काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा भएको आगजनी र पत्रकारको मृत्युसम्बन्धी घटनामा संलग्नको अभियोजन प्रक्रिया अघि बढ्ने भएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सो घटनामा संलग्नको अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको छ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार बुधबार साँझसम्म प्रतिवेदन बुझाउने तयारी अन्तिम चरणमा पुगेको छ।
प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ८ जनाविरुद्ध ‘कर्तव्य ज्यान’ मुद्दा दायर गर्नुपर्ने राय दिएको छ। उनीहरूलाई ज्यान मार्ने उद्योग, संगठित अपराध, आपराधिक उपद्रव र राज्यविरुद्धको कसुर अन्तर्गत समेत अभियोजनको सिफारिस गरिएको छ।
प्रदर्शनका क्रममा सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थामा भएको आगजनीले भवन पूर्णरूपमा नष्ट भएको थियो। सो आगलागीमा परी पत्रकार सुरेश रजकको ज्यान गएको थियो। सहकारीको अध्यक्ष प्रेम बहादुर श्रेष्ठ रहेका छन्।
प्रहरी अनुसन्धान अनुसार, आगजनीमा संलग्न ठहरिएका व्यक्ति मध्ये २२ वर्षीय सरोज गौतम (रामेछाप, सुनापति गाउँपालिका) र २० वर्षीय गोकर्ण शाही उर्फ अनुप विक्रम ठकुरी (अछाम, पञ्चदेवल नगरपालिका–५) को नाम पनि प्रतिवादीको रूपमा उल्लेख गरिएको छ।
हालसम्म सो घटनासँग सम्बन्धित रूपमा राज्यविरुद्धको कसुरमा २६ जना र आपराधिक उपद्रवमा २७ जना हिरासतमा राखिएका छन्। अन्य केही अभियुक्तहरूलाई अनुसन्धानपछि हाजिर जमानीमा रिहा गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया