काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक आज अपराह्न आह्वान गरेकी छन्। बैठक आज साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको हो। प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार, संघीय शासन प्रणालीलाई अझ प्रभावकारी बनाउन र संघ-प्रदेशबीचको समन्वय तथा सहकार्य सुदृढ गर्न बैठक बोलाइएको हो।
बैठकमा संघीय सरकार र प्रदेश सरकारबीच देखिएका नीतिगत तथा प्रशासनिक समन्वयका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री कार्कीले सबै मुख्यमन्त्रीहरूलाई व्यक्तिगत रूपमा निमन्त्रणा पठाएकी छन्।
सहभागी हुने मुख्यमन्त्रीहरूमा कोशी प्रदेशका हिक्मतबहादुर कार्की, मधेश प्रदेशका जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका चेतनारायण आचार्य, कर्णाली प्रदेशका यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका कमलबहादुर शाह रहेका छन्।
बैठकमा प्रदेशहरूबीचको सहकार्य, स्रोत–साधनको वितरण, नीति तथा कार्यक्रमको कार्यान्वयन, र संघीय संरचनाको प्रभावकारिताबारे पनि छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ।
प्रतिक्रिया