काठमाडौँ । नेकपा एकीकृत समाजवादीले विधान संशोधन मस्यौदामाथि जिल्ला तहबाट सुझाव संकलन गर्ने भएको छ । त्यसका लागि केन्द्रीय तहले निर्माण गरेको विधान संशोधन मस्यौदा बिहीबारबाट जिल्ला तहमा पठाउने निर्णय पनि गरेको हो ।
बुधबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले मस्यौदामाथि तलका पार्टी कमिटीको सुझाव समेत समेटेर आगामी माघ १४ र १५ मा बस्ने केन्द्रीय परिषद् बैठकमा छलफलका लागि पेश गर्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
साथै बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार जिताउन आफ्नो तर्फबाट पहल गर्ने समेत निर्णय गरेको छ ।
उता सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिको सभापति निर्विरोध निर्वाचित भएका छन् । चारवटै समितिको सभापतिमा १-१ जनाको मात्र उम्मेदवारी परेसँगै बुधबार(आज) निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । निर्वाचित सभापतिहरूलाई सभामुख भीमबहादुर भण्डारीले बुधबार नै पद तथा गोपनीयताको शपथ गराएका छन् ।
विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा सत्तारुढ नेपाली कांग्रेसका दिवानसिंह विष्ट, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र सामाजिक विकास समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका माया पन्त निर्वाचित भएकी छन् ।
त्यस्तै, सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका वीरबहादुर थापा निर्वाचित भएका छन् । सत्तारुढ कांग्रेस, माओवादी, नागरिक उन्मुक्ति, एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षी एमालेबीच पाँचवटै पार्टीले एक(एकवटा समितिको नेतृत्व लिने समझदारी बनेपछि चारवटै समितिको सभापतिमा एकल उम्मेदवारी परेको थियो ।
प्रतिक्रिया