• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    खहरेपाङ्गोमा नेकपाका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको हल्ला, घटनाबारे यसो भन्छ काभ्रे प्रहरी

    10.7K
    SHARES



    काठमाडौं । काभ्रेमा गोली चलेको समाचार प्राप्त भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले विप्लव नेतृत्वको नेकपाका कार्यकर्तामाथि गोली हानेको समाचार प्राप्त भए पनि पुष्टी भने हुनसकेको छैन । नेकपाका केही सदस्यलाई फलो गर्दै पुगेको प्रहरीले उनीहरुमाथि गोली चलाएको बताईए पनि घटनाबारे विस्तृत विवरण आइसकेको छैन ।

    यसैबीच जिल्ला प्रहरी कार्यालय काभ्रेले भने जिल्लामा त्यस्तो कुनै घटना नघटेको बताएको छ । जिप्रका काभ्रेको संचार साखाले संचारकेन्द्रसँग कुरा गर्दै जिल्लमा त्यस्तो कुनै पनि अप्रिय घटना नघटेको प्रष्ट पारेको छ ।

    जिल्लाको खहरेपाङ्गो भन्ने ठाउँमा नेकपा कार्यकर्ता रहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयको टोली त्यसतर्फ जान तयारी अवस्थामा रहेको बेला स्थिति सामान्य रहेको जानकारी आएपछि प्रहरी नगएको संचार साखाले बताएको छ ।

    ‘एउटा अनलाइनले उक्त हल्ला चलाएको भन्ने सुनियो तर जिल्लामा त्यस्तो केहि पनि घटना घटेको छैन ।’ जिप्रका काभ्रेको संचार साखाले भन्यो- ‘खहरेपाङ्गो भन्ने ठाउँमा नेकपा कार्यकर्ता रहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयको टोली त्यसतर्फ जान तयारी अवस्थामा थियो तर पछि अवस्था त्यस्तो केहि छैन सामान्य छ भन्ने जानकारी आएपछि कोहि गएन ।’

    यसअघि २८ फागुनमा बसेको मन्त्रिपरिषद्को बैठकले विद्रोही नेकपामाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता नेपाल प्रहरीले नेकपाका नेता कार्यकर्तालाई जहाँ भट्यो, त्यहीँ पक्राउ गर्ने नीति लिएको छ ।

    सरकारको नेतृत्वकर्ता दलका २ अध्यक्ष केपी ओली र प्रचण्डको ‘हत्या’ योजना बनेको भन्दै सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको बताए पनि बिद्रोही नेकपाले भने उक्त कुराको खण्डन गरेको छ । विद्रोही नेपाल कम्युनिस्ट पार्टीले भने कुनै व्यक्तिको हत्या गर्ने योजना नबनाएको बताएको छ । आफ्नो पार्टीले व्यक्ति हत्या गर्ने मान्छे खटाएको भन्दै गरिएको प्रचार झुटो भएको उसले बताएको छ ।

    केही दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओली, (नेकपा)का अध्यक्ष प्रचण्डको हत्या गर्ने योजना बनाइएको भनेर गरिएको प्रचारप्रति खेद व्यक्त गर्दै नेकपाले त्यस्तो कुनै योजना नभएको स्पष्ट पारेको छ । केही दिन पहिले प्रचण्डले एक सार्वजनिक कार्यक्रममा आफ्नो हत्या गर्न विप्लवले मान्छे खटाएको बताएका थिए ।

    नेकपाको पार्टी कार्यालयले संचारकेन्द्रसँग कुरा गर्दै आफ्नो पार्टीमाथि दमन गर्न षड्यन्त्रसरुप उक्त प्रचार गरिएको बताएको छ । ‘नेकपाले अहिलेसम्म कुनै व्यक्तिको पनि हत्या गर्ने योजना बनाएको छैन ।’ कार्यालय स्रोतले भन्यो- ‘सरकार र आसेपासेहरुले बदनाम गर्ने उद्देश्यले त्यस्तो अफवाह फैलाएको हुनसक्छ ।’

    यस्तो भ्रम नछर्न सम्बन्धित सबै पक्षमा नेकपाले आग्रह गरेको छ । साथै सत्यतथ्य बुझेर समाचार सम्प्रेषण गर्न पनि मिडिया जगतलाई अनुरोध गरेको छ ।

    “पछिल्लो क्रममा नेकपालाई दमन गर्ने षड्यन्त्रबमोजिम यस्ता तथ्यहीन, भ्रामक कुराहरू आइरहेका छन् । यो कुरामा कुरामा कत्ति पनि सत्यता रहेको छैन । जनता र राष्ट्रका पक्षमा सङ्घर्ष गर्दै आएको एउटा क्रान्तिकारी पार्टीलाई बदनाम गर्न अनावश्यक लाञ्छना लगाएर धमिलो पानीमा माछा मार्ने योजना यो सरकार र उसका आसेपासेले अफवाह फैलाएका हुन्” स्रोतले भन्यो ।

    नेकपाको लोकप्रियतालाई देखेर देशीविदेशी प्रतिक्रियावादीहरु पार्टी नै बदनाम गराउने षड्यन्त्रमा लागेको भन्दै उक्त पार्टीले यस्तो घिनलाग्दो खेल बन्द गर्न चेतावनी दिएको छ । यस्ता षड्यन्त्रहरुलाई सबै देशभक्त, सच्चा लोकतन्त्रवादीहरूले मौकामा भण्डाफोर गर्नुपर्ने नेकपाको धारणा छ ।

    योजनाबद्ध रुपमा झुटो समाचार बनाइएको बताउँदै नेकपाले भनेको छ, “बरु प्रचण्ड नै यसरी व्यक्तिहत्याका कुरा गर्दथे । अहिले देश र जनताप्रति गरेको गद्दारी र यो सरकारप्रति जनताको दिनानुदिनको आक्रोशलाई कम गरी लुटको स्वर्ग बचाइराख्न योजनाबद्ध यस्ता समाचारहरू बनाइएका छन् ।”

    केही संचारमाध्यमहरुले प्रकाण्डको डाइरीको हवाला दिँदै प्रधानमन्त्री ओली, प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको हत्या गर्ने योजना बनाएको भन्दै समाचार प्रकाशित गरेका थिए । प्रधानमन्त्री ओलीले पनि आफूसहितका नेताहरुको हत्या गर्ने योजना बनाएकोले प्रतिबन्ध लगाएको बताउँदै आएका छन् ।

    उक्त अफवाहपछि सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले आफ्नो व्यक्तिगत सुरक्षाका लागि ५ दर्जन सुरक्षाकर्मी राखेका छन् । यता प्रतिबन्धित नेकपाका नेता कार्यकर्तामाथि दमन, गिरफ्तारी र धरपकड भने व्यापक बनाएको छ ।

    उसो त् प्रहरीले प्रतिबन्ध लगाउनुपूर्व देखि नै नेकपाका नेता कार्यकर्तामाथि दमन गर्दै आएको छ । यता प्रधानमन्त्री केपी ओली भने सरकारका महत्वपूर्ण निकायहरु आफूमातहत राखेर शक्ति सञ्चयतर्फ लागेका छन् । राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, महान्यायाधिवक्तााको कार्यालयलगायतका १८ वटा निकाय प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएर आफूलाई शक्तिशाली प्रधानमन्त्री सावित गर्न उनी लागि परेका हुन् ।

    सोही अनुसार प्रधानमन्त्री ओलीले पछिल्लो पटक आफै अध्यक्ष रहेका राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य, र अधिकारसम्बन्धी विधेयकमार्फत सेना परिचालनको अधिकार पनि आफैमा राख्नगरी मस्यौदा तयार गरी संसद्मा दर्ता गराएका छन् । सो विधेयकको दफा ६ मा नेपाली सेनाको उपयोग र परिचालनसम्बन्धी व्यवस्थामा प्रधानमन्त्रीले सीधै सेना परिचालन गर्न सक्ने प्रावधान उल्लेख गरिएको छ । तर ओलीको यस्तो तयारी गरेलगत्तै चौतर्फी बिरोध सुरु भएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ