काठमाडौँ। आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नामिबियाले दुवै ओपनरसहित ४ विकेट गुमाएको छ ।
नेपालका लागि दुवै ओपनरको विकेट ललितनारायण राजवंशीले लिए भने बाँकी २ विकेट सोमपाल कामीले दिएका हुन् । ओपनिङ ब्याटर निकोलास डेभिनलाई नेपालका ललितनारायण राजवंशीले १५ रनमा कुशल भुर्तेलबाट क्याच गराए । यस्तै दोस्रो विकेटको रुपमा ललितले ओपनर माइकल भानलाई २३ रनमा आउट गरे ।
सोमपाल कामीले भने नामिबियाका कप्तान जेराल्ड इरासमसलाई ८ रन र जान फ्राइलिंकलाई ३४ रनमा आउट गरे । दुवैलाई सोमपालले २१औं ओभरमा क्याच आउट गराएका हुन् ।
त्यतिबेला नामिबियाले २१ ओभरमा ४ विकेटको क्षतिमा ८२ रन जोडेको थियो । घरेलु मैदानमा खेलिएको एकदिवसीय खेलमा नेपालले अहिलेसम्मकै न्यून स्कोर बनाएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नामिबियाविरुद्धको खेलमा नेपाल १ आसय ३२ रनमा अलआउट भयो । नेपालले घरेलु मैदानमा पहिलो पटक १५० रन पनि कटाउन नसकेको हो । यसअघि घरेलु मैदानमा नेपालको न्यून स्कोर १ सय ७९ रन थियो ।
प्रतिक्रिया