• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    राष्ट्रिय कर दिवस आजबाट सुरु- कति करदाताले लिए स्थायी लेखा नम्बर ?

    2.6K
    SHARES



    काठमाण्डाै । ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन : सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस आजदेखि सप्ताहव्यापी रुपमा मनाइने भएको छ ।

    आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयमा एक हप्तासम्म करदाता शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रम गर्ने र मङ्सिर ७ गते उत्कृष्ट करदातालाई सम्मानित गरिने भनिएको छ ।

    विभागअन्तर्गत एउटा ठूलाे करदाता कार्यालय, एउटा मध्यमस्तरीय करदाता कार्यालय, ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता सेवा कार्यालय गरी कूल ८४ वटा कार्यालय सञ्चालनमा रहेका छन् ।

    विभागका अनुसार गएकाे आर्थिक वर्ष २०७९/८० सम्ममा व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका करदाताको सङ्ख्या ५५ लाख २५ हजार नौ सय १९ रहेको छ ।

    जसमध्ये व्यावसायिक स्थायी लेखा नम्बर (बी-पान) लिएका करदाताको सङ्ख्या १८ लाख ७६ हजार तीन सय ५ र व्यक्तिगत स्थायी लेखा नम्बर (पी-पान) लिने करदाताको सङ्ख्या ३६ लाख ४९ हजार छ सय १४ रहेको छ ।

    गएकाे आर्थिक वर्ष २०७९/८० मा सरकारले कुल नौ खर्ब ५७ अर्ब रुपैयाँ बराबर राजस्व असुली गरेकोमा आन्तरिक राजस्व विभागबाट उठेको राजस्व मात्र चार खर्ब ७९ अर्ब रुपैयाँ बराबर थियो । जुन सरकारको कुल वार्षिक राजस्व असुलीको ५०.१२ प्रतिशत बराबर हो ।

    गएकाे आव सरकारले विभागलाई छ खर्ब २६ अर्ब ६१ करोड रुपैयाँ बराबर राजस्व असुलीको लक्ष्य दिएकोमा लक्ष्यको ७६.५७ प्रतिशत अर्थात् ४ खर्ब ७९ अर्ब ७९ करोड रुपैयाँ बराबर राजस्व उठेको विभागले जनाएको छ । देशको कूल गार्हस्थ्य उत्पादनमा आन्तरिक राजस्वको योगदान करिब २० प्रतिशत रहेको छ ।

    आन्तरिक राजस्वको शीर्षकगत असुलीको प्रतिशत हेर्दा सबैभन्दा बढी योगदान आयकरको रहेको छ । कुल आन्तरिक राजस्वमा आयकरको हिस्सा ४४.५२ प्रतिशत छ । मूल्य अभिवृद्धि कर (भ्याट) को योगदान २४ दशमलव ५० र अन्तःशुल्कको योगदान २१ दशमलव ६७ प्रतिशत रहेको छ । त्यस्तै, ब्याजदरको योगदान ६.६७ प्रतिशत, घरबहाल करको योगदान ०.६४ प्रतिशत, स्वास्थ्य सेवा शूल्कको अंश १.४१ प्रतिशत र शिक्षा सेवा शूल्कको अंश ०.४२ प्रतिशत रहेको छ ।

    गएकाे आवमा कार्यालयगत राजस्व सङ्कलनको अवस्था हेर्दा ठूला करदाता कार्यालयको ३९ प्रतिशत देखिन्छ भने मध्यमस्तरीय करदाता कार्यालयको ४ प्रतिशत रहेको छ । त्यस्तै, आन्तरिक राजस्व कार्यालयको ५३ प्रतिशत र करदाता सेवा कार्यालयको चार प्रतिशत रहेको विभागले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया