काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले जेन-जी समूहको आन्दोलनमा १९ जनाको मृत्यु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै कडा शब्दमा आलोचना गरेका छन्। सोमबारको आन्दोलनलाई नियन्त्रण गर्ने क्रममा काठमाडौँमा १७ र इटहरीमा २ जनाको ज्यान गएको घटनाले देशभर आक्रोश बढेको छ।
बालेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्रीलाई ‘आतंकवादी’सम्मको संज्ञा दिएका छन्। उनले भनेका छन्, “तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुझ्थिस । यस्तो आतंकवाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस्, त आतंकवादी होस्।”
उनको यस पोस्टमा छोटो समयमै लाखौं प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन्। ७२ हजारभन्दा बढी कमेन्ट र ६१ हजार सियर भएको तथ्यांकले मेयरको वक्तव्य सामाजिक सञ्जालमा कत्तिको छाएको छ भन्ने प्रष्ट हुन्छ। बालेनको अभिव्यक्तिलाई आन्दोलनमा संलग्न युवाहरूले खुलेर समर्थन गरेका छन्।
उनीहरूले सरकारको निर्णय र सुरक्षा निकायको बल प्रयोगका कारण निर्दोष युवाहरूले ज्यान गुमाउनु परेको भन्दै मेयरको धारणा ‘जनताको पक्षमा उभिएको साहसिक कदम’ भएको बताएका छन्। तर, सत्तारुढ दल निकट नेताहरू भने बालेनको टिप्पणीलाई ‘अनुचित’ र ‘राजनीतिक उचाल’ भएको भन्दै आलोचना गरेका छन्। उनीहरूले प्रधानमन्त्रीमाथि व्यक्तिगत आक्षेप लगाउनु भन्दा पनि जिम्मेवार तहमा संवाद र समाधान खोज्नुपर्ने तर्क गरेका छन्।
सरकारले गत १९ भदौमा मन्त्रालयस्तरीय निर्णयमार्फत सामाजिक सञ्जाल बन्द गरेको थियो। यसको विरोधमा विशेषगरी जेन-जी पुस्ता सडकमा उत्रिएको थियो। आन्दोलन चर्किँदै जाँदा राजधानीलगायत विभिन्न शहरमा ठूलो संख्यामा भिड जम्मा भएको थियो। विरोध प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरीसँगको झडप बढ्दै गएपछि १९ जनाको ज्यान गएको हो।
यही घटनाले देशभर सरकारविरुद्ध असन्तोष बढाएको छ। अन्ततः दबाब थेग्न नसकेर सरकारले सोमबार नै मन्त्रिपरिषद् बैठकमार्फत सामाजिक सञ्जाल खोल्ने निर्णय गरेको छ। बालेनको पोस्टले अहिलेको राजनीतिक परिस्थिति थप तातिएको संकेत दिएको छ। सरकारको निर्णयप्रति असन्तोष, आन्दोलनकारी युवाहरूको चर्को प्रतिवाद, र मेयरको आक्रामक टिप्पणीले मुलुकमा उत्पन्न भएको अस्थिरता अझै बढ्न सक्ने देखिएको छ।
प्रतिक्रिया