नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन्।
सर्वोच्च अदालतमा आयोजित समारोहमा बुधबार बिहान प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतबाट शपथ लिएपछि गभर्नर पौडेल राष्ट्र बैंकको कार्यालय बालुवाटार पुगेर पदभार ग्रहण गरेका हुन्। त्यहाँ उनलाई स्वागत गर्नका लागि बैंकका कर्मचारीहरू लामबद्ध बसेका थिए।
अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिले विश्वनाथ पौडेलसहित तीन जनाको नाम सिफारिस गरेकोमा मंगलबार साँझको मन्त्रिपरिषद बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको थियो।
पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा पाँच सय र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा उनले हस्ताक्षर गरे । पदभार ग्रहणपछि उनले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताए ।
‘मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जानेछौं’ गभर्नर पौडेलले भने ।
प्रतिक्रिया