• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कभर स्टोरी

    यात्रा सस्मरण: रामारोशन पर्यटकीय क्षेत्रमा दिनभर डुल्दा देखिएका दिल दुख्ने दृश्य

    14.6K
    SHARES

    अछाम । रामारोशन पर्यटकीय क्षेत्रमा दिनभर डुलेपछि मनमा धेरै प्रश्नहरु उब्जिएका छन्, ति प्रश्नका जवाफ न त रामारोशन प्रयटन बिकास समितीसँग छन्, न त अन्य कुनै सरकारी निकायसँग, न त ति प्रश्नका जवाफ म सँग नै छन्। तर के प्रश्नका उत्तर छैनन् भनेर उदासिन र निरास बन्ने त ? त्यसो पक्कै पनि हैन, एउटा रामारोशनको स्थानिय र पत्रकारिताको विद्यार्थीका नाताले रामारोशनको पर्यटकीय स्थलमा दिनभर डुल्दा जे देखियो, सुनियो, भोगियो त्यसलाई यात्रा सस्मरणका रुपमा जस्ताको त्यस्तै लेख्ने कोसिस गरेकी छु । यसबाट त्यस क्षेत्रका कसैको मनमा ठेस लाग्यो भने क्षमा चाहन्छु । एउटा सञ्चारकर्ममा पनि जोडिएको हुनाले कसैको कोरा प्रशंसा र चाप्लुसी गर्नुभन्दा कडा आलोचना गरेर उक्त क्षेत्रको पर्यटन बिकासमा देखिएका समस्यालाई समाधान गर्न घचघच्याउनु मेरो दाहित्व हो भन्ने ठानेकी छु ।

    प्रारम्भ

    लगभग एउटै उमेर समुहका हामी परिवारकै दिदी बहिनी, फुपु र भाइलगाएत करिब १२/१५ जना जतिको पारिवारिक समूह एकाबिहानै रामारोशन तिर लाग्यौँ । पातल गाउँबाट करिव दुई घण्टाजति हिडिसकेपछि हामी रामारोशन ताल पुग्यौं, ताल छेउको बाटो अघि-अघि हिड्दै गरेका दिदीबहिनिहरु पनि तालछेउको थेप्चो परेको ढुंगामा गएर बसे र तालको दृष्य नियाल्दै गफगाफ गर्दै फोटो खिच्न थाले । भाइ प्रकाश र म भने पछि-पछि हिड्दै थियौँ, भर्खरै एसइइ दिएर बसेको जिज्ञासु भाईको फ्रेस दिमाखले राजनीति, संस्कृति, आर्थिक, सामाजिक लगाएतका अनेकन प्रश्न गरिरहेको थियो म पनि सकेसम्म चित्त बुझ्ने खालको उत्तर दिने प्रयास गरिरहेकी थिए ।

    उ खिन्न हुँदै भन्दै थियो मलाई बायोलोजी वा फरेस्टि पढ्न मन छ । तर के गर्नु आर्थिक स्थिती कमजोर छ, बाआमा बुढो हुँदै गए । उत्ति नै बेला तालको बीचबाट जलेवा (पानी हाँस)को एक बगाल आयो, मेरो फोन भाईसंगै थियो र हतपत खल्तीबाट मोबाइल झिकेर उसले भिडियो बनाउन थाल्यो । मलाइ पनि ढुंगाहरुको खोचमा पानी भित्र आफ्नै लयमा खेल्दै हुर्किरहेका केही माछाका भुराहरुसंग एकपटक खेल्न मन लाग्यो, माछाका भुराहरुको फोटो, भिडियो खिच्न ताल छेउको रिङ्गरोड छोडेर भित्रपट्टीको ढुंगा-ढुंगा भएको ठाउमा गएर ति माछाका भुराहरुलाई खल्तीबाट सिरौंला झिकेर बिस्तारै पानीमा फाले, अल्लि ठुला माछा चामल खान मन लागेपनि आउदैनन् थिए, स-साना चुलबुले भुराहरु भने चामलको दाना देख्ने बित्तिकै आएर टिपिहाल्थे ।

    दिदी भने अगाडिको अग्लो ढुंगामा जानु भएको थियो, भाइ प्रकाश भने म भएको ढुंगामा बसेर पानी भित्रका जरा नदेखिने स-साना झारपात निगालोको छडीले बिस्तारै चलाई रहेको थियो । पनिमै खेल्दै सिमलका झार र अरु लहराहरु लर्याक लुरुक गरिरहेका र माछाका भुराले चामल खाएका केही दृश्यहरु मोबाइलको क्यामेरामा कैद गर्दै थियौँ । केहि बर्ष अघि बर्षे बिदामा स्कुल छुट्टी भएको मौका पारी लेखमा भैसी लिएका बेला तिनै ढुंगामा बसेर माछाका भुरालाई हेर्दै दिन बिताउन्थे, त्यो बेला म पनि भुरा भुरी नै त थिएँ, माछाको जस्तै, मेरो दिमाग बच्पनमै फर्किएको थियो ।

    त्यस्तै मेरो दिमाग पनि निस्फिक्री बचपनमै पुगेको थियो, त्यो ढुंगामा टाँसिएको लेउ, चामलका दाना खान आउने चन्चले माछाका भुरा, त्यो पानी भित्र देखिने निलो आकास, हावाले टिलपिल गरिरहेको स्थिर पानी सबै-सबै मेरा बचपनकै साथीथिए । मात्रै थपिएको थिए देखिएका केहि दृश्य आफ्नो मोबाइलमा कैद गर्ने मन र मोबाइल फोन, सानो भाइ र म सकेसम्म पानी भित्रको संसार कैद गर्न हरदम प्रयास गर्दै थियौँ ।

    त्यति नै बेला अलि अग्लो रिङ्गरोडबाट एउटा आवाज ‘कानमा ठोक्कियो ‘रामारोशनका मान्छे त मान्छे नै होइनन्’, म झस्किएँ मोबाइलमा बनाउदै गरेको भिडियो क्लिप अन नै थियो । म आवाज आए तिर नियाल्न थाले, ठुली दिदी भने हामी दिदी भाइ भएको ढुंगा भन्दा ताल भित्रपट्टीको अलि अग्लो ढुंगाबाट मलाइ हेरिरहनु भएको थियो, मैले उता रिङ्ग रोडमा हिड्दै गरेका एक हुल अनुहार नियाली रहेकी थिए ।

    त्यो हुलमा साना बच्चा-बच्ची उनीहरुका दिदीजस्ता देखिने किशोरी र बच्चाका आमाहरु थिए, एकछिन अघि सुनेको आवाज कसको होला ? किन त्यस्तो भनेका होलान् ? मेरो मनमा प्रश्न खेली रह्यो । उनीहरु आफ्नै गतिमा हिड्दै थिए, म उनीहरुको अनुहार, शरीरको हाउभाउ पढिरहेकी थिएँ, एउटा आमा जस्तो देखिने महिला र दुई वटा किशोरीका खुट्टामा चप्पल थिएनन्,  हातमा बोकेका थिए । उनिहरुलाई हिड्न समस्या भईरहेको जस्तो लाग्यो तर पैदल हिडेर प्रकृतिसंग रमाउन नसक्नु त उनीहरुकै समस्या पो होला त, फेरि रामारोशनका मान्छेलाई त्यस्तो किन भनेका होलान् ? सम्झिए तिनीहरु त अघि बोट (नाउ)मा जाने भनेर रोकिएका थिए, फेरि किन हिडेर आए होलान् ? किन बोटमा नगएका होलान् ?

    दिदीले अलि-अलि हाँसो र ठट्याउली पारामा-हामी मान्छे नभएर के रहेछौ त हौ भन्नुभयो, म फर्किए, रिङ्गरोडका मान्छे अगाडी गइरहेका थिए । हामी सबै भाइबहिनी तालकै माथिल्लो छेउतिर गएर बस्यौँ, अध्ययान र रोजगारीको सिलसिलामा घर बाहिर रहेका हामी सबै भाइबहिनीको भेट दशैं र तिहारले गराएको थियो, तालछेउको चौरमा बसेर हामीले केही समय गफ गर्यौं र अगाडि बढ्यौँ ।

    पर्यटकीय स्थलमा मन खिन्न बनाउने दृश्य

    जब रामारोशनका सबैभन्दा ठुला जिंगले, बाटुला, लामा दह लगाएतका तालमा आउने पानीको मुख्य मुहानमा पुगियो तब खिन्न लग्यो, त्यहाँ पिकनिक गएकाहरुले खाना पकाएर खाएको जस्तो थियो । ढुंगाका चुला, आधा बलेका दाउरा, छेउ छाउमा प्लास्टिकका झोला, मिनिरल वाटरका बोत्तल, अनेक थरिका जुसका बोत्तल फ्याकिएका थिए ।

    छेवैमा दुईटा बस्ने बनाइएका थिए, छेउ छाउमा पुकार, सुर्ती, चाउचाउ बिस्कुटका बोक्रा र पानीका बोत्तल, यताउति नियाले कतै फोहोर फ्याक्ने डस्टबिन पनि छैन । हामीले प्याकेटका खानेकुरा त केही बोकेका थिएनौं तर यो ठाउँ घुम्न पर्ने पर्यटकीय तालको बिचैमा छ, खाने[पानी नजिकै छ । अगाडिको ताल नियाल्दै खाजा खानेहरुले फ्याकेको फोहोर हो भन्ने लाग्यो, राफ्टिङ गर्नेहरु पनि त्यही ठाउँमा चढ्ने झर्ने गर्थे, यो चौबाटो हो, तालको अर्कोपट्टी माथिल्लो छेउबाट जाने बाटो पनि यहीवाट छुट्टिन्छ, बसेर अगाडि तालतिर नियाल्दा लगभग डुङ्गा हिड्ने बाटो बाहेक छेउछाउतिर पानीभित्र उम्रिएका झारपाताले पानी भन्दा धेरै हरियो घाँस देखिन्छ ।

    टोली रोशन मैदानतिर लाग्यो, त्यो बाटो भने पहिलाभन्दा अलिकति सुधारिएको थियो खुसी लाग्यो, स-साना पानीका कुलामाथि लाम्चा ढुंगा राखेर पुलजस्तै बनाइएका थिए । कतै वार-पार गर्नलाई काठका टुक्रा राखिएका थिए, यो झन् सुन्दर लाग्यो । गफगाफ गर्दै रोशनको फाँटमा पुगियो । जहिले नराम्रो मात्रै देख्ने मेरा आँखाअघि फेरि रोशनका गडाको ओभानो सुख्खा र मान्छे बसेर फोटो खिच्ने ठाउँ भरि ढुंगैढुंगा भएको देखियो, अलि छेउ-छेउबाट माथि पट्टीको हरियो घाँस तिर जाँदैगर्दा केही रुखका फेद नजिक फोहोरै फोहोर देखियो ।

    म एकछिन रोकिएँ केही फोटो लिए, प्लास्टिक, सिसाका कोही फुटेका कोही सिङ्गै बोत्तल, जुसका बोत्तललागायत अस्वभाविक फोहोर जलाइएको थियो । जल्ने फोहोर पो जलेर खुम्चियो र धुवाँ बनेर उड्यो, सिसाका फुटेका बोत्तल झन् काला-काला बनेर थुप्रिएका थिए । यस्तो फोहोर त रामारोशनले पहिलोपटक बोक्दै थियो, मैले पनि त्यस क्षेत्रमा पहिलो पटक नै देखेकी थिएँ । हेर्दा फोहोर व्यव्स्थापनमा कत्तिपनि ध्यान नदिइएको प्रस्टै बुझिन्थ्यो ।

    गडाको बिच भागमा एउटा पर्खाल लगाइएको थियो, वरिपरी पर्खाल लगाएर धुपीका वोट रोपिएको रहेछ । अलि-अलि रुख भएको छेउतिर एउटा पालमा आगो बल्दै थियो, भाई बोल्यो रेन्बो परिवारका केही सदस्य यतै रहेछन् । हामी दिदी भाई त्यतै तिर गयौँ । तिन जना दाह्री पालेका पोर्चुगलका पर्यटक रहेछन् । कोही कोही दाउरा जम्मा गर्दै थिए, कोही आगो फुक्दै थिए भने कोही दाउरा रुट्दै थिए । हामी नजिकै गयौँ । हाई सन्चै हुनुन्छ ? एउटा दारीवाला मान्छे बोलिहाल्यो । ठिक छौँ, अनि तपाइँ ? मैले सोधे । एकदम भन्दै खुब मिल्ने साथी जसरी भाइसंग पर्यटक गफिन थाल्यो ।

     

    पर्यटक आउने सम्भावना छ तर सामान्य व्यवस्थापन पनि छैन 

    मैले एताउति नियाले, छेउको खोलामा काठको पुल जस्तो बनाएर दुई वटा दाउरा राखेका थिए । ति दाउरामाथि हिड्दाखेरी खुट्टा नचिप्लीओस भनेर मसिनो गरी केही कोरिएको थियो। सानो पानीको कुलोमा पुल त्यसैमाथि खुट्टा नचिप्लियोस कति सावधानी, मनमनै सोच्दै थिए । आँखा अल्लि परको झुन्ड्याईएको बोरा तिरगयो, मैले अल्लि आँखा तन्काएर हेरे, फोहोर जम्मा गरेको रहेछ, फाल्ने ठाऊँ नभए पनि कुहिने र नकुहिने फोहोर भने छुट्टा छुट्टै जम्मा गरिएको थियो । म फेरि फर्किएर आगो बलेको ठाउँ नजिक जाँदै थिएँ, अंगालोमा दाउरा लिएर दुइजना केटीहरु आए,  आगो बालिएको ठाउँमा दाउरा राखे र आगो ताप्न थाले, हसिला केटीहरुसंग एकछिन गफिएं उनीहरु पनि पोर्चुगलकै रहेछन् ।

    साँझको साढे चार बजिसकेको थियो, मैले सोधे यो सुनसान जंगलको छेउमा राती तपाईहरुलाई डर लाग्दैन ? के को डर ? केटीले त प्रतिप्रश्न पो गरीन् । सबैजना गए भने त सुनसान हुन्छ, अनि जंगली जनावरको डर हुन्छ होलानी । केटीले हास्दै भनि, मान्छे पनि एउटा जनावर नै त हो हैन र ?  आफै बोलीन्, सधै मान्छेकै भिडभाडमा कति बस्नु, कहिलेकाहिँ  त प्रकृतिको काखमा पनि रमाउन जान्नु पर्छ, उनि आगोमा दाउरा थप्न लागिन्, अर्की केटीले मतिर हेर्दै भनिन्, केही साथीहरु हिजो गए, भोलिसम्म हामीहरु पनि हिड्नुपर्छ । जाँदा-जाँदै ति पर्यटकले भने- “समय छ भने भोलि पनि आउ है, हामी दुई- चार दिन यतै छौं,” हवस भन्दै हामी बिदा लिएर त्यहाँबाट फर्कियौं।

    गडाको वल्लो छेउतिर अरु दिदी बहिनीहरु बसेका थिए, छेवैमा ४-५ जनाको एक पारिवारिक समूहजस्तो टिम थियो । देउडा खेलेको भिडियो क्लिप बनाइ रहेका थिए । छेउ-छाउतिर अरु मान्छेहरु पनि थिए । उनीहरुले हामीलाई रोकेर सोधे उ त्यहाँ के-के पाइन्छ ? कहाँ ? मैले सोंधे,  उ त्यो पसलमा, उसले पर्यटकको पालतिर देखाउँदै भन्यो,  मैले भने त्यो पसल होईन,  त्यहाँ बिदेशी पर्यटकहरु बसेका छन् । कहाँका हुन् पर्यटक ? यहाँ पालामा किन बसेका ? एउटा ३०-३२ बर्षको जस्तो देखिने मान्छे सोधीरहेका थिए । त्यही ग्रुपको एक मान्छे सरासर त्यही पालतिर गयो, मसंगैको सानो भाई अछामी लवजमा बोल्यो, ‘पर ति गया ति ल्याउदा भया त्यहाको रैबार’ ।

    आन्तारिक पर्यटक पनि असन्तुष्ट 

    आन्तरिक पर्यटक उक्त समूहका एक जनालाई मैले सोधे- तपाईहरु कताबाट आउनुभएको ? उनले भने हामी त टाढैबाट आएका हौँ, टाढाको पनि नाम त हुन्छ होला नी, कि भन्न मिल्दैन मैले पुनः प्रश्न गरे, नाई-नाई हामी अछामी त अछामी हुँ तर घर धनगढी, काम जुम्ला, यो संस्थागत टिम हो, दशैंको छुट्टी मनाउन यता पुगियो, हामी यतै बस्छौँ, ति अगाडिका होटेलहरुमा, हामी आएको एक हप्ता भयो, अब केहि दिनमा जानपर्छ, उनि थप बोल्न खोज्दै थिए । अनि कस्तो लाग्यो त रामारोशन ? मैले बिच्चैमा प्रश्न गरेँ । राम्रो, राम्रै लाग्यो उनले भने । केही कमेन्ट होलानि ? मैले सोधेँ, उनि अक्मक्कीदै बोले, प्राकृतिक रुपमा धेरै राम्रो तर……. तपाई कताबाट आउनुभएको ? आफ्नो कुरा बिचमै रोकेर मलाई सोधे, म यतैको स्थानिय मैले भने, त्यै त बाहिरको मान्छे जस्तो लाग्छ फेरी आँसी (हँसिया) समात्नु भएको छ । यहाँको बारेमा मलाइ सोध्नु हुन्छ कन्फ्युज भैयो।  होइन म यतैको मान्छे हो भन्दै अघिकै कुरा सोधे, प्राकृतिक रुपमा धेरै राम्रो तर के भन्दै हुनुन्थ्यो ?

    उनले दोहोर्याए प्राकृतिक रुपमा राम्रो छ तर पर्यटकीय क्षेत्र  व्यवस्थित बनाउने काम चाही छिटो सुरु गेरको भए हुन्थ्यो कि भन्ने हो । किन व्यवस्थित छैन र ? तालमा राफ्टिङ छ अनि हिडेर आउनेहरुलाई बाटो पनि ठिकै जस्तो लाग्छ मलाई त, मैले भने । ठिकै हो भन्दै उनि ढुंगैढुंगा भरेको मैदान तिर हेर्दै अल्लि छेउमा गएर थुचुक्क बसे र केहि भन्न खोज्दै थिए तर हामीलाई अलि हतार थियो । त्यहाँबाट हिडेर घर पुग्न कम्तिमा २ घण्टा लाग्थ्यो, उतै साढे ४ बजिसकेको थियो । यति गफ गरिसक्दा एउटा अलि पाको उमेरको दिदी लगाएत अरु दुई तिन जना पनि गफ सुन्दै नजिकै बसिरहेका थिए । सबैसँग बिदा मागेर हामी छुट्टीयौं।

    अलिकति जंगल हिडीसकेपछि रंगाडे ताल पुगीन्छ, ताल पुग्नै लाग्दा अघिकै दिदीहरु भेटिनुभयो । अझै जुत्ता हातमै थियो, जुत्ता हातमा बोकेर खाली खुट्टा हिड्दै हुनुन्छ त के समस्या होला दिदीको ? मैले हिंड्दाहिड्दै सोधेँ, उहाँले अलि अप्ठ्यारो मान्दै भन्नु भयो ‘अलि-अलि हिल भएको जुत्ता लगाउँ भनेको खुट्टै भचिएला जस्तो पो हुँदै छ, ढुंगा पनि कति चिसो हो । साँझको ढुङ्गा हिउँमै टेके जतोपो हुँदैछ’ ! अनि दिदी कताबाट आउनुभएको नि ? मैले सोधें । उनको जवाफ- हामी साफेबगरबाट । फेरि सोधे आज यतै बस्नुहुन्छ ? उनले जवाफ फर्काइन आज बसम्ला त भन्या हो तर गइ हाल्नुपर्छ, किन एकदिन बसेर आरामले घुमेर जानु पर्ने नि ? मैले सोधेँ । उनले मुख बंग्याउदै भनिन, पुग्यो गाडी छँदै छ गइहाल्ने, मैले अलि मुस्कुराउँदै फेरी प्रश्न गरेँ किन तपाइलाई रामारोशन राम्रो लागेन र ?  उनले लामो स्वास लिदै एकछिन अडिएर भनिन्- राम्रो छ तर राम्रो बनाइएको छैन ।

    उहाँ उभिएको अर्को छेउ तिरको सानो चोत्राको सानो झाडीमा दुईटा पानीका खाली बोत्तल थिए, भुइमा प्लास्टिकका पोकाहरुमा फोहोर थियो, दिदीले ढुंगामा लट्ठी कटकट गर्दै सांकेतिक जवाफ दिनु भयो । अर्थात् लठ्ठीले त्यही फोहोर देखाउनुभयो । सुरुमा तपाईलाई देख्दा मलाइ गीता दिदी (पत्रकार गीता कुवँर) जस्तै लागेको थियो नि, मैले बिषय मोडे, उहाँले हास्दै भन्नुभयो मलाइ धेरैले गीता नै सोच्छन् ।

    मैले अछामी लवजमा हतारो जनाउँदै भने- लौ त निकारी जाया हामीलाई ता गाउँ पुग्नु पड्न्या छ बाइजादा भयौँ । उहाँले अच्चम्म माने झैँ निधार खुम्च्याउँदै भन्नुभयो ‘तपाइँ रामारोशनकै मान्छे हो र’ ? हो नि मैले हाँस्दै भने ।

    प्रतिक्रिया