काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए।
भ्रमणका क्रममा प्रचण्डले इन्टरनेसनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा आफ्नो धारणा प्रस्तुत गरेका थिए। सम्मेलनमा एसियाली क्षेत्रको राजनीतिक अवस्था, क्षेत्रीय सहकार्य तथा जनआन्दोलनसँग सम्बन्धित विषयमा विभिन्न देशका प्रतिनिधिहरूबीच छलफल भएको जनाइएको छ।
श्रीलंका बसाइका क्रममा उनले त्यहाँका विभिन्न वामपन्थी राजनीतिक दलका शीर्ष नेताहरूसँग शिष्टाचार तथा द्विपक्षीय भेटवार्ता गरेका थिए। सो क्रममा श्रीलंकाको कम्युनिस्ट पार्टीका महासचिव र पोलिटब्युरो सदस्यहरूसँग दुई देशका वामपन्थी शक्तिबीचको सम्बन्ध, अनुभव आदानप्रदान तथा समसामयिक राजनीतिक विषयमा विचार–विमर्श भएको बताइएको छ।
यस्तै, श्रीलंकाको सत्तारुढ जनता विमुक्ति पेरामुना (JVP) का महासचिव तिल्भिन सिल्भा तथा पार्टीका पोलिटब्युरो सदस्यहरूसँग पनि उनले छुट्टै भेटवार्ता गरेका थिए। भेटमा क्षेत्रीय राजनीतिक अवस्था, लोकतान्त्रिक अभ्यास तथा आपसी सहकार्यका सम्भावनाबारे छलफल भएको जनाइएको छ।
भ्रमणका क्रममा प्रचण्डले विभिन्न मुलुकबाट सम्मेलनमा सहभागी भएका राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता, अनुसन्धानकर्ता तथा प्रगतिशील बौद्धिक व्यक्तित्वहरूसँग समेत भेटघाट गरेका थिए। प्रचण्ड गत जुलाई १५ मा श्रीलंका प्रस्थान गरेका थिए भने पाँचदिने भ्रमण सम्पन्न गरी आज काठमाडौं फर्किएका हुन्।



प्रतिक्रिया