काठमाडौँ । अन्तरिम सरकार गठन गर्न बिहान ९ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा बोलाइएको वार्ता दिउँसो दुई बजेका लागि सरेको छ । राष्ट्रपति कार्यालय स्रोतले आन्तरिक तयारीका लागि भन्दै दुई बजेलाई सारिएको जानकारी दियो ।
अन्तरिम सरकार गठनका लागि बिहीबारदेखि राजनीतिक दल, संविधानविद्, कानुनविद् र जेनजी प्रतिनिधिहरूसँग राष्ट्रपति पौडेलले वार्ता गरिरहेका छन् ।
अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा सहमति बने पनि संविधानले तोकेको प्रक्रिया कसरी पूरा गर्ने भन्नेमा अझै अन्योल छ ।
बिहीबार मध्यरातबाट सुरु भएको सर्वपक्षीय छलफल शुक्रबार बिहान ३ बजेसम्म चले पनि कार्कीलाई अन्तरिम सरकारको नेतृत्व कसरी दिने भन्ने विषयमा कुरा मिलेन । संविधानअनुसार प्रधानमन्त्री प्रतिनिधिसभा सदस्य हुनुपर्ने प्रावधानका कारण वार्ता सहमतिमा पुग्न नसकेको स्रोतहरू बताउँछन् ।
जेनजी आन्दोलनका युवाहरूले संसद् विघटनलाई मुद्दा बनाएका छन् । राष्ट्रपति पौडेलले बिहीबार संविधानको धारा ६१ (४) अन्तर्गत रहेको ‘बाधा अड्काउ फुकाऊ’ प्रावधान प्रयोग गर्न सक्ने/नसक्ने विषयमा संविधानविद् भीमार्जुन आचार्य, विपिन अधिकारीलगायतसँग छलफल पनि गरेका थिए।
यसैबीच कानुनविद्हरुसँग परामर्श भइरहेको समयमा जेनजी अभियन्ता सुदन गुरुङलाई पनि शीतल निवास बोलाइएको छ । जेनजी प्रतिनिधिहरू पनि संविधान बमोजिम नै निकास खोज्ने विषयमा सकारात्मक रहेकोले आजै अन्तरिम सरकार गठन हुने देखिएको छ ।
प्रतिक्रिया