काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको दमनात्मक गतिविधिप्रति तीव्र आक्रोश प्रकट गर्दै आततायी शासकहरूलाई अब एक मिनेट पनि सत्तामा रहन नदिने आग्रह गरेका छन्। हाल कारागारमा रहेका उनले सोमबार एक भावुक सन्देश सार्वजनिक गर्दै जेनजी प्रदर्शनमाथि भएको सरकारी दमनलाई “नेपाली इतिहासको सबैभन्दा कालो दिन” को रूपमा चित्रण गरेका छन्।
लामिछानेले भने, “म स्तब्ध र विक्षिप्त भएको छु, यो नेपाली इतिहासकै सबैभन्दा कालो दिन हो। जेन-जी मात्र होइन, सिंगो देशलाई मेरो अपिल छ– अब आततायीहरूलाई एक मिनेट पनि सत्तामा रहन दिनुहुन्न।” भदौ २३ गतेको दिनलाई उनले नेपाली जनतामाथिको ऐतिहासिक अन्यायको प्रतीक भन्दै सरकारको क्रुर चरित्र उजागर भएको बताएका छन्।
१९ भन्दा बढी विद्यार्थीको ज्यान लिएको र सयौँ घाइते पारेको घटनाले अब यो सरकारलाई कुनै पनि बहानामा माफी दिने ठाउँ नरहेको भन्दै रविले आक्रोश पोखेका छन्। उनले थपे, “आफ्नै बिन्दास संसारमा रमाउने उमेरका जेन-जीलाई सडकमा आउन कसले बाध्य पार्यो ? यिनै आततायीहरूको सनक, कुशासन र भ्रष्टाचारले। यी केवल अयोग्य र भ्रष्ट मात्रै होइन, निर्दयी र क्रुर पनि हुन्। सिपालु सिकारीले चरा मारेझैँ यी शासकहरूले कलिला बालबालिकामाथि गोली चलाए।”
लामिछानेले आफ्नै अपराध र भ्रष्टाचारलाई ढाकछोप गर्न बनेको र बल प्रयोग गरेर टिकाइएको यो सरकार नेपाली इतिहासकै कलंकित अध्यायको रूपमा अन्त्य हुने निश्चित भइसकेको बताएका छन्। अहिलेको समस्या समाधानका लागि रविले यस्तो प्रस्ताव गरेका छन्
१. सकेसम्म छिट्टै जेनजीसहितको अन्तरिम नागरिक सरकार गठन गरिनु पर्छ।
२. २०४६ सालपछि भएका सबै नीतिगत निर्णयहरूको समीक्षा गर्दै त्यताका उच्चपदस्थ तथा उनीहरूको परिवारको सम्पत्तिको छानबिन गर्ने आयोग गठन होस्।
३. आगामी संसद्बाट अनुमोदन हुने गरी संविधान संशोधन, परिमार्जन वा पुनर्लेखनका लागि विज्ञहरूको उच्चस्तरीय समिति गठन गरिनु पर्छ।
४. जेनजी आन्दोलनमाथि भएको दमन र हत्याकाण्डको छानबिनका लागि न्यायिक आयोग गठन भई प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मका अपराधहरूको निष्पक्ष अनुसन्धान होस्।
लामिछानेले जारी गरेको सन्देशले आन्दोलनरत युवाहरूलाई थप उर्जा दिने अपेक्षा गरिएको छ भने सरकारले भने यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन।
प्रतिक्रिया