• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी

    ‘बन्दै नबनेको झोलुङ्गे पुल बनिसकेको देखाएर’ ठेकेदारलाई साढे चार करोड रुपैयाँ भुक्तानी

    3.5K
    SHARES



    प्रकाश पन्त, बीबीसी सुर्खेत । रुकुम पश्चिमका तीन ठाउँमा झोलुङ्गे पुल बनाउन करिब चार करोड ६४ लाखमा ठेक्का लाग्यो। ती तीन वटै पुल बनिसकेका छैनन्। तर ठेकेदारले सबै भुक्तानी पाइसकेको विभिन्न दस्तावेजले देखाएका छन्।

    अधिकारीहरूका अनुसार रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर १ कुसुम खोला, वडा नम्बर २ को भल खोला र चौरजहारी नगरपालिका वडा नम्बर १४ को साक्चा खोलामा झोलुङ्गे पुल बनाउने ठेक्का हरिहरि पिएस जेभीले पाएको छ।

    अधिकारीहरूका अनुसार कुसुम खोलामा एक करोड दुई लाख ६ हजार २२४ रुपैयाँ, भल खोलामा दुई करोड ५४ लाख ९१ हजार ७०१ र साक्चा खोलामा पुल बनाउन एक करोड ७ लाख ९१ हजार ३८७ रुपैयाँमा ठेक्का दिइएको हो।

    ती कुनै पुल पूर्णरूपमा बनेका छैनन्। तर कोष तथा लेखा नियन्त्रण कार्यालय सुर्खेतका अनुसार तीन वटै झोलुङ्गे पुल निर्माण भइसकेको भनेर स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतले निर्माण कम्पनीलाई कूल चार करोड ६४ लाख ८९ हजार ३१२ रुपियाँ भुक्तानी दिइसकेको छ। सरकारी कागजमा ती पुलहरू असार महिनाभित्रै सम्पन्न भइसकेको देखाइएको अधिकारीहरूले जनाएका छन्।

    फील्डमा पुलको अवस्था के छ ?

    साउन महिनाको तेस्रो हप्तासम्म साक्चा खोला पुलको दुईतिरको फाउन्डेशन मात्रै बनाउने काम भएको छ। पुल निर्माण स्थल आसपासका स्थानीय बासिन्दाहरूका अनुसार पुलको निम्ति केही सामान ल्याइएको छ तर निर्माणको काम अघि बढेको छैन। उक्त पुलले रुकुम पश्चिमको गोठ खोला र सल्यानको पैयाँ डाँडा जोड्छ।

    पुल निर्माण भइरहेको चौरजहारी वडा नम्बर १४ का वडा अध्यक्ष थलबहादुर कवरले गत जेठ महिनाको दोस्रो साताबाट निर्माण थालिएको जानकारी दिए। कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार उक्त पुल निर्माणको निम्ति त्यही महिनामै करिब ८० लाख रुपैँया भुक्तानी भइसकेको थियो।

    स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतले बाँकी २८ लाख पनि भुक्तानी दिइसकेको छ। वडा अध्यक्ष कवरले भने, “निर्माण थालेको तीन महिनामा ३०-३५ प्रतिशत जति मात्रै काम भएको देखिन्छ।” आठबीसकोट नगरपालिका १ कुसुम खोला र वडा नम्बर २ भल खोलाको झोलुङ्गे पुलको काम अहिलेसम्म आधा जति पनि नभएको स्थानीय बासिन्दाहरूले बताएका छन्।

    कुसुम खोला पुलको साउनको तेस्रो सातासम्म फाउन्डेशन र पिलर निर्माणको काम सकिएको छ। वडा नम्बर १ का वडाध्यक्ष देवबहादुर घर्तीले भने, “बनिसकेको भनेर गत असारमै सबै भुक्तानी दिइएको यो पुल लगातार काम भयो भने असोज-कार्तिकसम्ममा सकिएला कि।” भल खोलामा झोलुङ्गे पुल बनिरहेको वडा नम्बर २ का वडा अध्यक्ष देवबहादुर यरी पनि पुलको काम अझै बाँकी रहेको बताउँछन्। “अहिलेसम्म पुलमा लट्ठा तानिएको छ। अरू काम बाँकी नै छन्,” उनले भने।

    विज्ञ भन्छन्: भ्रष्टाचार हो

    विज्ञका नजरमा काम पूरा नहुँदै काम सम्पन्न भइसकेको भनेर रकम भुक्तानी दिनु भ्रष्टाचारजन्य कसुर हो। पूर्व महालेखा परीक्षक शुकदेव भट्टराई खत्रीका अनुसार कार्य तालिका अनुसार रकम भुक्तानी दिँदै जानु पर्छ। तर काम नसकिँदै रकम भुक्तानी दिनु अनियमितता र भष्टाचारजन्य काम भएको उनले बताए।

    जानकारहरूका अनुसार कुनै पनि योजनामा सुरुमा २० प्रतिशतसम्म पेस्की रकम ठेकेदारलाई दिन सकिने भए पनि काम नसकिँदै सबै भुक्तानी दिन मिल्दैन। काम सकिएपछि सम्झौता बमोजिम कार्य सम्पन्न भएको प्रतिवेदनको आधारमा भुक्तानी दिइन्छ।

    निर्माण सम्पन्न नभएका पुलको कार्य सम्पन्न प्रतिवेदन तयार गरी स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतले ठेकेदारलाई रकम भुक्तानी दिएको देखिन्छ। “सार्वजनिक खरिद कानुनका साथै सम्बन्धित कार्यालयका प्रमुखको पदीय जिम्मेवारी र दायित्व अनुसार त्यस्तो काम गर्न मिल्दैन,” उनले प्रश्न गरे, “योजनाको काम नसकिँदै कुन आधारमा रकम भुक्तानी दिइयो?”

    ‘काम अलपत्र नपरोस् भनेर अग्रिम भुक्तानी’

    आफूले काम सम्पन्न गर्दासमेत रकम नपाएको भन्दै काठमाण्डूमा निर्माण व्यवसायीहरूले लामो समयदेखि सरकारमाथि लगातार दबाव दिने गरेका छन्। उक्त मुद्दा संसद् र सरकारमा पनि बहसको विषय बन्दै आएको छ। तर रुकुम पश्चिममा काम नसकिँदै सबै रकम भुक्तानी दिइएको घट्नाले ठेकेदार र कार्यालय प्रमुखबीच आर्थिक चलखेलको आशङ्का उत्पन्न गरेको पूर्व महालेखा परीक्षक खत्री बताउँछन्।

    झोलुङ्गे पुल निर्माणको जिम्मा पाएका निर्माण व्यवसायी प्रकाश शाहले असार मसान्तभित्रै काम सक्ने गरी सबै रकम भुक्तानी लिएको जानकारी दिए। “बाहिरबाट आउने सामान आइसक्यो। बाटोको समस्या र स्थानीय स्तरमा सामानको अभावले असार महिनाभित्रै निर्माण गर्न सकिएन,” उनले भने, “अब केही दिनमै निर्माणको काम सकिन्छ।”

    स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतका प्रमुख जगदीश शर्माले पनि पुल नबन्दै अग्रिम भुक्तानी दिएको स्वीकार गरे। तर त्यसो गर्नु बाध्यता रहेको उनको तर्क छ। शर्माका भनाइमा चालु आर्थिक वर्षमा ती तीन वटा पुलहरूको निम्ति बजेट छैन त्यसैले उनले रकमान्तरको प्रक्रिया ढिलो होला भनेर अग्रिम भुक्तानी दिएका हुन्।

    “यो आर्थिक वर्ष ती पुलको निम्ति बजेट छैन। भदौसम्ममा काम सकिन्छ। काम सकिएपछि ठेकेदारलाई भुक्तानी दिन नसकिएला भनेर रकम भुक्तानी दियौँ,” उनले भने, “बजेट सुनिश्चित नहुँदा ठेकेदारले काम नगरे पुल अलपत्र पर्ला र झन् झमेला होला भनेर बैङ्क ग्यारेन्टी लिएर भुक्तानी दिइएको हो।” उनले आशङ्का गरिएजस्तो अग्रिम भुक्तानी दिँदा कुनै किसिमको आर्थिक चलखेल नभएको बताए।

    खाँचो नभएको ठाउँमा पनि पुल ?

    स्थानीय बासिन्दाहरूका अनुसार कुसुम खोला र भल खोलामा पुल आवश्यक छ। तर रुकुम पश्चिमको गोठ खोला र सल्यानको पैयाँ डाँडा जोडने साक्चा खोलामा एक करोड आठ लाख खर्च गरेर बनाउन लागिएको पुलको औचित्यमाथि कतिपयले प्रश्न उठाएका छन्।

    उक्त झोलुङ्गे पुल बनिरहेको ठाउँभन्दा करिब दुई सय मिटर तलतिर एउटा ट्रस ब्रिज (फलामे पुल) छ भने केही मिटर माथि त्यस्तै ट्रस ब्रिज बन्दै छ। कतिपय जनप्रतिनिधि र स्थानीय बासिन्दाहरूका अनुसार करिब तीन किलोमिटर माथि ओखरारुख बजारदेखि सल्यानको पैयाँ डाँडा जोडने भित्याखोलामा पुल आवश्यक थियो।

    त्यहाँ पुल बनाउनु पर्‍यो भन्दा लागत अनुमान परिवर्तन गर्न नमिल्ने जबाफ अधिकारीहरूले दिएको उनीहरूले बताए। “आवश्यक नभएकै ठाउँमा झोलुङ्गे पुल बनाउन थालियो। अढाई सय मिटरको दूरीमा तीन वटा पुल हुने भए,” एक जनप्रतिनिधिले गुनासो गर्दै प्रश्न गरे, “स्थानीय सरकार छँदा छँदै माथिबाट यहाँको आवश्यकता विपरीत कसको बजेट विनियोजन हुन्छ, के यो भ्रष्टाचार होइन?”

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ