता र भ्रातृत्व’ को आदर्श नारा जनतामाथि ‘दमन, रक्तपात र शत्रुता’ मा परिणत भए । यसरी संसदीय पुँजीवादी लोकतन्त्र पनि बहुसङ्ख्यक श्रमिकविरोधी अल्पसङ्ख्यकको लोकतन्त्र साबित भयो । प्राचीन रोम र ग्रिसको दासबाहेक मालिकहरूको लोकतन्त्रको परिमार्जित र कलात्मक निरन्तरता मात्र ठहरियो ।

    त्यसैले त्यही अल्पसङ्ख्यक शासक वर्गहरूका निश्चित प्रतिनिधिलाई निश्चित समयावधिका लागि बहुसङ्ख्यक जनतामाथि कसले शासन गर्ने भन्ने कुराको चुनावमार्फत फैसला गर्नु नै संसदीय राजनीतिको मुख्य काम हो । जसको माथिबाट जुन किसिमको सङ्गीत बजाइन्छ तलकाले त्यही तालमा नाच्नु मुख्य विशेषता हुन्छ । त्यही भएर त्यो मात्र औपचारिक लोकतन्त्र हुन्छ । जे भनिन्छ, कार्यान्वयन हुँदैन । भए पनि अर्कै हुन्छ । बहुदलमा दुई दल हाबी हुन्छ । ती दलमा पनि निश्चित पुँजीपतिले एकाधिकार कायम गर्छन् । बहुसङ्ख्यक जनता निश्चित मतदातामा सीमित हुन्छन् जसले विश्वव्यापी फैलिँदो जलवायु परिवर्तनको कारण उत्पन्न पर्यावरणको समस्या, धनी र गरिबीचको खाडल, सङ्गठित र असङ्गठित, रक्तपात र अशान्तिप्रति चिन्ता व्यक्त त गर्दछन् तर नियन्त्रण गर्ने सामाथ्र्य राख्दैनन् ।

    जहाँ खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेचिन्छ । जुन लोकतन्त्रले चीनको हङकङको प्रदर्शन लोकतान्त्रिक भन्छ तर स्पेनको क्याट्रोलिना जनमतलाई कुल्चिदिन्छ । इरानमा हुने जनप्रदर्शन त आतङ्ककारी करार गर्दछ । आफ्नो असली रूप सिरिया, अफगानिस्तानका सुन्दर सहर बमबारी गरेर ध्वस्त पार्दा देखिन्छ । यसरी विश्वव्यापी सङ्कटग्रस्त बन्दै गएको संसदीय पुँजीवादी लोकतन्त्र यहाँ हाम्रो देशमा त झन् असफल देखिन्छ ।

    नेपालमा संसदीय पुँजीवादी व्यवस्थाको असली प्रतिनिधि नेकपा होइन, नेपाली काङ्ग्रेस हो । यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र त नेकपाले नेपाली काङ्ग्रेससँग गरेको सम्झौता र आत्मसमर्पणको परिणाम हो । हामी सबैलाई थाहा छ– २०६२÷६३ को जनआन्दोलनको नेतृत्व सात दल, त्यसमा पनि गिरिजाले गरे । २०७२ सालमा सुशील कोइरालाको नेतृत्वमा नयाँ संविधान जारी भयो । त्यहाँ पनि क्रमशः बहुदलमा दुई दल र दुई दलमा पनि नवधनाढ्यको एकाधिकार कायम हुँदैछ । लाखौँ खर्चेर चुनाव जित्ने हैसियत जनतासँग हुँदैन । उनीहरू त निरीह मतदाता मात्र हुन्छन् ।

    जेजति परिवर्तन गरे पनि तत्काल चुनावी खर्च घट्ने कुनै गुन्जायस छैन । शीर्ष नेतृत्वद्वारा माथिबाट जुन तालको सङ्गीत बज्छ त्यही तालमा नाच्नु तलको नियति हुन्छ । साँच्चै भन्ने हो भने समाजवादी ताजा मासु देखाएर संसदीय दलाल पुँजीवादी, कुहिगन्धे बासी मासु बेचिँदैछ । त्यसैले नेपाली काङ्ग्रेसको अन्तद्र्वन्द्व र अस्तव्यस्तता अनि जीर्णतासँगै संसदीय पुँजीवादी लोकतन्त्र मृत्युशैयामा छट्पटाइरहेको छ । जसलाई बचाउने भूमिकासहित नेकपाले मूल धारको दाबी गरे पनि चाहेर पनि त्यसलाई बचाउन सक्दैन, बरु झन् विकृत बनाई पतनतिर लिएर मात्र जान सक्छ । जहाँसम्म क्रान्ति र कम्युनिस्ट मूल धारको प्रश्न छ, त्यो त एक कम्युनिस्टले क्रान्तिको कुरा गर्नेबित्तिकै उसमाथि प्रतिबन्ध लगाई दमन गर्नुले खण्डन गरिदिएको छ ।

    त्यसैले सङ्कटग्रस्त असफल संसदीय दलाल पुँजीवादी लोकतन्त्रको आधार मूल धार हुन सक्दैन । जहिले पनि शासकहरूको धार सहायक हुन्छ । जनताको धार नै मूल धार हुन्छ । सरकारी नेकपाको दुईबर्से शासनकालले उसले दाबी गरेको मूल धारको खण्डन गर्दैै प्रश्न चिह्न खडा गरिदिएको छ । जनताले आफ्नै अर्को मूल धारको खोजी गरिरहेका छन् । पक्कै भविष्यमा फेरबदल हुनेछ । यो स्थितिमा विद्रोहीलाई मूल धारमा आउन गरिने अपिल त एकदमै फितलो देखिन्छ । किनभने आगामी दिनमा यही सरकारी नेकपा मूल धार बनिरहन्छ भन्ने कुनै ग्यारेन्टी छैन । गैरसंंसदीय नयाँ राजनीतिको मूल धारबारे बहस गर्न सकिन्छ ।

    माफीनामाबारे
    पार्टीको नीति र निर्देशनबिना क्रान्तिमा माफीनामाले विचलनको प्रतिनिधित्व गर्दछ । यसको कारण खोजीबिना मात्र धारे हात लगाएर पनि क्रान्तिकारीको भूमिका पूरा हुँदैन । त्यसैले पार्टीको योजनाबिना क्रान्तिबाट पछि हट्नेहरूको समस्याको शृङ्खलाबारे हेरौँ । सरल ढङ्गले हेर्दा उनीहरू आफ्नो स्वास्थ्य र पारिवारिक समस्याको कारण पछि हट्छन् । पार्टीले गम्भीरतापूर्वक नहेरेकोमा गुनासो गर्छन् । अलि गहिराइमा गएर हेर्दा पार्टी र क्रान्तिमा आफ्नो भविष्य देख्दैनन् र निराश हुन्छन् । साथै अगाडि देखिने खतराबाट डराउँछन् । त्यसैले पछि हट्छन् । यिनीहरू आफ्नो सही मूल्याङ्कन नभएको र पार्टीको कार्यदिशा र कार्यक्रम ठीक नभएको आदि गुनासो गर्छन् । अझ गहिरिएर हेर्ने हो भने मुख्य कुरा त यिनीहरूमा सामाजिक क्रान्तिको विज्ञान मालेमावादी शिक्षा र दीक्षाको अभाव हुन्छ ।

    यसरी राजनीतिक, वैचारिक र सैद्धान्तिक ज्ञानको कमी त्यो मुख्य कारण हो जसले नेता–कार्यकर्तामा विचलन र पलायन आउँछ । एकातिर आवश्यक सैद्धान्तिक ज्ञान नहुने र अर्कोतिर यथास्थिति जसले जहिले पनि आफ्नो सर्वोच्चता दाबी गर्छ, यसका विरुद्ध जाने क्रान्तिकारी दृढता छैन भने जतिसुकै प्रतिभावान् व्यक्ति भए पनि पलायन हुन्छ । यतिबेला २०३६ सालको पार्टी सदस्य वा पुरानो इतिहासले मात्र काम दिँदैन । त्यसैले क्रान्तिकारी नेता–कार्यकर्ताहरूले निरन्तर आफ्नो सैद्धान्तिक स्तर माथि उठाउनुपर्छ ।

    आज नेपालको ज्यूँदो क्रान्ति र क्रान्तिकारीहरूमाथि चौतर्फी भीषण आक्रमण भइरहेको छ । भौतिक आक्रमणभन्दा वैचारिक आक्रमणको घनत्व धेरै छ जसको कारण त्यो आक्रमणको नेतृत्व २१ औँ शताब्दीको संशोधनवादले गरिरहेको छ । त्यो लेनिनकालीन आफ्नो स्वार्थमा सम्भव भए गणितका स्वयम्सिद्ध तथ्यलाई पनि बदल्न खोज्ने संशोधनवाद आज कृत्रिम तथ्य खडा गर्ने र तथ्यको चोरी गर्ने विशेषतासहित अगाडि आएको छ । २१ औँ शताब्दीको संशोधनवादको नयाँ विशेषता भनेको अर्थ र प्रविधिका क्षेत्रमा रहेको ए आई राजनीतिक क्षेत्रमा समेत निरन्तरताको नवीकरण गर्नु हो जसले आफ्नो चोरीको कमजोर आधार नभत्कियोस् भनेर समयअगावै विरोधीमाथि अरिङ्गालझैँ तीव्र र भीषण आक्रमण गर्छ ।

    हो, सत्ताच्यूत शासकबाट राष्ट्रवाद चोरिएको छ । नेपाली काङ्ग्रेसबाट संसदीय बहुलवाद र विद्रोही नेपाल कम्युनिस्ट पार्टीबाट पार्टी नाम, समाजवाद र साम्यवाद चोरिएको छ । यसलाई क्रान्तिकारी भाषामा भन्दा खोसिएको छ । यसरी खोस्नु नै क्रान्तिको संशोधनवादी नयाँ परिभाषा हो । यो क्रािन्तले राष्ट्र र जनताको जीवन जर्जर बनाई राजनीतिक व्यापारीहरूको जीवन समृद्ध तुल्याउँछ । यसले माक्र्सवादको ठाउँमा संशोधनवाद, क्रान्तिको ठाउँमा सुधार स्थापित गर्न ‘साम, दाम, दण्ड,भेद’ को नीति अवलम्बन गर्दछ र एकोहोरो माक्र्सवाद र क्रान्तिको औचित्यमाथि प्रश्न गर्दछ । नयाँ र विकासको खुबै पक्षपोषण गर्दछ । जडसूत्रवाद र उग्रवादको विरोधीका रूपमा प्रस्तुत गर्दछ । यो स्थितिमा सैद्धान्तिक स्तर कमजोर भएका नेता–कार्यकर्ता विचलित भई पलायन हुन्छन् । कसैले देखाएर त कसैले लुकाएर माफीनामा गर्दछन् ।

    यसरी विचलनमा र पलायनमा स्वयम् व्यक्तिको सैद्धान्तिक स्तरको कमी प्रमुख कारण भए पनि सहायक रूपमा पार्टीका सीमा, समस्या र कमजोरी पनि उत्तिकै जिम्मेवार रहेका हुन्छन् । जस्तो चीनको सर्वहारा सांस्कृतिक क्रान्ति र रुसमा किरोबको हत्या र स्टालिनको मृत्युको समयमा भएका थिए । जहाँ संशोधनवाद र अवसरवादको चलखेलका कारण इमानदारहरू इमानदारबाटै पीडित हुन्छ । क्रान्तिकारीहरू क्रान्तिकारीबाटै दण्डित हुन्छन् । नेता र कार्यकर्ता आग्रह र पूर्वाग्रहका सिकार हुन्छन् ।

    सही र गलतका बीच प्रस्ट विभाजनरेखा कोर्न मुस्किल हुन्छ । पक्षपात हुन्छ र इमानदारहरूको उचित मूल्याङ्कन र रेखदेखको अभाव हुन्छ । प्रशंसा गर्ने र अर्थ दिने नेता-कार्यकर्ता सही लाग्छन, आलोचक, वैचारिक स्तर भएकाहरू प्रताडित हुन्छन् । यो स्थितिमा पनि क्रान्तिकारी टिकिरहन मुस्किल हुन्छ जसका बाबजुद चौतर्फी प्रतिकूलता र चुनौतीमाझ अडिक रहनु र अगाडि बढ्नु क्रान्तिकारीहरूको दायित्व हो । जे भए पनि क्रान्तिबाट मानिसहरू पछाडि हट्नुमा उनीहरूमा रहेको विश्व दृष्टिकोण र सैद्धान्तिक ज्ञानको अभाव नै मुख्य कारण हो ।

    अन्त्यमा, राजनीतिमा मूल धार सापेक्ष, अस्थायी कुरा हो । जनताको परिवर्तनको मूल धार नै वास्तविक मूल धार हो । आजको मूल धारले जनताको साँचो प्रतिनिधित्व गरिरहेको छ कि छैन ? प्रश्न उठिसकेको छ । यो स्थितिमा नयाँ मूल धार जन्मिने सम्भावना छ । साँच्चै गैरसंसदीय कम्युनिस्ट मूल धारबारे नयाँ बहस थालनी गरौँ । देश र जनताको मुक्ति र समृद्धिको आवश्यकता पूरा गर्न अघि बढ्ने क्रान्तिमा गरिने माफीनामा विचलनको सङ्केत हो । त्यसैले प्रतिक्रान्तिलाई तिरस्कार गर्दै राजनीतिको मूल धारबारे विश्लेषण गरौँ । क्रान्तिलाई प्रेम गर्दै माफीनामालाई घृणा गरौँ । (नेकपाका पूर्व पोलिटब्युरो सदस्य रणवीर हाल बर्दिया जेलमा बन्दी जीवन बिताइरहेका छन्)

    प्रतिक्रिया

    संचारकेन्द्र ट्रेन्डिङ