• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    मनोरञ्जन समाचार

    कर्णाली चलचित्र महोत्सव फागुन २४ गतेदेखि, सद्भावना दूत बने प्रदीप र सुरक्षा

    2K
    SHARES



    काठमाडौँ । घरेलु फिल्मको प्रबर्दन र कर्णाली प्रदेशको पर्यटन विकासलाई टेवा पुर्‍याउने उद्देश्यले गत वर्षदेखि सुरु भएको ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को दोस्रो संस्करण आयोजना हुने भएको छ । फागुन २४ गतेदेखि महोत्सव आयोजना हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    ‘घुमौं कर्णाली, हेरौं कर्णाली’ नारासहित रेड चेरी मिडियाले महोत्सव गर्न लागिएको हो । महोत्सवले प्रदेशको ऐतिहासिक र सांस्कृतिक महत्वपूर्णलाई देश र विदेशमा फैलाउने उद्देश्य लिइएको महोत्सव निर्देशक चक्रबहादुर चन्दले बताए ।

    यसवर्ष महोत्सवले जलवायु परिवर्तनका मुद्दालाई प्राथमिकतामा राख्दै ‘रारा चलचित्र पर्यटन तथा जलवायु परिवर्तन समिट’ समेत आयोजना गर्ने भएको छ । महोत्सवको क्रममा फिल्म स्क्रिनिङ, कार्यशाला, छलफल सत्र र पुरस्कार वितरणजस्ता गतिविधि आयोजना हुने भएको छ ।

    चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवलाई चलचित्र पर्यटन प्रबर्दनको महत्वपूर्ण माध्यमका रूपमा वर्णन गर्दै यसले नेपालको पर्यटन विकासमा उल्लेखनीय योगदान गर्ने अपेक्षा राखे ।

    सो अवसरमा अभिनेता प्रदीप खड्का र अभिनेत्री सुरक्षा पन्त प्रबद्र्वन दूत घोषित भएका छन् । महोत्सवले फिल्मलाई पर्यटन प्रबर्दनको शक्तिशाली माध्यमका रूपमा स्थापित गर्ने विश्वास अभिनेता खड्काले व्यक्त गरे । आफू अभिनित फिल्म ‘प्रेमगीत २’ को छायांकन रारा ताल क्षेत्रमा भएको स्मरण गर्दै उनले कर्णालीको पर्यटनमा फिल्मले प्रभाव पारेको बताए ।

    अभिनेत्री पन्तले कर्णालीसँगको आफ्नो सम्बन्धलाई ‘बुलाकी’मार्फत अनुभव गरेको बताइन् । कर्णालीको जीवनका अन्य कथामा अभिनय गर्न चाहेको बताउँदै उनले महोत्सवको सुरुवातले राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा कर्णालीलाई चिनाउने प्रयासलाई बलियो बनाउने धारणा राखिन् ।

    महोत्सवको उदघाटन प्रदेश राजधानी सुर्खेतमा फागुन २४ गते हुनेछ । चैत १६ गते काठमाडौंस्थित पर्यटन बोर्डमा ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र पर्यटन तथा जलवायु अवार्ड समारोह’ हुनेछ । चैत ३० गते मुगुको रारा ताल प्राङ्गणमा ‘रारा चलचित्र पर्यटन तथा जलवायु समिट’ आयोजना हुनेछ ।

    महोत्सव आयोजनामा चलचित्र विकास बोर्ड, पर्यटन बोर्ड र उद्योग वाणिज्य महासंघले समेत सहकार्य गरेका छन् । पर्यटन बोर्डका सिनियर म्यानेजर रोहिणीप्रसाद खनालले राज्यले चलचित्र पर्यटन प्रबर्दनको लागि आवश्यक नीतिगत व्यवस्था गरिरहेको बताए ।

    उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले निजी क्षेत्रले फिल्म र पर्यटनलाई सधैँ सघाउँदै आएको बताइन् । अभिनेता शिव श्रेष्ठले सबैले टाढा सम्झिएको कर्णालीलाई महोत्सवले नजिक बनाएको बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया