काठमाडौँ । अस्ट्रेलियाले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भ्रमणकारी टोली वेस्ट इन्डिजलाई ८३ रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै घरेलु टोली अस्ट्रेलियाले ३ खेलको शृंखलामा २-० को अग्रता हासिल गरेको छ ।
सिड्नीमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले नौ विकेटको नोक्सानीमा दुई सय ५८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको वेस्ट इन्डिजले भने ४३.३ ओभरमा अलआउट हुनुअघि एक सय ७५ रनमात्र बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि सिन एबटले ६९ रनको योगदान गरे । म्याथ्यू सर्टले पनि ४१ रन बनाए । एरोन हार्डी २६ रनमा आउट भए । क्यामरुन ग्रिनले ३३ रन जोडे । मार्नस लाम्बुसेनले २६ रन बटुले । क्यारेबियन टोलीका बलर गुडाकेश मोटीले ३ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि केसी कार्टीले सर्वाधिक ४० रन बनाए । साई होप २९ रनमा आउट भए । रोस्टन चेज २५ रन बनाउँदै पेभेलियन फर्किए । अस्ट्रेलियाका बलर जोस हेजलउड र सिन एबोटले ३-३ विकेट लिए ।
यस्तै, भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेटको तेस्रो दिन आइतबारको खेल सकिँदासम्म भ्रमणकारी टोली इङ्ल्यान्ड जितबाट तीन सय ३२ रन टाढा छ । तेस्रो दिनको खेल सकिँदासम्म इङ्ल्यान्डले एक विकेटको नोक्सानीमा ६७ रन बनाएको छ ।
इङ्ल्यान्डको टोली तीन सय ९९ रनको लक्ष्य पछ्याउँदै दोस्रो पाली खेल्न आएको हो । दोस्रो पालीमा इङ्ल्यान्डका ज्याक क्रावली अविजित २९ र रेहन अहमद अविजित ९ रन बनाउँदै क्रिजमा छन् ।
अर्का ओपनर बेन डुकेट भने २८ रन बनाउँदै आउट भएका थिए । उनको विकेट भारतीय बलर रविचन्द्रन आश्विनले लिएका थिए ।
प्रतिक्रिया