• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    देशवासीका नाममा सम्बोधन गर्दै सुनसरी घटनाबारे प्रधानमन्त्री शाहले के भने ? (पूर्णपाठसहित)

    266
    SHARES



    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिराहा लगायतका स्थानमा भएको घटनालाई लिएर देशवासीको नाममा सम्बोधन गरेका छन्।

    केही दिनअघि भएको दुःखद घटना र त्यसपछि उत्पन्न अशान्त वातावरणप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको उनले बताएका हुन्।

    सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे।

    घाइतेहरूको उपचारमा कुनै कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकेको उनले जानकारी दिए।

    घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको प्रधानमन्त्रीले बताए। उक्त छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने विश्वास उनले दिलाए। स्थितिलाई सामान्य बनाउन र थप अप्रिय घटना हुन नदिन सम्पूर्ण सुरक्षा निकायलाई तत्काल घटनास्थलमा खटाइएको उनको भनाइ छ।

    स्थानीय स्तरमा प्रत्यक्ष अनुगमन गर्न र शान्ति सुरक्षा सुदृढ बनाउन गृहमन्त्री स्वयं घटनास्थल पुगेको उनले जानकारी दिए। यसैगरी, देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर आवश्यक निर्णयहरू गरिएको उनले स्पष्ट पारे। स्थितिलाई सामान्यीकरण गर्न केन्द्रमा सर्वदलीय बैठक आह्वान गरिएको र स्थानीय तहमा पनि निरन्तर संवाद भइरहेको उनले बताए।

    सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य सूचना, अफवाह र घृणा फैलाउने सामग्री प्रचारप्रसार नगर्न उनले सबैमा अपिल गरे। प्रधानमन्त्री शाहले भने, ‘सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गरौं।’ नागरिकको जीउधनको रक्षा गर्नु, सामाजिक सद्‌भाव जोगाउनु र शान्ति कायम राख्नु राज्यको सर्वोच्च दायित्व रहेको उनले स्मरण गराए।

    नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको उल्लेख गर्दै उनले कुनै पनि धर्मले हिंसा र विभाजन नसिकाउने बताए।

    आदरणीय बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरू,

    म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईंहरूसामु उपस्थित भएको छु।

    १) केही दिनअघि सुनसरीको देवानगन्ज, सिरहालगायत स्थानमा भएका दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ। यस दुःखद घटनामा परी निधन हुनुभएका हाम्रा नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, शोकसन्तप्त परिवारजनहरूमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु।

    २) घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ।

    ३) घटना भएलगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति-सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो-कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ।

    ४) अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ। परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ भने स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ।

    ५) स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति-सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं, सुरक्षा निकायका उच्च अधिकारीहरूसहित घटनास्थलतर्फ प्रस्थान गरिसक्नुभएको छ। साथै, देशको समग्र शान्ति-सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरूसमेत गरिसकिएको छ।

    ६) यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्तिको प्रचारप्रसार नगर्न/नगराउन अनुरोध गर्दछु। साथै, सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु।

    ७) प्रत्येक नागरिकको जीउधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो। आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ। प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरू अहोरात्र खटिनेछन्। शान्ति-सुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौँ पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत छ र यस्ता गतिविधिमाथि कडा कदम चालिनेछ।

    ८) नेपालको संविधानले प्रत्येक नागरिकलाई आ-आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको छ। यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ।

    ९) धर्म, समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो। संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन। सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै हो।

    १०) देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिङ्गो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसङ्गत हुन सक्दैन।

    आदरणीय बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरू,

    ११) हाम्रो इतिहास साक्षी छ— कठिनभन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रा सबैभन्दा ठूला शक्ति बनेका छन्।

    १२) हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्नेछ।

    १३) हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार सञ्चारके माध्यम सबके धैर्यता आ संयमता अपना क शान्ति, सद्भाव, भाइचारा आ राष्ट्रिय एकता कायम राख के लेल सरकार के तरफ स हार्दिक अपिल के रहल छी।

    धन्यवाद।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ