काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपालसहित ३ नेतालाई दिएको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्य उम्मेदवार चयनको जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई दिने निर्णय गरेको हो ।
पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार यी तीन नेतालाई राष्ट्रियसभा निर्वाचनका विषयमा सर्वाधिकार दिई गठबन्धनको बैठकमा पठाउने निर्णय भएको छ ।
यस्तै, नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले अहिलेको सरकार र प्रमुख पार्टीहरुले राम्रो काम नगरे पनि कोर्स करेक्सन हुने आशा गर्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा ‘बिपी वाद’ नामक पुस्तकको लोकार्पण गर्दै प्रथम राष्ट्रपति यादवले प्रजातान्त्रिक संविधान बनेको र मुलुकमा लोकतान्त्रिक संविधान रहेकाले आशावादी हुनुपर्ने बताएका हुन् ।
‘निश्चय नै अहिलेको सरकारले, अहिलेको नेपाली कांग्रेस वा अरु पार्टीहरुले राम्रो गरेनन् । राम्रो गर्नुपर्ने त्यो कुरा सही हो, गर्न सकिरहेका छैनन् । तर हामी एउटा बाटोमा छौं । प्रजातान्त्रिक संविधान छ, जो संविधानले नेपाली जनताको यो देशको अस्तित्व बचाएर अगाडिको बाटो देखाएको छ’ उनले भने ।
देशमा शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय रहेको र धेरै मानिस विदेश गइरहेको भन्दै यादवले भने, ‘…कोर्स करेक्सन हुन्छ भन्ने आशा गरौं । हामीले पछि फर्किएर हेर्ने समय छैन । हामी बहुतै गम्भीर भएर नेपालको अस्तित्व जोगाउनुपर्छ । आजको देशको अर्थतन्त्र कसरी मजबुत हुन्छ, त्यसमा लागौं ।’
प्रतिक्रिया