काभ्रे । यही असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग अन्तर्गत भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ ।
बाटो खुलेसँगै यातायातका साधन पनि सञ्चालन हुन थालेका छन् । यात्रुवाहक बसलाई पनि आजैदेखि सञ्चालनको अनुमति दिइएको तेमाल गाउँपालिका उपाध्यक्ष दलमान थोकरले बताए ।
तेमाल गाउँपालिकाको सक्रियतामा मेच्छेपौवाबाट मैनाजाङ–सिन्दुरेटार–मुक्पाटार हुँदै सुनकोशी पुल भएर रामेछापको सुनापति गाउँपालिकाको मध्यपहाडी लोकमार्ग जोड्ने सडक पनि सञ्चालन भएको उनको भनाइ छ । स्थानीय प्रशासनले उक्त सडकमा हाललाई हलुका सवारी साधन मात्र सञ्चालनको अनुमति दिएको छ ।
बीपी राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यसम्म पुर्याउने प्रयास भइरहेको मङ्गलटारस्थित इलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण गिरीले बताए ।
बीपी राजमार्गमा फसेका सवारी साधनमध्ये १३ वटा वैकल्पिक बाटोबाट काठमाडौं पुगेका छन् । राजमार्गको रोशी गाउँपालिका–११ डम्फुपार्क तथा वडा नम्बर ९ मङ्गलटारमा अलपत्र पाँच सयभन्दा बढी सवारीसाधनलाई आजदेखि वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ पठाइने उनको भनाइ छ ।
प्रतिक्रिया