• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    अपराजित नेपालले टी-२० आईमा पहिलो पटक आज साउदी अरेबियासँग खेल्दै

    771
    SHARES



    काठमाडौँ । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा बुधबार नेपालले साउदी अरेबियासँग समूहगत चरणको अन्तिम खेल खेल्दै छ । नेपाल र साउदी अरेबियाबिचको खेल नेपाली समय अनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ ।

    बुधबार नै समूह ‘ए’ को अर्को खेलमा मलेसिया र हङ्कङबिच खेलिने छ । त्यो खेल पनि बिहान ११ः४५ बजे नै सुरु हुनेछ । नेपाल जारी प्रतियोगितामा यसअघि आफूले खेलेका तीनवटै खेलमा विजयी भएर समूह ए बाट ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगी सकेको छ । त्यसैले आजको खेल नेपाललाई प्रतिष्ठाका लागि मात्रै हुनेछ ।

    नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो । नेपालले सेमिफाइनलमा यूएईसँग खेल्ने सम्भावना छ ।

    नेपाल ६ अंकसहित तालिकाको पहिलो स्थानमा रहँदा चार खेलबाट ४ अंक बटुलेको कतार दोस्रो स्थानमा छ भने तीन खेलबाट २ अंक बटुलेको साउदी अरेबिया तेस्रो, तीन खेलबाट २ अंक जोडेको मलेसिया चौथो र तीन खेलबाट २ अंक हात पारेको हङ्कङ पाँचौँ स्थानमा छन् ।

    प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को लिग चरणको खेल पनि बुधबार नै सकिने छ । समूह ‘बी’ को बुधबार हुने खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले कम्बोडियाको र ओमानले कुवेतको सामना गर्नेछन् ।

    समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई–दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ । सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछन् भने पराजित दुई टोलीबिच अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेल हुनेछ । फाइनल खेल अप्रिल २१ तारिखमा खेलिने छ ।

    नेपाल एसीसी प्रिमियर कपको साविक विजेता पनि हो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजना भएको एसीसी प्रिमियर कपको पहिलो संस्करणको फाइनलमा नेपालले यूएईलाई सात विकेटले हराएको थियो । सोही प्रतियोगिताको विजेता बन्दै नेपाल एसिया कपमा छनोट भएको थियो ।

    एसीसीका एसोसिएट्स सदस्य राष्ट्रका लागि प्रिमियर कप क्रिकेट महत्त्वपूर्ण प्रतियोगिता हो । यही प्रतियोगिताले एसोसिएट्स सदस्य राष्ट्रका लागि एसिया कपजस्तो ठुलो प्रतियोगिता खेल्ने अवसर प्रदान गर्छ । एसिया कपमा छनोट भएको एसोसिएट्स सदस्य राष्ट्रले बलिया टेस्ट राष्ट्रहरूसँग भिडन्त गर्ने अवसर पाउँछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ