• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सर्लाहीमा अवैधरूपमा काठ चोरी निकासी गर्नेविरुद्ध मुद्दा

    1K
    SHARES



    सर्लाही । सर्लाहीका जङ्गलबाट चालु आर्थिक वर्षको हालसम्म अवैधरूपमा काठ चोरी निकासी गर्ने आठजनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

    डिभिजन वन कार्यालय सर्लाहीले अवैधरूपमा काठ ओसारपसार र चोरी निकासीको आरोपमा आव २०८०÷८१ को पहिलो चौमासिकमा आठजनाविरुद्ध मुद्दा दर्ता गरिएको जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी राकेश रन्जन दासले तीन मुद्दामा करिब ५६.२४ क्युविकफिट काठसहित आरोपीलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार साउनदेखि कात्तिकसम्ममा आठजनाविरुद्ध मुद्दा दर्ता भएको र ५६.२४ क्युविकफिट काठ बरामद भएको हो ।

    काठ चोरी तस्करी गर्ने कार्यमा संलग्न रही नियन्त्रणमा लिइएका आठजनामाथि कारबाही प्रक्रिया अघि बढाइएको जिल्लास्थित वन कार्यालयका प्रमुख मन्जुर अहमदले जानकारी दिए । उनका अनुसार चालु आवको चार महिनामा अवैधरूपमा काठ चोरी निकासी गर्नेलाई पक्राउ गरी तीन मुद्दा दर्ता गरिएको छ ।

    तीमध्ये एउटा मुद्दा दर्ता प्रक्रियामा रहेको उनले जानकारी दिए । अवैध काठ चोरी निकासीको आरोपमा पक्राउ पर्नेमा केही स्थानीय सःमिल सञ्चालकसमेत रहेका वन कार्यालयले जनाएको छ ।

    “चार महिनामा तीन घटनामा संलग्न आठजनालाई पक्राउ गरेका छौँ । अरूमाथि निगरानी बढाएका छौँ । विभिन्न कठिनाइका बाबजुद वन संरक्षण र चोरी निकासी नियन्त्रणका लागि हामी नयाँ रणनीतिसहित अगाडि बढिरहेका छौँ”, प्रमुख अहमदले भने ।

    यस्तै, तनहुँमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी मोहन बहादुर खाँणका अनुसार दुर्घटनामा घाइतेमध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

    जिपमा सवार रुम बहादुर बिक र जेमलाल दरैको उपचारको क्रममा जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा मृत्यु भएको उनले जानकारी दिए ।

    बुधबार बिहान साढे ९ बजे भिमाद नगरपालिका वडा नम्बर ३ सुनाकोटमा पोखराबाट पाल्पातर्फ जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खस्न पुगेको थियो ।

    खाँणका अनुसार अन्य १० घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । घाइतेहरू मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ भने ४ जनाको अवस्था मध्यम छ । यस्तै ३ जनाको अवस्था सामान्य रहेको उनले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ