• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कला साहित्य

    सदाबहार पर्व हो प्रेम

    17K
    SHARES

    एक व्यक्तिले अर्को व्यक्ति वा प्राणी विशेषसंग नि:स्वार्थ रुपले समर्पित भई माया गर्नुलाई प्रेम भनिन्छ। प्रेम आफैसंग वा फरक व्यक्तिसंग हुनसक्छ, त्यसैले प्रेम भावनात्मक सम्बन्धको प्रारुप पनि हो। जहाँ आफु तल वा माथी रहेको हेक्का हुदैन, फाइदामा जोड र बेफाइदामा घटाउ गरिदैन, लिनुमा नाफा र दिनुमा घाटाको पश्चाताप सोचिदैन र त्यस्तै जीत वा हार के भो भन्ने प्रतिफल अपेक्षित हुदैन। प्रेममा न स्वार्थ हुन्छ न केहि प्राप्त गर्ने लोभ जहाँ साँचो र निश्चल प्रेम हुन्छ, त्यहाँ संसारका असम्भव प्राय लाग्ने हरेक सुखानुभूति सम्भव छन्।

    प्रेमलाई एक दुई अर्थ वा परिभाषामा खुम्च्याएर हेर्नु, निश्चित परिभाषाको जघेरामा संकुचित पारेर बाँध्नु, यसको महिमा माथीको अन्याय ठहरिन्छ। तसर्थ, प्रेम क्षितिज हो, सर्वोपरि छ। यसको व्यापकता न त नाप्न सम्भव छ नत तौलन नै। प्रेममा प्रेम प्राप्ति लोभ शून्य हुन्छ, त्यसो नभएर यदि प्रेममा प्रेम प्राप्ति लोभ हाबि हुन्छ भने त्यो त स्वार्थ मात्र हो। कसैलाई नि:स्वार्थ, निसन्देह माया, स्नेह र आदर गर्नु नै सहि अर्थमा प्रेम हो।

    भन्ने गरिन्छ कि कसैबाट सुख र मान सम्मान प्राप्त गर्नुछ भने र प्रेम पाउनु छ भने सुख नखोजौँ, मान सम्मान नखोजौँ र प्रेमको आशा नगरौँ। बरु सुख दियौं, मानसम्मान गर्यौँ, प्रेम गर्यौँ भने यी सबै कुरा स्वय आफ्नो दैलोमा आउँछन्। ‘विनाश काल विपरीत बुद्धि’ भनेजस्तै रिस, डाहा, घृणाले मानिसलाई विनाश अर्थात अन्त्यको बाटोमा डोर्याउँछ। तर प्रेमले जीवनलाई सहि दिशावोध गर्दछ। जो मान्छे महान हुन्छ उसमा रिस, डाहा र घृणा रत्तीभर पनि हुदैन, उसले त संसारलाई प्रेमको दृष्टिले हेर्दछ। उसको यस्तै प्रेमिल आचरणले उ महान बन्दछ।

    प्रेमको यहि सर्वव्यापकताले गर्दा नै यो संसार चलायमान सावित छ। त्यसैले त बाबुआमाले छोरा छोरीलाई गर्ने सहृदयी प्रेम, छोराछोरीले आमाबुवा प्रति गर्ने आदरपूर्ण माया, साथीभाई, ईष्टमित्र, दाजुभाई र दिदीबहिनी बीच हुने स्नेही प्रेम, प्रकृति र वातावरणसंगको अटुट सानिध्यता, जनावरप्रतिको भावात्मक प्रेम अनि केटा र केटी बीच हुने अनमोल प्रेम। यी सब उदाहरणको एउटै आशय हो, प्रेम संसारको कणकणमा छ। जहाँ हृदयले प्रेमको आभास पाँउछ यो स्वचालित हुन्छ। जसको फलस्वरूप विश्व व्रह्माण्ड नै प्रेमको स्वरूप समाहित हुन्छ। आफ्नो राष्ट्र प्रतिको प्रेम र कर्तव्य प्रतिको प्रेम सवैभन्दा माथी हुन्छ।

    यदि यो संसारमा प्रेम नामको सर्वव्यापी चिज अस्तित्वमा नभएको भए यो संसार एउटा निर्जीव सृष्टिमा मात्र सिमित रहन्थ्यो। यसको सर्वव्यापकताले गर्दा नै संसार टिकिरहेको छ। त्यसैले प्रेम गर्नु भन्दा पहिले सारा विश्वलाई नै प्रेमको अमूल्य एवं अतुलनीय कोसेली अर्थात सौगात मानौं; प्रेमको स्फटिक अर्थलाई अन्तरमनले नियालौं, आत्मसात गरौँ र निस्वार्थ प्रेम गरौँ।

    प्रेमको अर्थ खोज्ने प्रयासमा सदियौँ देखि कयौँ विद्वानहरु जुटिराखेका भए पनि अझैसम्म यसको परिभाषा एक वाक्यांशमा सिमित हुन सकेको छैन। न त एक वाक्यमा प्रेमको पूर्णरूप नै स्पष्ट भएको छ। त्यसैले प्रेम अनेक छ तर अनेकतामा ‘प्रेम’ एकताको प्रतीक छ। कोहि बलवानले निर्धोलाई गर्ने अन्यायका बिरुद्ध कसैलाई उभ्याउन र सहानुभूति सहित अन्याय बाट उन्मुक्त गर्न सेतुको भुमिका निर्वाह गर्दछ भने त्यो प्रेम हो।

    बीच बाटोमा असहाय अवस्थामा ढलिरहेको बिरामीलाई कसैले अस्पताल पुर्याइदिन्छ र उसले उपचार पाउँछ भने प्रेमको अनुपम रुप त्यहाँ पनि जागृत भएको पाउन सकिन्छ। म र मेराहरुका लागि मात्रै भनेर सोच्ने मानव जगतरुपी विषका बीच निस्कने चञ्चल, कञ्चन अनि निर्मल भावयुक्त अमृतको झरना हो प्रेम। यसले सवैलाई आदर्श जीवन जीउन, अरुलाई स्नेह गर्न, दीनदु:खीहरुको परोपकारमा तल्लीन हुन र यो समस्त पृथ्वी प्रति नै मायालु बन्न अभिप्रेरित गर्दछ।

    यो भ्रम भन्दा बाहिर हुन्छ। तर मानिसहरू आफैँ भ्रमित भएर हिँड्छन् र प्रेम नै भ्रम हो भन्छन्। यसो हुनु उनीहरुको प्रेमलाई केवल एक वा दुई चिजमा मात्र खोज्नु र त्यही पाउने कोशिशमा लाग्नु हो। तर, जब उनिहरुले पाएनन् फलतः प्रेमलाई नै भ्रम ठाने। यदि उनिहरुले प्रेमको सर्वव्यापकता बुझिदिए यस भ्रमबाट उनिहरु बाहिर निस्किए सारा व्रह्माण्डलाई नै प्रेमको प्रतीक देख्दथे।

    भनिन्छ जहाँ लक्ष्मी अर्थात धनको बास हुन्छ त्यहाँ भौतिक सुख सुविधाका वस्तु आर्जन गर्न सहज हुन्छ तर जहाँ प्रेमको बास हुन्छ त्यहाँ अरु सुख सुविधाका वस्तुहरु तुच्छ मात्र हुन्छन्। प्रेम सदाबहार पर्व हो, यसले जीवनका हरेक आयामहरुलाई रमाइला अनि अविस्मरणीय पलहरुद्वारा सुशोभित अनि सुसज्जित गर्न पूर्णतः भुमिका निर्वाह गर्दछ। भलाई र त्यागमा छ प्रेम। छोटोमा प्रेम समृद्ध छ, किन कि, यसमा सुख र शान्ति छ।

    प्रेमको रुप सर्वव्यापी छ, क्षितिज जस्तै अनन्त छ, असंख्य छ, असिमित छ। यसलाई सिमित परिधिमा मात्र कैद गर्नु मुर्खतापूर्ण छ। यसको महिमा अपरम्पार छ। प्रेम अमूल्य छ।

    लेखक: लोक राज भट्ट
    कार्यरत: श्री नागार्जुन (प्राविधिक) माध्यमिक विद्यालय शर्माली, बैतडी
    पद: बरिष्ठ कृषि प्रशिक्षक

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ