सप्तरी । सप्तरीमा मदिरा नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजगड गाउँपालिका वडा नम्बर–२ निवासी ३५ वर्षीय लालु यादव रहेको मधेस प्रदेश प्रहरीले जनाएको छ ।
मदिरा भण्डार गरिएको ठाउँमा गएराति सर्च अप्रेसन चलाउँदा मदिरा तस्करसँग भएको झडपमा प्रहरीले चलाएको गोलीबाट यादवको मृत्यु भएको मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले बताए ।
उनका अनुसार सीमा नजिकबाट भारी मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचना आएको थियो, सोही सूचना बमोजिम सर्च अप्रेसन चलाउँदा तस्कर र प्रहरीबिच झडप भएको हो ।
तस्करहरुले प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा प्रहार गर्न थालेपछि आत्म रक्षाको लागि प्रहरीले ७ राउन्ड गोली चलाएको चतुर्वेदी बताउँछन् । जस क्रममा यादवको तिघ्रामा गोली लागि घाइते भएका थिए।
‘३/४ राउन्ड हवाइ फायर गर्दा पनि उनीहरू त्यहाँबाट भागेनन्। उल्टै प्रहरीमाथि आक्रमण गर्न थाले। त्यसपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको थियो,’ उनले भने।
अस्पतालमा उपचारको लागि लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उक्त ठाउँबाट प्रहरीले ८० कार्टुन विभिन्न ब्रान्डको रक्सी बरामद गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया