काठमाडौं। सूचना प्रविधि क्षेत्रमा आबद्ध व्यवसाय तथा उद्यमलाई वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेडले ‘एमबिएल आइटी कर्जा’ योजना सञ्चालनमा ल्याएको छ।
बैंकका अनुसार नेपालमा तीव्र रूपमा विस्तार भइरहेको सूचना प्रविधि क्षेत्रलाई प्रोत्साहन गर्दै डिजिटल रूपान्तरणलाई गति दिने लक्ष्यसहित यो कर्जा योजना सुरु गरिएको हो। यस योजनामार्फत आईटी क्षेत्रका उद्यमी तथा व्यवसायीलाई व्यवसाय विस्तार, पूर्वाधार विकास तथा सञ्चालनका लागि आवश्यक वित्तीय सहयोग उपलब्ध गराइने बैंकले जनाएको छ।
बैंकका अनुसार उक्त कर्जा विशेषगरी चालु पुँजी व्यवस्थापन, पूर्वाधार निर्माण तथा व्यवसाय विस्तारका लागि उपयोग गर्न सकिनेछ। यसले सूचना प्रविधि क्षेत्रमा भइरहेका नवप्रवर्तनलाई थप प्रोत्साहन गर्नुका साथै नेपालमा विकसित हुँदै गएको आईटी उद्योगलाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास बैंकको छ।
यो योजनाअन्तर्गत सम्बन्धित सरकारी निकायमा विधिवत् दर्ता भएका आईटी तथा सफ्टवेयरसम्बन्धी व्यवसायहरूले मात्र कर्जा सुविधा लिन सक्नेछन्। एकल स्वामित्व, साझेदारी फर्म तथा प्राइभेट लिमिटेड कम्पनीहरू यस योजनाका लागि योग्य हुनेछन्। साथै, सम्बन्धित संस्थाले प्यान, भ्याटलगायतका कर दायित्व नियमित रूपमा पूरा गरेको हुनुपर्नेछ।
बैंकका अनुसार सफ्टवेयर विकास, आईटी आउटसोर्सिङ, आईटी सेवा, साइबर सुरक्षा, फिनटेक, कृत्रिम बुद्धिमत्ता (एआई) तथा मेशिन लर्निङलगायतका क्षेत्रमा कार्यरत र कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेका कम्पनीहरूले यस कर्जा योजनाबाट लाभ लिन सक्नेछन्।
माछापुच्छ्रे बैंकले आगामी दिनमा पनि प्रविधिमैत्री तथा ग्राहक–केन्द्रित वित्तीय सेवाहरू विस्तार गर्दै डिजिटल अर्थतन्त्रको विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।



प्रतिक्रिया