• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विचार-ब्लग

    जनताको पिडामा रमाएर सेल्फी लिने कि दुखि हुने माननीय ज्यू ?

    10.5K
    SHARES



    नवीन जैसी । एउटा प्राचिन भनाइ छ ‘पानीको चेत आफ्नो, पराया चेत आगोको’ । अर्थात जब मानिस पानीको विपतमा पर्छ उसले होस कायमै राख्दछ तर जब आगोको विपतमा पर्छ तब होस गुमाउँछ ।

    सिद्धान्ततः बस्ती खरानी बनाउने सानो आगोको झिल्को होस् वा सम्राटको साम्राज्य भत्काउने विद्रोहको झिल्को, त्यसलई कहिल्यै सानो सम्झनु हुन्न र सधैँ सचेत हुनुपर्छ । तर विडम्बना हाम्रै कतिपय असावधानी तथा लापरबाहीका कारणले ठूलो विपतको सामना गर्नुपर्दछ ।

    मैले प्रसँग कहाँ जोड्न खोजेको हो भने यहि पुस ९ गते मध्यराति पलाताको न्यौपाने बस्तीमा यस्तै भयो । क्षणभरमै ८७ घर नष्ट मात्र भएनन् पलाती जनताका सपना नै खरानी बन्यो ।

    सामान्यतया पलाता भन्नेवित्तिकै मेरो मानसपटले असिक्षा, भोक, गरीबी, पछौटेपन र अभावको विकृत आकृतिको चित्राकंन गर्छ । पलाता समाज विकासको हिसाबले असाध्यै पछाडि छ । कोदो, फापर उवा, जौ र खुर्सानीको लागि परिचित खाडागाउँमा जब एकाविहानै आगलागीबाट ८७ घर जलेको खबर सुनियो तब हृदयको धडकनले गति बढायो । पत्याउन सकिएन, केही सञ्चारमाध्यमले फैलाएको अफवाह जस्तो लाग्यो ।

    यो खबर साँचो नहोस् भन्ने चाहन्थे तर त्यसो भएन । म मेरो स्नातकोत्तरको थेसिसको काममा व्यस्त थिएँ । दिमागले काममा दत्तचित्त हुन आदेश दिएपनि हृदयले आदेश पालन गरिरहेको थिएँन ।

    दिउसो ४ बजेतिर सामाजिक सञ्जालमा राष्ट्रिय पत्रिकामा कार्यरत एक जना पत्रकारले माननीय सांसदज्यूहरुले अग्निपीडितको वस्तीमा गलाभरी फूलमाला र अबिरले झकिझकाउ तस्वीरको सेल्फी खिचेको फोटो देखियो, तब मेरो जिउ नैसिरिङ्ग भयो । पुसको जाडोमा मेरो पैतलाबाट तातो महशुस भयो विस्तारै निधार चिट्चिटायो । म उकुस मुकुस भयो कोठाबाट निक्लिन खोज्दै थिए भाई कपिलको फोन आयो ।

    उसले सोध्यो- दाई कता ? मैले घरबाट बाहिर निस्किन लागेको जवाफ दिएँ । कालिकोटको खबर सुन्नु भो ? उसले मलिन स्वरमा भन्यो । अँह थाहा पाएँ । पीडाले फुलेको घोक्रो स्वरमा मैले जवाफ दिएँ ।

    कालिकोटका सबै युवा नेपाल ल क्याम्पसमा जम्मा हुने भन्ने खबर छ राहतको लागि पहल गरौला छिटै आउनु है उसले एकै सासमा भन्यो ।
    ओके ।  म पनि त्यतैतिर हुइकिएँ ।

    म हतार हतार गाडीभित्र पसे काठमाडौँको गाडी बस्नलाई सिट पाउने त कुरै भएन म ठिंग उभिए । बसभित्र सोही घटनाकै बारेमा केहि मान्छे गाइगुइँ गर्दै थिएँ । कोही पत्याउन तयार थिएनन्, कोही भने परिस्थितिलाई आत्मसमर्पण गरिरहेका थिएँ ।

    त्यसमध्येकै एउटाले घटनाको कारण अनुमान लगायो- जंगलको विचमा गाउँ भएको र घरहरु काठको भएकोले होला । विचरा गाउमा युवा मान्छे थिए कि थिएनन्, बुढापाकाले कसरी आगो नियन्त्रण गर्न सक्नु ? नेपालको दुर्गम ग्रामिण जीवनको झल्को दिने भाव उसको अभिव्यक्तिमा प्रष्ट देखिन्थ्यो ।

    अर्कोले सहानुभूति देखाउदै अलि बौद्धिक शैलिमा आफ्नो कुरा थप्यो । सो सेड ! गाउँनै सखाप भएछ ! शायद विजुली सट भएर या ग्यास लिक भएर यस्तो हुनुपर्छ । समयमै दमकल बोलाएको भए क्षति कम गर्न सकिन्थ्यो होला । यति भन्दै भलादमी स्वरमा पुर्णविराम लगायो ।

    विचरा त्यो शहरीयालाई के थाहा ? जहाँ पलातीहरु ग्यास होइन दाउरा र गुँइठाले हातमुख जोड्छन्, टुकी भित्रको तरल मटितेलले अन्धकार चिर्ने गर्छन्, कोदो, जौ, उवा र फापरसँग आत्मियता बाड्छन् । भिरालो सुख्खा र रुखो जमिनसँग आफ्ना पुर्खाहरुको नाता खोज्छन्, आधा पेट, अर्धनग्न शरीरमा प्रकृतिसँग लुकामारी गर्छन्, चन्द्र सुर्यको गतिलाई जीविकोपार्जनमा जोड्छन् । चिराइतो र सतुवाको गन्धसँग राष्ट्रभक्तिको वासना भेट्छन् ।

    बल्ल बल्ल कोटेश्वर पुगियो । ट्राफिक जामले गाडि डेग चलेका थिएनन् । गाडिभित्र सबै कोही चँ-चँ गर्दै थिए त कोही लामो सुस्केरा मार्दै काठमाडौलाई धिकार्दै थिएँ । तर म भने मनमनै त्यो नेताहरुको सेल्फीलाई धिकार्दै थिएँ । जुन सेल्फीले अग्निपीडितलाई राहत दिलाउछ या आहात त्यो उसैले जानुन ।

    म सम्पर्क स्थानमा पुगे तर त्यहाँ कसैलाई देखिनँ । साथीहरु महावौद्धमा राहतसंकलनमा जुटिसकेका रहेछन् । म पनि उतै हुइकिएँ । महावौद्धको व्यस्त शहरमा मैले भेट्न त्यति सजिलो थिएन जति यहाँ सरकार भेट्न सजिलो छ ।

    जब नागरिक विछिप्त हुन्छन् तब सरकार अथवा राज्यको आवश्यकता पर्छ । सायद त्यसैले होला इतिहासमा राज्यको अवधारणाको परिकल्पना गरिएको । तर एक राज्य हुनको लागि नागरिक र भुगोल मात्र भएर पुग्दैन, त्यो भुगोलसँगै नागरिकको भावना गाँसिएको हुनुपर्छ जुन खाडल हालको राज्यसंयन्त्र र राज्यसंचालनको प्रक्रियामा छर्लङ्गै उदांगिएको छ । म साँझपख घर फर्किएँ ।

    भोलिपल्ट विहानै सम्पर्क स्थानमा पुगेँ । त्यहाँपुग्दा ८/१० जना साथीहरु ल क्याम्पसको प्रांगणमा जम्मा भएका थिए । त्यसमा पातलो जिउडाल भएका, लामो दारीपालेका एक जना मित्रले हर्सित मुदामा हात अगाडि बढाएँ । उनी क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य उमाकान्त न्यौपाने उर्फ यूके थिएँ । मैले अभिनन्दन गरेँ । उपस्थित सबै साथीको नाम डायरीमा टिपे र एकीकृत राहत संकलन अभियानको व्यानरपछाडि उभिई फोटो खिचेँ ।

    अनि केहिबेर नेकपाका विद्यार्थी नेता तिलक उपाध्याय, युवा संघकाे केन्द्रीय सदस्य मेघराज शाही, पत्रकार, व्यवसायी, विद्यार्थी लगायतसँगको सामुहिक छलफलपछि हामी सिधै महाबौद्धमा राहत संकलनको लागि लाग्यौ । दिनभर सबै सहयोगी मनहरुलाई आव्हान गर्यौ । कोही बोरा बोक्दै, कोही अनुनय विनय गर्दै साँझ अबेरसम्म ।

    झन्डै २५ बोरा राहत संकलन गरिरहदा हामीलाई भोक, थकाईको कुनै प्रवाह थिएन । न त थियो प्रवाह आफ्नो व्यक्तिगत जीवनचर्याको । निरन्तर लागिरह्यौ ३ दिनसम्म काँचो चाउचाउको भरमा । उज्यालो निभेको बस्तीमा आशाको दियो बाल्ने, काँडा बिझेको मनमा आत्मीयता बाड्ने, जलेको गाउँमा सद्भावको सञ्चार गर्ने र दुखेको घाउमा मलम लगाउने हाम्रो अभियान निरन्तर चलिरह्यो ।

    अब पलातालाई हेर्ने राज्यको दृष्टिकोणको अग्निपरीक्षा हुने समय आएको छ । विभिन्न स्वतस्फूर्त नेपाली सहयोगी मनहरुले पलाताको खण्डहर बस्तीमा एकाकार गर्दै गर्दा सरकार वा राज्यले केवल सद्भाव, सहानुभूति वा केही राहतको मलमपट्टिले मात्र पुग्ला वा पलाताको पुननिर्माणका लागि वैज्ञानिक ढंगले अनुसन्धान गरी व्यवस्थित बसाई गराउन राज्यले यथेष्ट खालको गुरुयोजना बनाउला ?

    पलाता र पलाती जनताको समग्र जीवनरेखा यसैमा निहित छ । जब विछिप्त वस्तीहरु आशाको दीपसँगै सम्हालिएर सुन्दर बन्नेछन् तबमात्र तपाईको सेल्फीले सार्थकता पाउथ्यो कि मान्यवर ?

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया