काठमाडौं। युवा सहभागितामार्फत वातावरण संरक्षणको चेतना फैलाउने उद्देश्यले मैनादेवी फाउण्डेशनद्वारा आयोजित ‘इन्भाइरोनमेन्ट प्रिमियर लिग (इपीएल) बुटवल–२०२६’ औपचारिक रूपमा सुरु भएको छ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खिलराज पाण्डेयले प्रतियोगिताको उद्घाटन गर्दै वातावरण संरक्षण र प्रभावकारी फोहोर व्यवस्थापनमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताए। उनले यस्ता अभियानले युवाहरूलाई सकारात्मक सामाजिक परिवर्तनका लागि प्रेरित गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको उद्घाटनपछि बुटवलका १५ वटा शैक्षिक संस्थाका विद्यार्थीहरूले उपमहानगरपालिका परिसर तथा आसपासका क्षेत्रमा सचेतनामूलक र्याली र प्रतीकात्मक सरसफाइ अभियान सञ्चालन गरेका थिए। अभियानमा दीप बोर्डिङ, न्यू होराइजन, मणिमुकुन्द, नयाँगाउँ, कालिका, कान्ति, नवीन, स्कलर्स होम, एभरेस्ट कलेज, त्रिभुवन, नहरपुर, अक्सफोर्ड, इडेनलगायतका शैक्षिक संस्थाको सहभागिता रहेको थियो।
कार्यक्रममा फाउण्डेशनका अभियान समन्वयकर्ता सरोज घिमिरेले इपीएललाई सरसफाइ अभियानमा मात्र सीमित नभई युवामा वातावरण संरक्षणप्रतिको जिम्मेवारी, सिर्जनात्मक सोच र नेतृत्व क्षमता विकास गर्ने दीर्घकालीन अभियानका रूपमा अघि बढाइएको बताए।
आयोजकका अनुसार प्रतियोगिता ४६ दिनसम्म सञ्चालन हुनेछ। यस अवधिमा सहभागी १५ कलेजबीच विभिन्न वातावरणमैत्री तथा सामाजिक गतिविधिमा आधारित साप्ताहिक प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको अन्त्यमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई नगद पुरस्कार प्रदान गरिनेछ। पहिलो हुने टोलीले १ लाख रुपैयाँ, दोस्रोले ५० हजार रुपैयाँ र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।



प्रतिक्रिया