• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    नेपाल बैंक र वाणिज्य बैंकद्वारा लाभांश घोषणा

    2.2K
    SHARES



    काठमाडौँ। दुई सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडको साधारणसभा पुस अन्तिम साता हुने भएको छ ।

    दुवै बैंकको सञ्चालक समिति बैठक गत बुधबार बसेको थियो । ती बैंकहरूका सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश अनुमोदनका लागि साधारणसभामा लैजाने बताएका छन् ।

    वाणिज्य बैंकको सञ्चालक समिति बैठकले बैंकको १७ औँ वार्षिक साधारणसभा यही पुस २८ गते गर्ने जनाएको छ भने नेपाल बैंकले पुस २९ गते ६३ औँ वार्षिक साधारणसभा गर्ने बिहीबार जारी सूचनामा उल्लेख गरिएको छ ।

    वाणिज्य बैंकले गत असार मसान्तसम्मको नाफा-नोक्सान, सोही अवधिको नगद प्रवाह तथा शेयरधनी कोष परिवर्तनको विवरणलगायत वित्तीय विवरण पारित गर्ने प्रस्ताव साधारणसभामा लिदै छ । बैंकले २०७९ असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको ७.५० प्रतिशत नगद र पाँच प्रतिशत बोनस शेयर लाभांश दिँदैछ । यो प्रस्ताव पनि अनुमोदनका लागि साधारण सभामा लगिने भएको छ ।

    गत असार मसान्तसम्ममा वाणिज्य बैंकको चुक्ता पुँजी रु १३ अर्ब ९४ करोड तीन लाख ५९ हजार ९९ बराबर रहेको छ । उक्त चुक्ता पुँजीको सात दशमलव ५० प्रतिशतका दरले हुन आउने रु एक अर्ब चार करोड ५५ लाख २६ हजार नौ सय बराबर नगद लाभांश वितरण गर्ने स्वीकृति दिने प्रस्ताव साधारण सभामा लगिँदैछ । त्यस्तै, बैंकका सेयरधनीलाई चुक्ता पुँजीको पाँच प्रतिशतले हुन आउने रु ६९ करोड ७० लाख १७ हजार नौ सय ५४ बराबर बोनस सेयर लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पनि साधारणसभामा लगिने बैंकले जनाएको छ ।

    वाणिज्य बैंकमा सरकारले सेयर पुँजीका रुपमा लगानी गरेको रु एक अर्ब बैंकको जारी पुँजी र चुक्ता पुँजीमा थप गर्ने प्रस्ताव पनि साधारण सभामा लग्ने जनाइएको छ । बैंकले पुस १८ गते बुक क्लोज (शेयरधनी दर्ता पुस्तिका बन्द) गरिसक्नेछ ।

    त्यस्तै, नेपाल बैंकले पुस २९ गते साधारणसभा गर्दैछ । बैंकको प्रधान कार्यालय धर्मपथमा आयोजना हुने साधारणसभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पेश गरिनेछ । त्यस्तै, बैंकको गत असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश र दुई प्रतिशत बोनस सेयर दिने प्रस्ताव सञ्चालक समितिमा लगिँदैछ ।

    गत असार मसान्तसम्ममा नेपाल बैंकको चुक्ता पुँजी रु १४ अर्ब ४० करोड ५९ लाख चार हजार आठ सय ३१ बराबर थियो । यो चुक्ता पुँजीको दश प्रतिशतका दरले हुन आउने रु एक अर्ब ४४ करोड पाँच लाख ९० हजार चार सय ८३ नगद लाभांश र दुई प्रतिशतका दरले हुन आउने रु २८ करोड ८१ लाख १८ हजार ९६ रकम बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि सञ्चालक समितिमा लगिने भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ