काठमाडौँ । नेपाली मुलका विजय पौडेल क्यानडामा सांसद पदका लागि मनोनयनमा परेका छन् । पौडेल क्यानडाको कन्जरभेटिभ पार्टीबाट हम्बर रिभर–ब्ल्याक क्रीक क्षेत्रमा संघीय सांसद पदका लागि आधिकारिक रूपमा मनोनीत भएका हुन् ।
उनी मनोनीत भएसँगै क्यानडामा रहेका नेपाली समुदायका बिचमा उनको पक्षमा माहौल बनाउन सुरु भएको छ । क्यानडामै रहेर पत्रकारितामा समेत आबद्ध गोकर्ण लामिछानेले यो क्षण विजय पौडेलको लागि मात्र नभई सम्पूर्ण समुदायका लागि महत्त्वपूर्ण भएको बताए ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् – ‘यो क्षण विजय पौडेलको लागि मात्र नभई हाम्रो सम्पूर्ण समुदायका लागि महत्त्वपूर्ण छ। उनको नेतृत्व, प्रतिबद्धता र दृष्टिकोणले हाम्रो सामूहिक हितको प्रतिनिधित्व गर्न सक्षम बनाउनेछ’, उनले भने, ‘अब हामी सबै मिलेर यो अवसरलाई स्वर्णिम उपलब्धिमा परिणत गर्ने बेला आएको छ।’
पौडेलको जित सुनिश्चित गर्नका लागि नेपाली समुदायसहित सबैको साथ, सहयोग र समर्थन आवश्यक रहेका उनले बताए । पौडेल एक नेपाली–क्यानाडियन उद्यमी र सामुदायिक अगुवा हुन्। नेपालको बर्दियामा जन्मिएका उनले त्रिभुवन विश्वविद्यालयबाट सूचना व्यवस्थापनमा स्नातक गरेका थिए ।
त्यसपछि २०१० मा क्यानडा पुगेपछि उनले विभिन्न रोजगारीमा संघर्ष गर्दै स्थानीय राजनीतिमा आफूलाई डोहोर्याएका हुन् । उनी फेडरेशन अफ क्यानडा नेपाल चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष समेत हुन्।
क्यानडामा उम्मेदवार चयन हुनका लागि सम्बन्धित पार्टीभित्र आन्तरिक भोट हुने गर्छ । सबै प्रक्रिया पूरा भएपछि उनलाई कन्जरभेटिभ पार्टीले उम्मेदवारको रुपमा शुक्रबार अनुमोदन गरेको हो । यससँगै अब उनले चुनावी क्याम्पेन सुरु गर्नेछन् । क्यानडामा आगामी अक्टोबरमा चुनाव गर्ने तयारी छ ।
प्रतिक्रिया