काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनमै अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन्।
शनिबार बुटवलमा आयोजित नेकपाको लुम्बिनी प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले जनतालाई दिएका आश्वासन पूरा गर्न नसकेको दाबी गरे।
उनले भने, ‘जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यस आधारमा यो १०० दिन पूर्णत: असफल भएको देख्छु म।’
प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिमा केवल वामपन्थी शक्तिहरूबीचको एकता मात्र पर्याप्त नहुने उल्लेख गर्दै नेपाली कांग्रेससहित सबै प्रमुख राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको धारणा राखे।
उनले भने, ‘वाम एकता भन्दा पनि कांग्रेस, एमाले सबैसँग सहकार्यको कुरा हो। आज देशको आवश्यकता त्यही हो। हामीले त्यसका लागि प्रयास गरिरहेका छौं।’
प्रचण्डको भनाइले वर्तमान सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्नुका साथै देशको राजनीतिक स्थायित्व र साझा सहकार्यको आवश्यकतामा जोड दिएको छ।
प्रतिक्रिया