काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा विविधतायुक्त सामाजिक संरचनालाई दृष्टिगत गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली मुलुकका लागि उपयुक्त नहुने बताएकी छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले संविधान संशोधनका सन्दर्भमा बेलाबेलामा उठ्ने प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणालीको प्रस्तावप्रति आफ्नो असहमति व्यक्त गरिन्।
उनले नेपालको सामाजिक तथा सांस्कृतिक विविधतालाई ध्यानमा राख्दै यस्तो शासन प्रणालीले अपेक्षित परिणाम दिन नसक्ने धारणा राखिन्। ‘संविधान संशोधनको सन्दर्भमा बेलाबेलामा उठ्ने प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन भन्ने मेरो विचार छ,’ भण्डारीले भनिन्।
पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्र केवल आवधिक निर्वाचनमार्फत जनमत प्राप्त गर्ने प्रणालीमा मात्र सीमित नरहेको उल्लेख गर्दै निर्वाचनपछि पनि संवैधानिक मूल्य–मान्यता, विधिको शासन र जनउत्तरदायित्वलाई निरन्तर पालना गर्नुपर्नेमा जोड दिइन्।
उनले ‘हामी आवधिक निर्वाचनमार्फत जनमत प्राप्त गर्ने लोकतान्त्रिक प्रणालीमा विश्वास गर्छौं। तर जनादेश प्राप्त गरिसकेपछि पनि लोकतान्त्रिक मूल्य, संवैधानिक मर्यादा, विधिको शासन र जनउत्तरदायित्वलाई निरन्तर पालना गर्नु नै सच्चा लोकतान्त्रिक आचरण हो,’ भन्दै लोकतन्त्रको सफल कार्यान्वयनका लागि जिम्मेवार राजनीतिक व्यवहार आवश्यक रहेको बताइन्।
भण्डारीले लोकतन्त्रको सुदृढीकरणका लागि संविधानको मर्म, कानुनी शासन र जनताप्रतिको उत्तरदायित्वलाई सबै राजनीतिक शक्तिले समान रूपमा आत्मसात् गर्नुपर्ने धारणा पनि व्यक्त गरिन्।
प्रतिक्रिया