• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु, मन्त्री शर्माले गरिन् उद्घाटन

    7.6K
    SHARES



    काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघको आयोजनामा आजदेखि क्यान इन्फोटेक – २०२३ सुरु भएको छ । भृकुटीमण्डपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रदर्शनी मंगलबार उद्घाटन गरेकी हुन् ।

    सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले आयोजित प्रदर्शनी माघ २९ गतेसम्म चल्नेछ ।

    प्रदर्शनीमा सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक, मोबाइल तथा मोबाइल एक्सेसरिजलगायत कम्पनीका दुई सयभन्दा बढी स्टल राखिएका छन् ।

    मन्त्री शर्माले के भनिन ?

    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी डेटा सेन्टरहरुको मुख्य साँचो सरकारसँग नभएको बताएकी छिन् । सरकारले आफ्नै सूचनाप्रविधि (आईटी) कम्पनी खोल्नुपर्ने आवश्यकता औंल्याउँदै उनले सरकारी तथ्यांकहरुको सुरक्षामा माथि प्रश्नहरु रहेको स्वीकारिन् ।

    मेलाको उद्घाटन गर्दै सूचनाप्रविधिमा सरकारले केही काम गर्नुपर्दा बाहिरबाट जनशक्ति ल्याउनु परिरहेको र नेपालको जनशक्ति भने बाहिर गइरहेको बताइन् ।

    ‘मैले के बुझें भने हामीसँग थुप्रै डेटा सेन्टर छन्, त्यसको सुरक्षा र मुख्य साँचो (मेन कि) हामीसँग छैन ,’ उनले भनिन्, ‘हामी राष्ट्रियताको कुरा गर्छौं, त्यसलाई कसरी बचाउन सक्छौं ? मन्त्रालयहरुको सम्वेदनशील सफ्टवेयर त छ, त्यसको मुख्य कुरा कहाँ छ भन्ने कुरा हामीलाई नै थाहा छैन ।’

    मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको पनि दावी गरेकी छन् । मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले आवश्यक कानुनहरु निर्माणका लागि तत्काल संसदमा पेश गर्ने तयारी गरिरहेको उल्लेख गर्दै त्यसका लागि सुझाव दिन पनि सम्वद्ध सबै पक्षलाई आग्रह गरिन् ।

    उनले भनिन्, ‘नेपाल सरकारले सूचना प्रविधिको क्षेत्रमा हामीले गर्नुपर्ने लगानी, हामीले गर्नुपर्ने सहयोग, हामीले गर्नुपर्ने कुराहरु के-के हुन्छन भन्ने कुरामा पनि एउटा छलफल जरुरी छ भन्ने मलाई लागेको छ । हाम्रो क्यान महासंघकै तर्फबाट अघि अनौपचारिक रुपमा थोरै कुरा भएको छ ।’

    मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढन पनि निजी क्षेत्रलाई आह्वान गरिन् ।

    उनले भनिन्, ‘मन्त्रालयबाट हामीले यस क्षेत्रमा गर्न सक्ने सहयोगहरु के के हुन सक्छन ? कमजोर अवस्था भएकाले धेरै सहयोग गर्न नसकौला । तर पनि केही न केही त यस क्षेत्रमा गर्नैपर्ने हुन्छ । यसका निम्ति यहाँहरुका आइडियाहरु, सुझावहरु पनि मन्त्रालयले प्राप्त गर्न सकोस् । त्यसका निम्ति पनि ध्यान दिनुहुनेछ भन्ने आग्रह गर्न चाहन्छु।’

    उनले सरकारसँग सम्बन्धित निकायले पनि यस क्षेत्रको कामलाई अपेक्षित ढंगले अघि बढाउन नसकेको स्वीकार गर्दै त्यस काममासम्बन्धित सबैको ज्ञान, सीप र अनुभवको उपयोग गर्न जरुरी रहेको समेत बताइन्।

    उनले भनिन्, ‘हामी यस क्षेत्रसँग सम्बन्धित कानुनहरुको बारेमा छलफल गरिरहेका छौं । हामी यस क्षेत्रको सम्बन्धित कानुनहरु छिटोभन्दा छिटो संसदमा लैजाने, पारित गर्ने र यस क्षेत्रलाई व्यवस्थित गर्ने भनेर हामी लागि रहेका छौं । त्यसकारण यसका लागि आवश्यक कानुनहरुको विषयमा पनि यहाहरुको सुझावको अपेक्षा गरेका छौं ।

    माघ २५ देखि २८ गतेसम्म हरेक दिन आइसिटी सेमिनार सञ्चालन गरिने पनि आयोजक क्यान महासङ्घले जनाएको छ । क्यान इन्फोटेकमा विभिन्न प्रविधिका वस्तु तथा सेवाको ब्रान्डिङ, प्रडक्ट लन्चिङ, विद्यार्थीका लागि आइटी करियर काउन्सिलिङलगायत कार्यक्रम समावेश गरिएको छ ।

    यसपटकको प्रदर्शनीमा नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई प्राथमिकतामा राखिएको र करिब साढे ३ लाखले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ