काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको नयाँ र भव्य केन्द्रीय कार्यालय निर्माण गरिने घोषणा गरेका छन्। जेन-जी आन्दोलनका क्रममा कोटेश्वरस्थित पेरिसडाँडामा रहेको पार्टी केन्द्रीय कार्यालयमा आगजनी भएको थियो।
सोमबार त्यस स्थलको अवलोकनपछि प्रचण्डले पार्टीको नयाँ भवन सिंगो पार्टीपंक्ति र देश–विदेशमा रहेका सदस्यहरूको सहयोगमा बन्ने बताए। तर उनले नयाँ कार्यालय कहाँ निर्माण गर्ने भन्ने विषय खुलाएका छैनन्। प्रचण्डले भने, “क्षति त भयो, तर अब हामी सबैको सहयोगमा भव्य भवन निर्माण गर्नेछौँ।” उनले अवलोकनका क्रममा बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटरहरू सुरक्षित रहेको जानकारी पनि दिए।
ती सामग्री जोगाउन भूमिका खेलेका कर्मचारी र कार्यकर्ताहरूलाई उनले धन्यवाद ज्ञापन गरे। यो अवलोकनसँगै जेन-जी आन्दोलन सुरु भएपछिको पहिलो पटक प्रचण्ड सार्वजनिक रूपमा देखिएका हुन्। आन्दोलनका समयमा उनी सेनाको सुरक्षा घेऱामा रहेका थिए।
केही दिनअघि मात्रै सेनाको ब्यारेकबाट बाहिरिएका प्रचण्ड अहिले आफन्तको घरमा बस्दै आएका छन्। जेन-जी प्रदर्शनकै क्रममा प्रचण्ड बस्दै आएको खुमलटारस्थित निवासमा समेत आगजनी भएको थियो। साथै उनकी छोरीहरू गंगा र रेनु दाहालको घर तथा अन्य नेताहरूका निवासमा पनि तोडफोड र आगजनी भएको थियो।
आज पेरिसडाँडा पुगेका प्रचण्डले सरसफाइमा संलग्न कार्यकर्ताहरूसँग केही समय बिताए र त्यसपछि शहीद स्तम्भमा माल्यार्पण गरेका थिए।
प्रतिक्रिया