• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कभर स्टोरी विजनेश

    सुदूरपश्चिमको पर्यटनमा नयाँ फड्को, जालपादेवी केबलकार निर्माण अन्तिम चरणमा

    2.2K
    SHARES



    कैलाली . नेपालको सबैभन्दा लामो कर्णाली नदी कैलालीको चिसापानी पुग्दा प्राकृतिक सौन्दर्यको अनुपम दृश्य प्रस्तुत गर्छ। नदीमाथि बनेको एकखम्बे चिसापानी पुल, वरिपरिका हरिया डाँडा र शान्त वातावरणले यहाँ आउने जो–कोहीलाई सहजै आकर्षित गर्छ। तर प्रकृतिले प्रशस्त सम्भावना दिएको यो क्षेत्र लामो समयसम्म पूर्वाधार अभावका कारण विकासको मूलधारबाट टाढै रह्यो।

    यही सम्भावनालाई आर्थिक समृद्धिसँग जोड्ने उद्देश्यसहित अहिले चिसापानीदेखि मोहन्याल गाउँपालिका–७ राजकाँडासम्म जालपादेवी केबलकार परियोजना निर्माण भइरहेको छ। आइएमई समूहको मुख्य लगानीमा करिब ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनालाई सुदूरपश्चिमकै सबैभन्दा ठूलो पर्यटन पूर्वाधारमध्ये एक मानिएको छ।

    परियोजनाअन्तर्गत ३.१ किलोमिटर लामो केबलकार, पाँचतारे होटल, रेष्टुरेन्ट, स्काइ वाक, पार्क, पदमार्ग, जालपादेवी मन्दिर तथा अन्य पर्यटकीय संरचना निर्माण भइरहेका छन्। निर्माण सम्पन्न भएपछि चिसापानीलाई नेपालकै प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

    निर्माण तीव्र गतिमा

    परियोजनाका इन्जिनियर विजय पौडेलका अनुसार अहिले पोल जडान, बटम र टप स्टेशन निर्माण अन्तिम चरणमा पुगेको छ। त्यसपछि तार तान्ने र गोन्डोला जडानको काम सुरु हुनेछ। आगामी असोजभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखेर काम भइरहेको उनले बताए।

    टप स्टेशनमा होटल, रेष्टुरेन्ट, पार्क, स्काइ वाक, वाकिङ ट्रेल तथा धार्मिक संरचना निर्माण भइरहेका छन् भने बटम स्टेशनमा पाँचतारे होटल, ब्यान्क्वेट हलसहित आधुनिक सुविधा विकास गरिँदैछ।

    दशकौं पुरानो सपना साकार हुँदै

    करिब एक दशकअघि स्थानीय व्यवसायीहरूले चिसापानीलाई पर्यटन केन्द्र बनाउने सपना देखेका थिए। ९९ जना स्थानीय व्यवसायीको पहलमा सुरु भएको अवधारणा विभिन्न कारणले अघि बढ्न सकेन। पछि आइएमई समूह जोडिएसँगै परियोजनाले गति लियो। विसं २०८१ पुस १३ गते शिलान्यास भएको आयोजना गत वर्षदेखि निर्माण चरणमा प्रवेश गरेको हो।

    हाल चिसापानीमा दैनिक पाँचदेखि सात सय आन्तरिक पर्यटक पुग्ने गरे पनि उनीहरू केही घण्टामै फर्किन्छन्। केबलकार सञ्चालनमा आएपछि पर्यटकको बसाइँ लम्बिने र होटल, यातायात, कृषि, व्यापार तथा सेवा क्षेत्रमा प्रत्यक्ष आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।

    नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष पुष्पराज कुँवरका अनुसार यति ठूलो निजी लगानीको पर्यटन आयोजना प्रदेशकै ऐतिहासिक उपलब्धि हो। यसले पर्यटन मात्र होइन, कृषि, व्यापार, सेवा र रोजगारीमा समेत व्यापक प्रभाव पार्ने उनको विश्वास छ।

    रोजगारी र स्थानीय उत्पादनको बजार

    परियोजना सञ्चालनसँगै होटल, रिसोर्ट, रेष्टुरेन्ट, यातायात तथा मनोरञ्जन क्षेत्रमा हजारौं प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। स्थानीय कृषिउपज, हस्तकला, थारु संस्कृतिमा आधारित होमस्टे तथा साना उद्यमले पनि नयाँ बजार पाउने विश्वास स्थानीय व्यवसायीहरूको छ।

    बसेरा थारु होमस्टेका अध्यक्ष किशोर थारु स्थानीय संस्कृति, परम्परा र उत्पादनलाई पर्यटनसँग जोड्न सके यस क्षेत्रको आर्थिक स्वरूप नै परिवर्तन हुने बताउँछन्।

    भारतीय पर्यटकलाई पनि आकर्षण

    भारतसँगको खुला सीमा, सहज सडक सञ्जाल र उत्तराखण्ड तथा उत्तरप्रदेशजस्ता ठूलो जनसंख्या भएका राज्यसँगको निकटताले यस परियोजनालाई अन्तरदेशीय पर्यटनको केन्द्र बन्ने सम्भावना बढाएको छ।

    कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा र बाँकेको रुपैडिहा नाकाबाट सहज पहुँच भएकाले भारतीय पर्यटकलाई पनि आकर्षित गर्न सकिने देखिन्छ। गर्मी मौसममा शीतल वातावरण, कर्णाली नदीको मनोरम दृश्य, धार्मिक पर्यटन र साहसिक गतिविधिले राजकाँडालाई विशेष गन्तव्य बनाउन सक्ने पर्यटन व्यवसायीहरूको विश्वास छ।

    समृद्धितर्फको दीर्घकालीन यात्रा

    आइएमई समूह तथा जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार यो परियोजना केवल केबलकार निर्माणमा सीमित छैन। यसले सुदूरपश्चिमको आर्थिक रूपान्तरण, पर्यटन विस्तार र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ।

    उनका अनुसार कम्पनीको दीर्घकालीन योजना सातै प्रदेशमा यस्तै पर्यटन पूर्वाधार विस्तार गर्ने रहेको छ।

    वर्षौंदेखि सम्भावनाका रूपमा मात्रै चर्चा हुँदै आएको कर्णाली किनारको प्राकृतिक सम्पदालाई अब जालपादेवी केबलकारले आर्थिक अवसरमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ। चिसापानी पुल, कर्णाली नदी र राजकाँडाको प्राकृतिक सौन्दर्यलाई एउटै पर्यटन परिपथमा जोड्ने यो परियोजना सुदूरपश्चिमको पर्यटन र समृद्धिको नयाँ अध्याय बन्ने विश्वास स्थानीयवासी, व्यवसायी र लगानीकर्ताहरूको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ