काठमाडौं । १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जागरूक युवा अभियान नेपालको आयोजनामा ‘नेपाली टोपी : हाम्रो पहिचान’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।
नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० सालदेखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिने गरेको छ ।
बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको सङ्ख्या बढ्न थालेको छ ।
नेपाली युवाले बिर्सँदै गएको राष्ट्रिय पोशाकको पुनर्जागरण हुन थालेको छ । औपचारिक रूपमा राष्ट्रिय पोशाक हटाइएपछि युवाहरू जागरूक भएर यो अभियान सुरु गरेका हुन् ।
यस अवसरमा आज पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत सहभागी हुने जनाइएको छ ।
प्रतिक्रिया