धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लोकतान्त्रिक व्यवस्थामा राजनीतिमा आउने भए स्वागत गर्न तयार रहेको बताएका छन्। तर अराजनीतिक गतिविधि भने स्वागत गर्न नसकिने उनले बताए ।
उनले भने, “यदि तपाईं राजनीतिमा आउन चाहनुहुन्छ भने, हामी तपाईंलाई स्वागत गर्न तयार छौं। तर, अराजनीतिक गतिविधिमा स्वागत गर्न सक्दैनौं।”
आइतबार सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै ओलीले पूर्वराजाले गरेको भाषण सुनेर आफू छक्क परेको बताए । साथै प्रधानमन्त्री ओलीले ‘आफूूलाई साथ देऊ भनेर के भन्न खोजेको’ भन्दै प्रश्न समेत गरेका छन् ।
‘अहिले संविधान नमान्ने, लोकतन्त्र नमान्ने, कानुन नमान्ने, प्रणाली नमान्ने, अनौठो प्रवृत्ति देखा पर्न थालेको छ । ६ फागुनको साँझ पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो,’ ओलीले भने, ‘संविधानको पनि कुरा गर्नु हुन्न, कानुनको कुरा गर्नु हुन्न, लोकतन्त्र, प्रणालीको कुरा गर्नु हुन्न, प्रक्रियाको कुरा गर्नु हुन्न मलाई साथ दिनुहोस् म आउँछु देश बचाउँछु । देश के भएको छ ?’
पूर्वराजा शाहका अस्थिर र अराजनीतिक गतिविधिहरूले देशलाई संकटमा पुर्याइरहेको ओलीले बताए । ‘उहाँले देशलाई लोकतान्त्रिक र कानुनी बाटोमा लैजानु पर्थ्यो, न कि चुनावमा भोट माग्दै देशको भविष्यमा हानिकारक प्रभाव पार्नु पर्थ्यो।’ उनले भने ।
प्रधानमन्त्री ओलीले सरकारको उद्देश्य देशको विकास र समृद्धि पुर्याउनु रहेको र सबैलाई सजग रहन आग्रह गरे। ‘संविधान जनताको संघर्ष र बलिदानबाट आएको हो, यसको रक्षा गर्नु सबैको कर्तव्य हो। ‘ ओलीले भने।
प्रधानमन्त्री ओलीले सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहमा पनि भाग लिएका थिए र धनगढीमा सहकारी विकास मन्त्रालयको सभा हलको उद्घाटन गरेपछि काठमाडौं फर्किएका छन्।
प्रतिक्रिया