काठमाडौँ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार तेस्रो खेलमा पराजय भोगेको छ। सोमबार डार्बिनमा भएको खेलमा नेपाललाई मेलवर्न स्टार्स एकेडेमीले ३१ रनले पराजित गरेको हो।
यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकर्स र दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग पराजय भोगेको थियो। सोमबार मेलवर्नले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा १४४ रन जोड्यो।
नेपालका ओपनर कुशल भुर्तेल १३ बलमा ४ चौकाको मद्दतमा २५ रन जोडेर आउट भए। चौथो ओभरको दोस्रो बलमा भुर्तेल आउट भएपछि अन्तिम बलमा भीम सार्की १ रनमा डग वानेरको एलबिडब्लूको धरापमा परे।
त्यसपछि कप्तान रोहितकुमार पौडेल र आसिफ शेख मिलेर नेपालको इनिङ उकासे। दुईबीच तेस्रो विकेटका लागि ८७ रनको साझेदारी भयो।रोहितले ३१ बलमा ३३ रन बनाए भने आसिफले १७ ओभरमा रनआउटको सिकार हुनुअघि ४९ बलमा ३ चौका र १ छक्काको मद्दतमा ५३ रन बनाउन सफल भए।
त्यसपछि दीपेन्द्रसिंह ऐरी १ रनमा बोल्ड भएका थिए। कुशल मल्ल १९औं ओभरमा ११ रनमा आउट भए। अन्तिम बलमा आउट भएका गुल्सन झाले २ रन र आरिफ शेख ८ बलमा नटआउट भए।
बलिङमा मेलवर्नका वारेन र अस्टिनले २-२ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलवर्नले ७ विकेटको क्षतिमा १७५ रन जोड्यो। उसका लागि थोमस रोजर्सले ६५ रन र ब्लेक म्याकडोनाल्डले ७४ रन बनाए।
बलिङमा नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए। उनले ४ ओभरमा २६ रन दिए। सोमपाल कामी र साहब आमलले १- १ विकेट लिए।सिरिजमा अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बंगलादेशको ए टोलीसँग सहभागी छन्।
अब नेपालले बुधबार मेलवर्न रेनेगेड्स एकेडमी र शुक्रबार पाकिस्तान शाहिन्सासँग खेल्नेछ। यही वर्षको अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि नेपाल अस्ट्रेलियामा छ।
यो सिरिजपछि नेपालले एक साता अस्ट्रेलियामा थप अभ्यास गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। नेपालले क्रिकेट एसिटीसँग २६ अगस्टमा दुई वटा र साउथ अस्ट्रेलियासँग २८ अगस्टमा दुई वटा गरी कुल चार वटा टी-२० खेल खेल्नेछ।
यस्तै ३० अगस्टमा साउथ अस्ट्रेलियासँग नै एकदिवसीय खेल खेल्नेछ। नेपालले अस्ट्रेलियामा सिरिज खेलेपछि सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्दैछ। एसिया एन्ड इस्ट एसिया प्यासेफिक छनोटमा नेपालसहित नौ टोलीले भाग लिँदैछन्। शीर्ष तीन टोली अर्को वर्ष भारतमा हुने विश्वकपमा पुग्नेछन्।
नेपाली टोलीः रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरि (उप-कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण के सी, रिजन ढकाल, लोकेस बम, साहब आलम
प्रतिक्रिया