• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    अभिमुखीकरणमा सांसदहरू नआएपछि सभामुख असन्तुष्ट

    75
    SHARES



    काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले अभिमुखीकरण कार्यक्रममा सांसदहरूको अनुपस्थितिमा असन्तुष्टि व्यक्त गरेका छन्।

    संघीय संसद सचिवालयले आफ्ना महाशाखाहरूको काम र कानुन निर्माणको विषयमा सांसदहरूका लागि आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा धेरै सांसद अनुपस्थित भएपछि सभामुख अर्यालले असन्तुष्टि जनाएका हुन्।

    ‘मैले स्पष्ट रूपमा भन्नुपर्दा, आजको(असार १५) उपस्थिति मलाई पूर्ण रूपमा चित्तबुझ्दो लागेको छैन,’ अर्यालले सिंहदरबारमा सांसदहरूकै अगाडि भने, ‘त्यसैले आज हामीले अझ बढी उपस्थिति र समयमै, अर्थात् बिहान १० बजे नै उपस्थितिको अपेक्षा गरेका थियौं। हामी संघीय संसद्का सदस्य हौं। लाखौं जनताको मतबाट निर्वाचित जिम्मेवार प्रतिनिधि हौं। त्यसकारण हाम्रो व्यवहार, समयपालन र अनुशासनदेखि लिएर हरेक गतिविधिलाई जनताले निरन्तर मूल्यांकन गरिरहेका हुन्छन्।’

    सभामुख अर्यालले सांसदहरूले सत्य कुरा नबोलदा समाज गलत दिशातर्फ जान सक्ने चिन्ता समेत व्यक्त गरे।

    ‘हामी प्रायः टिप्पणी गर्न डराउँछौं। सबैलाई मीठो मात्रै बोल्न खोज्छौं। मीठो बोल्ने व्यक्ति सबैको प्रिय हुन सक्छ, तर आवश्यक बेला सत्य कुरा नबोल्दा समाज गलत दिशातर्फ पनि जान सक्छ,’ सभामुख अर्यालले भने, ‘त्यसैले यहाँहरूलाई लागेको कुरा स्पष्ट रूपमा राख्नुस्, प्रश्न गर्नुस्, कहाँ त्रुटी छ भनेर खुला रूपमा छलफल गरौं।’

    सभामुख अर्यालले सांसदहरूको मुल्यांकन संसद सचिवालय, प्रधानमन्त्री वा राजनीतिक दलको नेतृत्वले मात्र नभएर जनताले गर्ने बताए।

    ‘कार्यक्रमको सूचना धेरैअघि नै जारी गरिसकिएको थियो। त्यसैले अब हामी यहाँ आइसकेपछि हतार नगरी, अनावश्यक साइड–टक नगरी, मोबाइलमा धेरै समय नबिताई पूर्ण ध्यानका साथ सहभागी बनौं,’ सभामुख अर्यालले भने, ‘करिब ४५–४५ मिनेटमा विश्राम हुने नै छ। त्यसैले समय र स्रोत खर्च गरेर यहाँ आइसकेपछि केही नयाँ कुरा सिकेर जाने प्रयास गरौं।’

    सिंहदरबार स्थित संघीय संसदको निर्माणाधीन भवनमा संसद सचिवालयले सांसदहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम भोली पनि चल्नेछ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ