काठमाडौँ। मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले बिहीबार मधेशका सबै जिल्लामा प्रभाव पर्ने सम्भावित मोन्था आँधीबाट बच्न प्रदेशवासीलाई सचेत रहन अपिल गरेका छन्।
मुख्यमन्त्री सोनलले बुधबार राति प्रदेश सरकारले आँधी प्रभावितहरूको राहत र उद्धारमा सक्रिय भूमिका निर्वाह गर्ने, सबै सुरक्षा निकाय तैनाथ गरिएको र गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव उद्धव प्रसाद रिजाललाई उद्धार तथा राहत कार्यका संयोजक तोकेको जानकारी दिएका छन्।
मोन्था आँधी के हो?
पूर्वानुमानअनुसार, भारतको बंगालको खाडीबाट उत्पन्न मोन्था समुद्री आँधी बिहीबार दिउँसो १२ बजेतिर मधेश प्रदेशका जिल्लामा प्रभाव पार्ने अपेक्षा गरिएको छ। यस आँधीको प्रभाव कात्तिक १५ गतेसम्म रहने सम्भावना छ।
विशेषगरी प्रदेशका रातो, बिगही, लखनदेही, बागमती, कमला तथा सप्तकोशी नदीमा जलस्तर बढ्ने खतरा रहेको मौसमविद्हरूले बताएका छन्। बारा–पर्सा सीमाना हुँदै प्रदेशमा प्रवेश गर्ने यस आँधीको प्रभाव आठै जिल्लामा देखिने अनुमान गरिएको छ।
मौसम विभागका अनुसार, बारा र पर्सा जिल्लामा बिहानैदेखि मौसम बदली भई वर्षा भइरहेको छ र जाडो बढेको छ। मुख्यमन्त्री सोनलले सम्भावित जोखिमबाट जोगिन जनतालाई सतर्कता अपनाउन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेका छन्।
यस्तो छ उनको अपिल :
मधेश प्रदेशका सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
सर्वप्रथम म तपाईंहरू सबैको सुरक्षा र सुस्वास्थ्यको कामना गर्दछु ।जल तथा मौसम विज्ञान विभागले जारी गरेको पछिल्लो चेतावनी र पूर्वानुमान अनुसार, हाम्रो मधेश प्रदेशका अधिकांश जिल्लाहरूमा मिति २०८२ कार्तिक १३ गते बिहीबार दिउँसोदेखि कार्तिक १५ गते शनिबार विहानसम्म प्रदेशको मौसम प्रभावित भई मध्यमदेखि अति भारी वर्षा हुने र त्यसका कारण बाढी तथा डुबानको उच्च जोखिम रहेको जानकारी गराउन चाहन्छु ।
विशेषगरी, सप्तकोशी, बागमती, कमला, रातु, लखनदेहीर लालबकैया लगायतका प्रमुख नदी तथा खोलाहरूको जलस्तर खतराकोतहभन्दा माथि पुग्ने सम्भावना देखिएको छ । तसर्थ, हामी यो सम्भावित प्राकृतिक प्रकोपको गम्भीरतालाई आत्मसात गर्दै सम्पूर्ण प्रदेशवासीलाई उच्च सतर्कता अपनाउन विनम्र अनुरोध गर्दछु ।
सबैभन्दा पहिले नदी किनारका तथा डुबानको जोखिममा रहेका बस्तीहरूका नागरिकलाई नजिकैका उच्च स्थानमा अवस्थित सुरक्षित भवन, धर्मशाला, विद्यालय र सार्वजनिक भवनहरुमा तत्काल सर्नका लागि अपिल गर्दछु ।आफ्नो अमूल्य जीवन र परिवारलाई सुरक्षित राख्नु नै हाम्रो पहिलो प्राथमिकता हो ।
नदी, खोला र नहरहरू नजिक आवत–जावत सकभर कम गरौँ ।पानी जमेको ठाउँमा हिँड्दा वा घर बाहिर निस्किँदा बिजुलीका तार वा पोलहरूबाट टाढा रहौँ ।धान तथा अन्य बाली नकाट्ने, काटेको भए तत्काल भित्र्याऔँ ।जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहले जारी गर्ने सूचनाहरूलाई ध्यान दिएर पालना गरौँ । प्रदेश सरकार यो विपत्तिको सामना गर्न पूर्ण तयारी अवस्थामा छ । हामीले निम्न कदमहरू चालिसकेका छौँ र चौबीसै घण्टा निगरानी गरिरहेका छौँ ।
मधेश प्रदेश प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका विपद् उद्धार टोलीहरूलाई सम्भावित जोखिम क्षेत्रहरूमा तयारी अवस्थामा राखिएको छ । आवश्यक पर्ने डुङ्गा, लाइफ ज्याकेट र अन्य उद्धार सामग्रीहरूको भण्डारण सुनिश्चित गरिएको छ ।
हामीले संघीय सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित स्थानीय तहहरूसँग निरन्तर समन्वय गरिरहेका छौं ।यस सम्भावित प्रकोपकोघडीमा हामी सबै एकताबद्ध भएर काम गर्नुपर्छ । तपाईंहरूको सानो सहयोगले पनि ठूलो जनधनको क्षति टार्न सकिन्छ । सबै युवाहरू, सामाजिक संघसंस्थाका प्रतिनिधिहरूर नागरिक समाजलाई सूचना संप्रेषण गर्न र जोखिम न्यूनिकरणका लागि आवश्यक तयारी अवस्थामा रहन आग्रह गर्दछु ।
अन्त्यमा, म फेरि पनि सबैलाई सजग, सतर्करसुरक्षित रहन आग्रह गर्दछु । प्रदेश सरकार तपाईहरुको साथमा छ । कुनै पनि समस्या परेमा वा सहयोग चाहिएमा तत्काल नजिकको सुरक्षाकर्मी, जिल्ला प्रशासन कार्यालय वा मधेश प्रदेश सरकार गृह, सञ्चार तथा कानून मन्त्रालयमा सम्पर्क गर्नुहोला ।
हामी मिलेर यो सम्भावितप्रकोपलाई पराजित गरौँ । जय मधेश ,जय नेपाल,
मधेश प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालय,
सम्पर्क व्यक्तिः– प्रदेश सचिव श्री उद्धव प्रसाद रिजाल
सम्पर्क नं।:– ९८५४०४४४४५
प्रतिक्रिया