• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    भन्सार एजेन्ट परीक्षा अब प्रत्येक दुई वर्षमा, पुरानालाई एकपटक मौका

    1.1K
    SHARES



    काठमाडौँ । प्रतिनिधि सभाको अर्थ समितिले भन्सार एजेन्टको परीक्षा प्रत्येक दुई वर्षमा सञ्चालन गर्ने निर्णय गरेको छ। ‘भन्सार विधेयक–२०८०’ अन्तर्गत २२५ पुराना भन्सार एजेन्टलाई एकपटक अवसर दिने प्रावधानसहित विधेयकको दफा पारित गरिएको हो।

    २०७८ सालमा लोकसेवा आयोगले लिएको परीक्षाबाट ६६० जना नयाँ भन्सार एजेन्ट थपिएका थिए। तर, त्यसबेला परीक्षा फेल भएका वा छुटेकाहरूले नयाँ विधेयक निर्माणको क्रममा सांसदहरूलाई निरन्तर दबाब दिएका थिए। उनीहरूले भारतीय एजेन्टहरूले नेपाली भन्सार एजेन्टलाई काम गर्न नदिएको गुनासो राख्दै आएका थिए।

    समितिमा छलफलका क्रममा नेकपा एमालेका सांसद अमरबहादुर रायमाझीले अनुभवी भन्सार एजेन्ट आवश्यक रहेको उल्लेख गरे। उनले अन्य देशहरूमा कम्तीमा तीन वर्ष अनुभव भएकाले मात्र एजेन्ट बन्न पाउने व्यवस्था रहेको उल्लेख गर्दै नेपालमा पनि लाइसेन्स वितरणलाई व्यवस्थित गर्नुपर्ने धारणा राखे। त्यस्तै, माओवादी केन्द्रका सांसद गङ्गा कार्कीले पनि पुराना एजेन्टलाई एकपटक अवसर दिनुपर्ने पक्षमा आफू रहेको बताए।

    नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री डा. प्रकाश शरण महतले भन्सार एजेन्ट प्रणालीलाई व्यवस्थित बनाउन परीक्षा अनिवार्य गर्नुपर्ने बताए। उनले विगतमा भन्सार एजेन्टहरूलाई स्वार्थ समूहका रूपमा प्रयोग गरिएको आरोप लगाउँदै नयाँलाई पनि अवसर दिनुपर्ने उल्लेख गरे।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले भन्सार एजेन्ट प्रणालीलाई समयसापेक्ष बनाउनुपर्ने बताए। उनले आयात–निर्यातको प्रकृति परिवर्तन भएकाले हरेक दुई वर्षमा परीक्षा प्रणाली लागू गर्नुपर्ने प्रस्ताव राखे।

    भन्सार विभागका महानिर्देशक महेश भट्टराईले पनि हरेक दुई वर्षमा परीक्षा लिन सकिने बताए। उनका अनुसार विगतमा भन्सार एजेन्टको संख्या न्यून भएका कारण कार्यालयले प्रतिनिधि राख्ने व्यवस्था गरेको थियो। तर, नयाँ एजेन्टहरू भर्ना भएपछि उक्त व्यवस्था हटाइएको थियो।

    विधेयकअनुसार भन्सार एजेन्ट बन्न चाहने व्यक्तिले स्नातक उत्तीर्ण गरेको हुनु पर्नेछ। साथै, कुनै फौजदारी अभियोगमा अदालतबाट दोषी नठहरिएको तथा अन्य कानुनी मापदण्ड पूरा गरेको प्रमाणित हुनुपर्नेछ।

    अर्थ समितिका सभापति सन्तोष चालिसेले विधेयक समितिबाट पारित भइसकेको जानकारी दिए। विधेयक अन्तर्गत भन्सार एजेन्ट प्रणालीलाई व्यवस्थित बनाउन आवश्यक सबै प्रावधान समेटिएको उनको भनाइ छ। समितिले सोमबार विधेयकका बाँकी दफाहरू पारित गर्ने तयारी गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ