• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कभर स्टोरी राजनीति

    अखिल क्रान्तिकारीमा नेतृत्वको रोचक भिडन्त

    185
    SHARES



    काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्र्थी संगठन अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद कायम हुने भएपछि अध्यक्षमा दाबी गरिरहेका डेढ दर्जन उम्मेदवार बाहिरिएका छन् । यससँगै संगठनमा उपमहासचिवभन्दा माथिल्लो तहमा रहेका कोही पनि उम्मेदवार बन्न नपाउने भएका छन् । अखिल क्रान्तिकारीमा अब उपमहासचिव तह र त्यसभन्दा तल्लो वरीयतामा रहेका विद्यार्र्थी नेताहरू अध्यक्ष तथा अन्य पदाधिकारीमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् ।
    यसअघि ३२ वर्षे उमेर हद लाग्ने कि नलाग्ने भन्ने विषयमा मतदान हुँदा उमेर हद लागु गर्नुपर्ने पक्षमा ९०० र उमेर हद लागू नगरी खुला प्रतिस्पर्धा गर्नुपर्ने पक्षमा ८७९ मत परेको थियो । पुस १३ गते शनिबार भएको निर्वाचनको आइतबार राति अबेर मात्रै मतपरिणाम सार्वजनिक गरिएको थियो ।

    अखिल क्रान्तिकारीको नयाँ कार्यसमिति चुन्दा उमेर हद लाग्ने कि नलाग्ने भन्ने विषयमा विवाद थियो । विवादका कारण गत असोज १० गतेदेखि काठमाडौंको कीर्तिपुरमा आयोजित २३औँ राष्ट्रिय सम्मेलन नेतृत्व चयन नगरी स्थगित भएको थियो । विवादको छिनोफानो गर्न अखिल क्रान्तिकारीले लोकतान्त्रिक प्रक्रिया अपनाएको थियो ।

    अब ३२ वर्षसम्मकाले मात्र प्रतिस्पर्धा गर्न पाउने गरी अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरु चुनिनेछ । नयाँ कार्यसमिति चयनका लागि आगामी माघ ५ गते मनोनयन दर्ता र माघ १२ गते निर्वाचन कार्यक्रम हुने प्रमुख निर्वाचन अधिकृत मुक्ति नारायण प्रधानले जानकारी दिएका छन् ।

    अब अखिल क्रान्तिकारीमा उमेर हद केन्द्रीय कमिटिमात्र नभइ सबै तहका कमिटीमा लागू हुनेछ । संगठनका फ्रयाक्सन इन्चार्ज हिमाल शर्माले केन्द्रदेखि प्रदेश र जिल्ला तहका कमिटीसम्म पनि अब ३२ वर्षे उमेर हद लागू हुने जानकारी दिए । साथै उनले इकाइ कमिटीमा भने यसअघि नै ३२ वर्षे उमेर हद लागू भइसकेको जानकारी दिए ।

    अखिल क्रान्तिकारीको विधानमा २४३ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरिएको छ । पदाधिकारी ३३ जना रहने गरी बनाइएको विधानमा उपाध्यक्ष ९, महासचिव १, उपमहासचिव ९, सचिव १२, कोषाध्यक्ष १ रहने गरी प्रावधान बनाइएको छ ।

    उमेर हद लागू हुँदा २२ औं सम्मेलनबाट निर्वाचित १७ उपाध्यक्षहरू इन्द्र भुसाल, नरेश रेग्मी, जीपी मैनाली, क्षितिज सापकोटा, केशव रावल, डा । अच्युत भट्ट, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, सूर्यनारायण साह, पवन कार्की, मदन भूल, मदन भट्टराई, नारायण खनाल, गजेन्द्र देवलगायत प्रतिस्पर्धाबाट बाहिरिने छन् । यस्तै, संगठनका निवर्तमान महासचिव दीपेश पुन पनि अब उम्मेदवार बन्न पाउने छैनन ।

    निवर्तमान उपमहासचिव, सचीव र तल्लो वरियतामा रहेकाहरूको नयाँ कार्यसमितिको नेतृत्वमा दबदबा रहनेछ । नयाँ व्यवस्थासँगै संगठनको अध्यक्षमा यसअघि उपमहासचिब रहेका र ३२ वर्ष उमेर पार नगरेकाहरुबाट प्रवल दावी हुने देखिन्छ । उपउपमहासचिवहरु मध्ये तिर्सना हमाल, विश्वमणी थापा, योगेन्द्र बुढा बलियो दावेदार छन् । त्यसैगरी निवर्तमान प्रदेश अध्यक्षहरु सुदिन पौडेल र हेमन्त राई पनि दावेदावर छन् ।

    अध्यक्षमा बलियो दावेदारी दिएका मध्ये कर्णाली प्रदेशको सिंजा घर भएकी तिर्सना हमाल यसअघि कर्णाली प्रदेशको इन्चार्ज तथा महिलाबाट अध्क्षयको एकल र बलिया दाबेदार छन् । बिजनेस स्टडिजमा मध्यपश्चिम विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी हमाल सबैलाई समन्वय गर्न सक्ने र राम्रो सांगठनिक क्षमता भएको विद्यार्थीहरु बताउँछन् ।

    उनकै नेतृत्वमा कर्णाली प्रदेशमा अखिल क्रान्तिकारीले यसअघि भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा प्रथम स्थान हासिल गरेको थियो । कर्णाली प्रदेशका सबै जिल्ला र प्रदेशको सम्मेलन गरेर यसअघि उमेर हद नलागेर सबै सिनियर नेताहरु प्रतिस्पर्धामा रहेकै बेला कीर्तिपुर सम्मेलनमा समेत उनले महासचिवको दावी गरेकी थिइन । राम्रो लेखनकला र सबैलाई मिलाएर लानसक्ने क्षमता भएकी तिर्सना हमाल माओवादी अध्यक्ष प्रचण्ड निकट मानिन्छिन । उनलाई कर्णालीका उच्च तहका पार्टी नेताहरु सबै नेताहरुको पनि साथ छ ।

    कर्णाली प्रदेश पार्टीका इन्चार्ज कालीबहादुर मल्ल, सहइन्चार्ज टेकबहादुर बस्नेत, प्रदेश अध्यक्ष बिमला केसी सबै जना यसपटक हमाललाई अध्यक्ष बनाउनुपर्ने पक्षमा छन् । पार्टीका उपमहासचिब वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेतसहितका नेताहरुसँगै राम्रो भएकाले सबैले उनलाई सहयोग गर्ने विद्यार्थी नेताहरु बताउँछन् ।

    त्यस्तै मधेश प्रदेशबाट पहिलो पटक अध्क्ष्यको दाबी गर्ने एकल दाबेदार हुन विश्वमणी थापा । निवर्तमान कमिटीमा उपमहासचिब रहेका थापा बिद्रोही स्वभाबका र राम्रो वाककला भएका उम्मेदवार हुन । उनी आफु र आफ्नो प्रदेसले आजसम्म संगठनमा कार्यकारी नेतृत्व नपाएकोले यसपटक आफूले पाउनुपर्ने बताउँछन् ।

    यसपटक मधेश प्रदेशले केन्द्रीय नेतृत्व पाउनेमा आफू विस्वस्थ रहेको थापा बताउछन् । उनी आफूलाई उपाध्यक्ष पम्फा भुसाल र उपमहासचिव जनार्दन शर्मा निकट बताउँछन् । साथै पार्टीका अरु नेताहरुले पनि सहयोग गर्ने उनी बताउछन् ।

    त्यस्तै कर्णाली प्रदेशबाट नै प्रतिनिधित्व गर्ने अर्का उपमहासचिब योगेन्द बुढा पनि अध्यक्षका दावेदार छन् । बुढालाई पूर्व सभामुख कृष्ण बहादुर महरा निकट बताइन्छ् । उनी पनि आफूले अध्यक्ष पाउनुपर्ने दावी गर्दै आएका छन् ।
    त्यसैगरी गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष सुदिन पौडेल र एक नम्बर प्रदेशका निवर्तमान अध्यक्ष हेम्न्त राई पनि अध्क्ष्यका दाबेदार छन् । उनीहरु दुबै जना पूर्व मन्त्री सुदन किराती निकट मानिन्छन् । पूर्वी क्षेत्रबाट नेतृत्व पाउने स्थिति भएमा उनीहरुमध्ये एक जनाले पाउने बताइन्छ ।

    अध्यक्षमा यसभन्दा तल्लो तहमा रहेका अरु धेरैले दावी गरे पनि केन्द्रीय पदाधिकारीमा रहेर अनुभव हासिल गरेका र प्रदेश तथा जिल्लाको नेतृत्व समेत गरेर आइसकेकाहरुले नै नेतृत्व पाउने सम्भावना देखिन्छ । उपमाहासचिब भन्दा तल्लो बरियताका नेताहरुले अध्यक्षको दावी गरे पनि उनीहरु अध्यक्ष बाहेकको पोस्टमा सुनिश्चित हुनका लागि चर्चा चलाएको केही नेताहरु बताउँछन् ।

    अहिले धेरैले दावी गरे पनि अन्तिममा २ देखि ३ जना मात्रै उम्मेदवारहरु रहने र देशव्यापी खुल्ला निर्वाचनबाट चुनिने अखिल क्रान्तिकारीका नेताहरु बताउँछन् । केहीले बार्गेनिङ गर्न र केहीले चर्चामा आउनका निम्ति दाबी गरेको बताइन्छ । जे भए पनि यसपटक अखिल क्रान्तिकारीको नेतृत्व चयन प्रक्रिया निकै रोचक बन्ने देखिन्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ