काठमाडौँ । आफूलाई ‘उग्रवादी समूह’को अध्यक्ष दाबी गर्ने एक युवकले सामाजिक सञ्जालमार्फत उच्च पदस्थ व्यक्तिहरूलाई ज्यानमार्ने धम्की दिएपछि प्रहरीले राजधानीमा सुरक्षा व्यवस्थालाई कडा पार्दै सर्कुलर जारी गरेको छ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले बिहीबार काठमाडौँ, भक्तपुर र ललितपुरका सबै प्रहरी युनिटहरूलाई पत्र पठाउँदै धम्की सूचीमा परेका १० हाइप्रोफाइल व्यक्तिहरूको आवास क्षेत्र, भ्रमण मार्ग तथा कार्यक्रम स्थलमा विशेष निगरानी राख्न निर्देशन दिएको हो।
धम्की पाउने व्यक्तिहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित पूर्व मुख्यसचिव लोकमान सिंह कार्की, पूर्व एनआरबीएमडी गोपाल बहादुर खड्का, पूर्वमन्त्री रमेश लेखक, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, आरजु राणा, पूर्वआईजीपीहरू ओमविक्रम राणा र हेमबहादुर गुरुङ, पूर्व एआइजी रमेश चन्द्र ठकुरी तथा व्यवसायी दुर्गा प्रसाईं रहेका छन्।
सामाजिक सञ्जालमा आफ्नो परिचय “एक्ट्रिमिस्ट ग्रुप अफ नेपाल” का अध्यक्षका रूपमा दिंदै युवकले ती व्यक्तिहरूलाई ‘१० दिनभित्र सफाया गर्ने’ चेतावनी दिएको भिडियो सार्वजनिक गरेपछि सुरक्षा निकाय सतर्क बनेको हो। भिडियोमा उनले अख्तियार प्रमुखलाई ‘तत्काल राजीनामा देऊ’ भन्दै अल्टिमेटमसमेत दिएका छन्।
प्रहरी स्रोतका अनुसार भिडियो बनाउने युवकबारे तथ्य–थप अनुसन्धान भइरहेको छ। काठमाडौंका एसएसपी रमेश थापाले धम्कीपूर्ण गतिविधि आपराधिक श्रेणीमा पर्ने भन्दै अनुसन्धान तीव्र पारिएको बताए।
युवकले आफू भारतमा रहेको र ‘पकडमा पर्न नसक्ने’ दाबी गर्दै अर्को भिडियोसमेत सार्वजनिक गरेको छ। तर उक्त दाबीको सत्यता पुष्टि भइसकेको छैन।
प्रतिक्रिया