• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तर्वार्ता

    छोरीहरूप्रति गरिने अत्यन्त डरलाग्दो व्यवहारले राजनीतिमा आउन प्रेरित गऱ्यो- पुष्पा घर्ती बिष्ट

    26.9K
    SHARES

    पुष्पा घर्ती बिष्ट नेकपा (माओवादी केन्द्र) की केन्द्रीय नेतृसंगको कुराकानी

    राजनीतिमा आउन प्रेरित केले गऱ्यो तपाईंलाई ?
    – म हुर्किंदै गरेको समाज, त्यहाँको संस्कार/संस्कृति, रीति–थितिले नै मलाई राजनीतिक क्रियाकलापतर्फ डोऱ्याएको हो । खासगरी छोरीहरूप्रति गरिने व्यवहारले प्रमुख भूमिका खेलेको छ । मैले थाहा पाउँदासम्म हाम्रो समाजमा मुखियाप्रथा थियो । मुखियाको घरमा गएर काम गरिदिनुपर्ने, छोरीहरू एकदम हेपिनुपर्ने परिवेश थियो । अझ गम्भीर कुरा त त्यहाँ महिलालाई लतार्ने चलन थियो, अर्थात् मनलागेको महिलालाई तानेर/लतारेर जबर्जस्ती लगेपछि उसैसँग बस्नुपर्ने/विवाह गर्नुपर्ने कुरीति थियो । त्यस्तो तानीविवाहसँग मलाई अत्यन्त डर लाग्थ्यो । कतै त्यस्तो कुप्रथाको शिकार म बन्ने त होइन भन्ने डर हरदम लागिरहन्थ्यो । त्यसको त्रासले म जात्रामात्रा पनि जाँदिनथेँ । हाम्रो समाजमा छुवाछुत तथा जातीय भेदभावले पनि निकै जरा गाडेको थियो । यो ठिक होइन भन्ने लाग्थ्यो र माओवादी पार्टीले त्यस्तो कुसंस्कारको विरोध गर्ने गरेको कारण म स्वतः त्यसतर्फ आकर्षित भएँ ।

    आरम्भमा पार्टी-सङ्गठनमा आवद्ध हुँदाको सन्दर्भमा केही बताइदिनुस् न !
    – पार्टी भूमिगत अवस्थामा रहेकोले खुल्ला रूपले साङ्गठनिक गतिविधि गर्नका लागि पार्टीले ‘संयुक्त जनमोर्चा’ नामक वैधानिक मोर्चा बनाएको थियो । सो क्रममा हाम्रो जिल्लाका नेताहरू कालीबहादुर मल्ल, शक्तिबहादुर बस्नेतहरूले ‘जनमुक्ति सांस्कृतिक परिवार’ बनाउनुभएको थियो, त्यसमा म पनि आवद्ध भएँ । त्यतिबेलाको समयमा मादल, झ्याली जस्ता स्थानीय बाजागाजा लिएर सांस्कृतिक कार्यक्रमका लागि गाउँ-गाउँ पुग्दा माहोल नै अर्कै हुन्थ्यो । अहिलेजस्तो परिवेश थिएन, त्यसैले हामीप्रति जनताको आकर्षण विशेष खालको हुन्थ्यो । सांस्कृतिक कार्यक्रममा प्रस्तुत गरिने क्रान्तिकारी गीत, आमूल परिवर्तनको सन्देश दिने गीत तथा नाचगानको प्रभाव राम्रो पर्दथ्यो । यसरी जनता प्रभावित हुँदै जाँदा व्यक्तिगत तवरले म पनि परिवर्तनकामी आन्दोलनप्रति तानिँदै गएँ । पहिले विद्यार्थी सङ्गठनमा सक्रिय थिएँ, अनेमसङ्घ (क्रान्तिकारी)को नेतृत्व तहमा पनि रहेँ, लामो समय पार्टी सङ्गठनमा आवद्ध हुँदै पछि जनमुक्ति सेनामा जोडिएर कमाण्डिङ गर्ने स्थानसम्म पनि पुगेँ ।

    घर नै छोडेर कहिले निस्कनुभएको थियो ?
    – हाम्रो पालामा माघ महिनामा एसएलसी परीक्षा हुन्थ्यो । २०५२ सालको माघ अन्तिम साता एसएलसी परीक्षा सकाएर घर फर्किंदा जनयुद्ध सुरु गर्ने दिन ‘फागुन १’ परेको थियो । गाउँ त पुगियो तर गाउँभरि प्रहरीको धरपकड र दमन सुरु भइसकेको रहेछ । पहिले नै खबर पाएर म त्यतैबाट ‘साइड’ लागेको थिएँ ।

    द्धकालसँग जोडिएका घटना/सन्दर्भहरू त तपाईंसँग बग्रेल्ती होलान्, शान्तिसम्झौता भएर मूलधारको राजनीतमा जोडिएपछि तपाईं समानुपातिक पद्धतिबाट प्रदेशसभा सदस्य एवम् कर्णाली प्रदेशसभाको उपसभामुखसम्मको जिम्मेवारी सम्हाल्ने स्थानमा पनि पुग्नुभयो, उपसभामुख हुँदाको अनुभव केही सेयर गरिदिनुस् न !
    – म सांसद् भएको पहिलो कार्यकालमै उपसभामुख भएकोले अनुभवको हिसाबले त अन्योलता र चुनौती ठूलै थियो । मुलुक भर्खरै सङ्घीयतामा गएको र नयाँ परिपाटी तथा परिवेशमा विनाअनुभव काम गर्नुपर्दा नौलो अनुभूति त हुने नै भयो । कार्यालयमा कुर्सीसम्म थिएन, आफैले कर्मचारीलाई भनेर टेबुल-कुर्सी ठड्याउनुपरेको थियो । सभामुख, मुख्यमन्त्री सबैको हालत त्यस्तै नै थियो, आफ्नो कार्यालयको संरचना आफैले खडा गरेर काम सुरु गर्नुपर्ने ! फेरि, बाहिरबाट हेर्दा समस्या र समाधानको बाटो पनि अर्कै देखिन्छ तर भित्र छिरेर काम गर्न त सोचेजस्तो नहुने रहेछ । प्रदेशले आफ्नो अधिकार र कर्तव्य पहिचान गरेर खाका बनाउनुपर्ने अवस्था थियो, अझै पनि साझा अधिकार र एकल अधिकारको बहस जारी नै छ भने सुरुमा त जटिल हुने नै भयो । जे होस्, सांसदले जनताका समस्याका कुराहरू संसद्मा अधिकतम रूपमा उठाउन सकुन् भन्ने ध्येयका साथ अनुकुल माहोल निर्माण गर्न हामीले भरमग्दूर प्रयत्न ग¥यौँ । दलहरूबीच मित्रता हुँदा त काममा सहजता नै रहन्थ्यो, तर दलबीच तिक्तता नहुँदा चाहिँ अनेक ब्यवधान ब्यहोर्नुपर्थ्यो ।

    उपसभामुख जस्तो उपल्लो जिम्मेवारीमा रहेर काम गर्दा महिला भएकै कारण असहज या सहज भएको कुनै अनुभव छन् कि ?

    – महिला भएकै कारण असहज नै महसूस गर्नुपर्ने अवस्था आइपरेको अनुभव मसँग चाहिँ भएन, छैन । सायद त्यो पद नै त्यस्तै भएर हो कि ? अँ.., पदीय हिसाबले त्यस्तो नभए पनि सामान्य व्यवहारमा चाहिँ महिला भएकै कारण अर्कै व्याख्या गर्न खोजिने, अलिक हेपेर व्यवहार गर्न खोजिने अवस्था भने आमरूपमा रहेकै छ ।

    आफू पदमा हुँदा यो काम गर्न सकिन्थ्यो तर गर्न पाइएन/सकिएन भन्ने कुनै त्यस्तो खट्किएको कुरा छ कि ?

    – नयाँ संरचनामा गएको हुँदा गर्नुपर्ने काम त धेरै थिए । भौतिक संरचनादेखि कानुनी र व्यवस्थापनका कुरा पनि यावत थिए । सबै गर्न भ्याइएन, सकिएन । तर हामीले यत्ति काम गर्न नसकेकोले बर्बाद नै भयो भनी पछुतो मान्नुपर्ने सन्दर्भ पनि खास छैन । किनकि, नयाँ व्यवस्थामा गर्नुपर्ने काम-कुरा त कति छन् कति, जो अझै प्रक्रियामै छन् । यो क्रमशः हुँदै जाने, खारिँदै जाने विषय हो ।

    तपाईंहरू चरणवद्ध रूपमा खटेर आजको स्थानसम्म आइपुग्नुभएको छ, तर आजकाल त चिन्दै नचिनेका मानिसहरू रातारात एकैचोटि माथि पुगेका देखिन्छन्, यो महसूस गर्नुभएको छ ?

    – हो, हामीले मसिना-मसिना काम गर्दै अघि बढ्यौँ, अहिले भने एकैचोटि पद चाहिने होडबाजी देखिएको छ । हामी पार्टीले दिएको जिम्मेवारी पूरा गर्न इमानदारीका साथ कटिबद्ध हुन्थ्यौँ, हुँदै आएका छौँ । म त्यत्तिका समय पार्टीको काममा होमिएँ, तर अध्यक्ष कमरेड प्रचण्डलाई शान्तिप्रक्रियामा आएपछि मात्र देखेकी हुँ । आजकाल त उच्च तहका नेतासँग नजिकिएर स्वार्थपूर्ति गर्ने प्रवृत्ति बढेको छ । यस्तो प्रवृत्ति ठिक होइन भन्ने लाग्छ ।

    अप्ठ्यारो अवस्थामा काम गरेर अनुभव हासिल गरेका तपाईंजस्ता व्यक्तिहरू अहिले पछि पारिए जस्तो लाग्दैन ?

    – नयाँ जिम्मेवारी प्राप्त भए विगतका अनुभवलाई सदुपयोग गरेर अझै परिस्कृत काम गरी मुलुकको लागि योगदान पु¥याउन सकिन्थ्यो भन्ने त लाग्छ नै । तर सबैले सांसद हुर्नैपर्ने, मन्त्री पाउनैपर्ने भनेर हानथाप गर्न पनि त मिल्दैन नि ! त्यस्ता पदभन्दा बाहिर रहेर पनि देश र जनताको लागि काम गर्न सकिन्छ र, हामीजस्ता राजनीतिकर्मीको दायित्व व्यापक रहन्छ भन्ने लाग्छ मलाई । तथापि, दलहरूले जिम्मेवारी दिँदा अनुभवी र नयाँ दुवैलाई मिलाएर दिन सके कार्यपरिणाममा थप गुणात्मकता आउँथ्यो कि भन्नेचाहिँ मलाई पनि लाग्छ ।

    तपाईं जीवनको कलिलो उमेरदेखि नै राजनीतिक अभियान र युद्धमै समेत होमिनुभयो । विवाह पनि युद्धकालमै गर्नुभयो । यस्तोमा पार्टी-सङ्गठनको काम, युद्ध-मैदानको कर्तव्य अनि घर-परिवार व्यवस्थापनको सामन्जस्यता कसरी मिलाउनुहुन्थ्यो ?

    – अप्ठ्याराहरू त कति हो कति, तमाम व्यवधान थिए तर परिवेश वा परिस्थितिले त्यसको सामना गर्न पनि सिकाउँदोरहेछ । म त काखमा बच्चा बोकेरै जाजरकोटदेखि दार्चुलासम्म पुग्नुपऱ्यो । डडेलधुरा, डोटी, कन्चनपुर सबैतिर पुगेर काममा खटिएँ म । कति पटक बमबारी भएकै अवस्थामा पनि काखको बच्चासहित बच्न सफल भएँ । पछि १८ महिनाको बच्चा घरमा छोडेर मैले जनमुक्ति सेनाको बटालियन कमिसारको जिम्मेवारी सम्हालेको थिएँ ।

    त्यसबेला त्यसरी कष्ट झेलेर युद्ध मैदानमा खटिँदा कस्तो सपना देख्नुभएको थियो र आज देशको अवस्था देख्दा कस्तो महसूस भइरहेछ नि ?

    – कि मुक्ति कि मृत्यु भनेर हामी युद्धमा लागेका थियौँ । वर्गविहीन समाज, छुवाछुत र भेदभाव नभएको र श्रमको सम्मान हुने परिवेशको कल्पना गरेका थियौँ । त्यो खालको समाज निर्माण गर्ने, सुन्दर राज्य-व्यवस्था स्थापना गर्ने सोच अनि उद्देश्य थियो त्यस समयमा, र त हामी ज्यानकै परवाह नगरी होमिएका थियौँ । तर, समय-परिस्थितिले युद्ध छोडेर शान्ति-सम्झौतामा आउनुपऱ्यो, संसदीय परिपाटीमा जोडिएर आज निजी जीवन बाँच्ने परिवेशमै अल्झिनुपर्दा कस्तो-कस्तो त लाग्छ नै, अब के होला भन्ने खुल्दुली पनि मनमा जाग्छ नै ! तथापि, यो पनि वर्ग सङ्घर्षको अर्को एउटा रूप हो भन्ने बुझाइ छ हाम्रो । प्रकारान्तरले हामी सङ्घर्षमै छौँ भन्ने लाग्छ । युद्धबाट सोझै परिवर्तन भन्ने सोचलाई बदलेर कानुनी प्रावधान अँगालेरै पनि समाजलाई परिवर्तन गर्न सकिन्छ, समृद्ध तुल्याउन सकिन्छ कि भनी हामी हेरिरहेका छौँ अहिले । घटना र बिचारबाट

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ