• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तर्वार्ता

    चुनावमा सहकार्य गर्नेबाहेक दायाँबायाँबाट विप्लवसँग एकता हुँदैन- लेखनाथ न्यौपाने

    25.8K
    SHARES



    काठमाडाैं । प्रचण्डमा सैद्धान्तिक र वैचारिक विचलन आएको आरोप लगाउँदै एघार वर्षअघि माओवादीबाट अलग भएका नेत्रविक्रम चन्द‘विप्लव’ अहिले आएर फेरि प्रचण्डसंगै नजिकिएका छन् । उनीहरूबीचको बढ्दो निकटताले माओवादी नेता तथा कार्यकर्तालाई निकै हौस्याएको पनि छ ।

    उपाध्यक्ष कृष्णबहादुर महराको विशेष पहलमा उनी केही दिनअघि घोषणा भएको चार दलीय समाजवादी मोर्चामा पनी सामेल भइसकेका छन् । मोर्चामा विप्लवको आगमनसँगै हौसिएका प्रचण्डले पार्टी एकतामा आए महासचिव बनाउन सकिने कुरा आफू निकट नेतामार्फत गरेका छन् ।

    चुनाव उपयोग गर्ने रणनीति बनाएका प्रचण्ड र जनविद्रोहमार्फत सत्ता कब्जा गर्ने रणनीति बनाएका विप्लवबीच देखिएको निकटताबारे राजनीतिमा विभिन्न अड्कलबाजी हुन थालेको छ । गएको निर्वाचनपछि राजनीतिमा नयाँ नयाँ दल र पुस्ता हावी हुँदा माओवादी केन्द्र संकटमा पर्दै गएको छ ।

    पछिल्लो समय निर्वाचनलाई उपयोग गर्ने रणनीति बनाएका विप्लवको पार्टी नेकपा आफैं आन्तरिक द्वन्द्वमा फसेको छ । द्वन्द्वकालीन मुद्दाले सर्वोच्च अदालतमा प्रवेश पाएपछि माओवादी घटकहरू तर्सिएका छन् । कुनै बेला प्रचण्डलाई विदेशी प्रतिक्रियावादीहरूको दलाल करार गरेका विप्लव नै पछिल्लो समय प्रचण्डको बचाउमा सबैभन्दा बढी बोल्ने गरेका छन् ।

    प्रस्तुत छ- यी २ शीर्ष नेताबीचको बढ्दो निकटता, समाजवादी मोर्चा घोषणा, वामपन्थी एकता, माओवादीको भविष्य लगायत विषयमा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेसँग कुराकानी  ।

    ढिलोचाँढो उहाँ आउनुहुन्छ । उहाँसहित माओवादी घटक एक ठाउँमा आउनुको विकल्प छैन । विप्लवकै नेताहरू एकीकरण गर्ने हो भने पहिला पार्टी विभाजनको औचित्य पुष्टि गर्नुपर्छ भनिरहनुभएको छ । तर, परिस्थितिले पूर्वमाओवादी एक ठाउँमा आउनुपर्ने बाध्यता छ, यसलाई कसरी हेर्नुभएको छ ?

    एकता, मोर्चा, गठबन्धन भनेको समस्या र संकट अनुभूति भएपछि गर्ने काम हुन् । उदाहरणका लागि माओावादी केन्द्र २०६४ को जस्तो हुन्थ्यो भने माओवादीबीच एकता हुनपथ्र्यो भनिदैनथ्यो । विप्लवले नेतृत्व गरेको पार्टी पनि आफूले सोचेको अनुसार अगाडि बढेको भए फर्किएर आउने स्थिति हुने थिएन । त्यसकारण तर्कका लागि तर्क गर्ने एउटा कुरा हो । संकट अनुभुति हुँदा एकताबद्ध भएर जानु उपयुक्त हुन्छ ।

    माओवादी सशस्त्र युद्धले लिएको लक्ष्य अनुसार व्यवस्था परिवर्तन नभएपनि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न बल पुर्याएको छ । तर, अहिलेको जनमत हेर्ने हो भने २०८४ को निर्वाचनमा माओवादीले ठूलो क्षति ब्यहोर्ने देखिन्छ । त्यसमा जुन रूपले तपाईंहरूमा गम्भीरता देखिनुपर्ने त्यो देखिएको छैन, किन ?

    २०८४ को निर्वाचनको आंकलन त अलिअलि सुरू भएको छ । लेफ्टहरूप्रतिको अरोप(एमाले)समेत मुद्दा उठाउने छोड्ने, मुद्दामै इमान्दार नहुने भन्ने छ । ती मुद्दा नयाँ आएका दलहरूले उठाइदिएपछि वास्तविक पार्टी यीनीहरू रहेछन् भन्ने जनतामा एकप्रकारको प्रभाव देखिन्छ । मेरो विचारमा लेफ्टहरू एक ठाउँमा आएर चुनावमा भाग लिँदा राम्रो हुन्छ । तर, यसबीचमा हामीले एउटा नकारात्मक नजिर स्थापित गर्यौं । नेकपालाई निरन्तता दिन सकेनौं । त्यसले एक प्रकारको अविश्वास सिर्जना गरेको छ । अब एकता भएपनि त्यतिबेलाको जस्तो लोकप्रिय जनमत प्राप्त हुँदैन । तैपनि आवश्यकताको हिसाबले एक भएर चुनावको तयारी गर्दा राम्रो हुन्छ ।

    विचार, सिद्धान्त, नीति, कार्यदिशा र कार्यक्रम एकतातिर छन् । विद्यमान अवस्थाको मुल्याङ्न गर्दा माओवादी धार रेड जोनमा छन् । त्यो रेडजोन पार गर्न प्रचण्डकै नेतृत्वले सम्हाल्न सक्ने स्थिति छैन । पार्टी एकताको नाममा प्रचण्डले चुनावको उपयोग गर्ने र विप्लवले क्रान्तिको उपयोग गर्न खोज्दा तालमेल कसरी सम्भव हुन्छ ?

    पहिलो विप्लवसँगको एकता भनेको मेरो बुझाइमा शब्दाबली जे प्रयोग गरेपनि चुनावमा सहभागी हुने नै हो । त्यसलाई कार्यनीति भन्दा सेफल्याण्डिङ गर्न सजिलो होला । हामीले त यसलाई रणनीतिकै रुपमा बुझ्ने गरी गइसक्यौं । चुनावमा उपयोग गर्ने नीति कति सहि हो वा कति गलत हो, त्यो समीक्षाको विषय होला । तर चुनावबाट माओवादी केन्द्र दायाँबाँया हुँदैन । एकताबद्ध हुने भनेको शब्दावली मिलाएर स्वीकार गर्ने हो । त्यहाँभन्दा दायाँबायाँबाट एकता हुँदैन । चुनाव बहिस्कार गर्ने, चुनाव केही होइन भन्ने ढंगबाट ती शक्तिहरूसँग माओवादी केन्द्रले एकता गर्दैन । मेरो बुझाइको अनुसार चुनावमा सहभागी हुने गरी त्यसको आधारमा एकता हुन्छ ।

    दोस्रो कुरा संसदीय राजनीति हो । यो परम्परागत राजनीतिभन्दा अलि सुधारिएको देखिन्छ । समानुपातिक, समावेशी हेर्दा केही सुधार आएको छ । तर मूलभूत रूपमा पुँजीवादी संसदीय व्यवस्था भएका हुनाले विचार, आदर्श, गन्तव्य, लक्ष्य केही हुँदैन । लक्ष्य एउटै हुन्छ, जसरी हुन्छ पावरमा जाने । विचार, बहस, अदर्शको गुञ्जायस एकदमै कम हुन्छ । एकतामा आउने पार्टीरूले बुझ्नुपर्छ ।

    भविष्यमा पार्टी एकताको आधारसहित समाजवादी मोर्चा बनेको छ, त्यसको भविष्य कस्तो छ ?

    मेरो विचारमा धेरै सोच विचार गरेर, रणनीति तय गरेर, त्यो रणनीतिमा थुप्रै उदेश्यले यस्ता मोर्चा बनेको होइन । तत्कालीन संकट टार्नका निम्ति मोर्चा बनेका हुन् । त्यो संकट टरेपछि मोर्चा विघटन हुन्छ । २०४६ को जनआन्दोलनको स्थिति हेर्दा होस् या २०६२/६३ को जनआन्दोलनको विषय होस् अथवा नेकपा बन्दाको स्थिति होस् । यी सबैमा साझा उदेश्य सकिएपछि मोर्चा विघटन भएको छ, त्यसकारण यो समाजवादी मोर्चाले अचम्मै गरिहाल्छ भन्ने होइन । यो मोर्चा समाजवादको तयारीको आधार हो भन्ने पनि मलाई लाग्दैन ।

    वैज्ञानिक हिसाबले र संगठनात्मक हिसाबले पनि मोर्चामा सहभागी भएका चारवटा दल आफैभित्र गम्भीर संकटमा छन् । संगठनात्मक हिसाबले लेफ्ट पार्टीको संकट २०८४ सम्म पुग्दा अझ चुलिन्छ । त्योभित्र एमाले पनि पर्छ । त्यतिबेला मोर्चा गुमाउनेमा एमाले पर्छ, मतलब वामपन्थीहरू छरिएर बस्नुभन्दा एक ठाउँमा बस्दा राम्रो हुन्छ । तर, हाम्रो परम्परा, हाम्रो काम गर्ने शैली संस्कृतिको हिसाबले हेर्ने हो भने यसले लामो यात्रा तय गरेको मलाई लाग्दैन ।

    संसदीय अंकगणितलाई हेरेर कांग्रेस र एमालेलाई साइजमा राख्न र प्रचण्ड सरकारलाई लम्ब्याउनका लागि स्वार्थप्रेरित मोर्चा भन्ने आरोप छ नि?

    पहिलो कुरा त संसदीय राजनीतिमा जोडघटाउ हरेक दिन हुन्छ । दोस्रो, ठूलो दल बाहिर छ, त्यो धेरै छट्पटाएको छ । सरकारमा जानलाई नै भनेर ज्यान फालेर लागेका दलहरू पनि छट्पटाइराखेका छन् । सरकारको आयु कांग्रेसको फैसलाले निर्धारण गर्ने हो । अहिलेसम्मको स्थिति हेर्दा कांग्रेस संस्थापन सरकार बनाउने र भत्काउनेमा लाग्दैन जस्तो लाग्छ किनकी ऊ चुनावदेखि नै गठबन्धन गरेर आएको पार्टी हो । सरकार बनाउँदा पनि गठबन्धन गरेको हो । साढे दुई वर्षपछि आफ्नै नेतृत्वमा सरकार बनाउन गठबन्धनमा सहमति भएको छ । सत्तालाई कांग्रेसले प्राथमिकतामा राखेको छैन । त्यसैले प्रचण्डको साढे दुई वर्ष आयु लम्ब्याउन मात्र मोर्चा बनेको भन्न मिल्दैन । यद्यपि त्यसले बल पुर्याउला ।

    विद्यामान अवस्था कायमै रहे २०८४ मा माओवादीको स्थिति कस्तो देख्नुहुन्छ ?

    पहिलो, माओवादी एक्लै चुनाव लडेको भए एउटा क्याल्कुलेसन हुन्थ्यो । माओवादीले २०७० बाट कुनै पनि चुनाव एक्लै लडेको छैन । दोस्रो, वाम नामका दलहरू जनमतका हिसाबले संकटमै देख्छु । एमाले सबैभन्दा बढी संकटमा छ । उसले कसरी लिन्छ ? समाजवादी मोर्चामा बाबुरामसमेत सहभागी हुनुपर्ने हो । संकटका हिसाबले सबैभन्दा बढी बाबुराम छन् । उहाँ सहभागी हुनुपर्ने हो तर भएका छैनन् । यो मोर्चा आगामी चुनावसम्म पार्टी एकता गर्ने गरी अगाडि बढ्न सक्छ कि सक्दैन ? यी विभिन्न आयामबाट हेर्नुपर्छ । एउटा आयमबाट मात्र अडकल गर्न सकिँदैन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ