काठमाडौँ । विपक्षी चार दलीय समाजवादी मोर्चाले तीन विषयमा राजावादीबाट खतरा रहेकाले सडक सङ्घर्ष गर्नुपर्ने निष्कर्ष निकालेको छ । आइतबार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले परिस्थिति गम्भीर रहेकाले सङ्घर्षमा जानुपर्ने निष्कर्ष निकालेको हो ।
मोर्चाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले नेपाली जनताले फालिसकेको प्रतिगामी शक्तिले फेरि टाउको उठाउने कोसिस गरेकाले चैत १५ गते वृहत् विरोधसभा राखिएको बताए ।
‘हामीले पछिल्लो राजनीति र सडकमा प्रतिगामी शक्ति सलबलाएको विषयमा गम्भीर समीक्षा गर्यौँ । विषय धेरै गम्भीर छ । देशको राजनीतिक अवस्था एकपछि अर्को जटिल बन्दै गएको छ । न्याँकेर फालेका प्रतिगामी शक्ति टाउको उठाउन खोजेका छन् । सामन्तवादीको अवशेष बाहिर फेरि देखिन थालेका छन्’, बैठकपछि विश्वकर्माले भने ।
उनले थपे- ‘राजावादी प्रतिगामी शक्तिको सक्रियता जनसंघर्षबाट प्राप्त गरेको गणतन्त्र, राष्ट्रियता र समाजवादको खिलापमा छ । यी तीनवटा विषयलाई समाप्त पार्न देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरू षड्यन्त्रमुलक ढङ्गले लागेको बैठकले निष्कर्ष निकालेको छ । प्रतिगामी शक्तिविरुद्ध सशक्त प्रतिरोध गर्नका लागि वृहत् विरोध सभा गर्ने निर्णय गरेको हो ।’
प्रतिक्रिया