• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विचार-ब्लग

    संसदीय संशोधनवादी विषबमनका विरुद्ध

    27.6K
    SHARES



    ‘जुन कुरा व्यक्तिमाथि लागू हुन्छ त्यही कुरा केही आवश्यक संशोधनसहित राजनीति र पार्टीमाथि पनि लागू हुन्छ । बुद्धिमान त्यो होइन जसले कहिल्यै पनि गल्ती गर्दैन । यस्तो मानिस न कहीँ हुन्छ, न हुनसक्छ । बुद्धिमान त्यो हो जसले धेरै गल्ती गर्दैन र जसले गल्तीहरूलाई सजिलै र छिट्टै सच्याउन समर्थ हुन्छ ।’
    – लेनिन, ‘वामपन्थी’ साम्यवाद : एक बालरोग– १९२०, प्रगति प्रकाशन मस्कोद्वारा सन् १९६६ मा प्रकाशित लेनिन सङ्कलित रचनाहरू, अङ्ग्रेजी संस्करण, ग्रन्थ ३१, पृष्ठ ३५–३६ ।

    कमरेड विप्लवमाथि जुन कुरा लागू हुन्छ त्यही कुरा केही आवश्यक संशोधनसहित उहाँको पार्टी र राजनीतिमाथि पनि त लागू हुन्छ । एकदुईपटक तपाईंंले गल्ती गर्नुभयो र लेनिनको निर्देशनअनुसार चल्ने लेनिनवादी भएकाले हामीले आलोचना ग¥यौँ । हामीले त तपाईंंलाई बुद्धिमान नै हुनुहन्छ भन्ने ठानेर त्यसमा आत्मालोचनाको अपेक्षा गरेका थियौँ तर तपाईंंले बहुमतका अगाडि घुँडा टेकेर संसदीय व्यवस्थाको चुनावमा पार्टी दर्ता गरी भाग नलिने र त्यसको भन्डाफोर गर्ने भनेको त केन्द्रीय समितिलाई टारेर मनमौजी निर्णय गर्ने रहेछ । आखिर स्थानीय चुनावमा केन्द्रीय समितिका सदस्यहरूसहित गहतको झोलमा कम्युनिस्ट पार्टीको इज्जत डुबाउनुभयो । हामीले गल्ती थपियो है भनेर फेरि आलोचना ग¥यौँ र कञ्चन-सुदर्शनलाई पार्टीबाट निष्कासन गरी बहुमतमाथि कोर्रा चलाउनुभयो ।

    बहुमतले तपाईंंको तानाशाहीका विरुद्ध विद्रोह गर्नु मालेमावादी अधिकार थियो । हामीले नेपाल कम्युनिस्ट पार्टीको विशेष राष्ट्रिय भेला गरी उक्त पार्टीको विघटन र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को पुनगर्ठन ग¥यौँ । त्यसमा हामीले तपाईंं र तपाईंको मण्डलीको कडा आलोचना गर्दै भन्यौँ-दार्शनिक दृष्टिकोणले सारसङ्ग्रहवादी, चिन्तनशैलीको हिसाबले निम्नपुँजीवादी-स्वच्छन्दतावादी, राजनीतिक हिसाबले संसदीय संशोधनवादी, सांस्कृतिक रूपले अराजकतावादी, साङ्गठनिक दृष्टिबाट निषेधात्मक अधिभूतवादी, सङ्घर्षको कोणबाट आत्मसुरक्षावादी र आर्थिक कोणबाट जुझारु अर्थवादी । हामीले यी आरोपहरू तथ्यका आधारमा लगाएका छौँ । यी गल्तीहरूलाई स्वीकार्नुको सट्टा कात्तिक ५ गते आफ्नो मुखपत्रमा ‘दुई घातक हमलाका विरुद्ध सङ्घर्ष’ शीर्षकको आफ्नो लेखमा विषवमन गर्दै श्री विप्लवले लेख्नुभएको छ :

    ‘सुदर्शन-कञ्चनहरूले जुन दर्शन, राजनीति, अर्थतन्त्र र एकीकृत जनयुद्धको चर्चा गरिरहेका छन्, त्यहाँ मालेमावाद छैन । सुदर्शनहरूमा केवल अधिभूतवाद छ, यान्त्रिक भौतिकवाद छ, आर्थिक तथा सङ्गठनात्मक अराजकतावाद, षड्यन्त्रवाद, रूढिवाद र विसर्जनवाद छ । यिनी कहीँ पुग्ने अवस्था पनि छैन । यो प्रवृत्तिले क्रान्तिको तर्क गर्नु भनेको हुटिट्याउँले खुट्टा फर्काउनुभन्दा पनि तुच्छ छ ।’

    उहाँले यति मात्र संश्लेषण गर्नुभएको छैन । हाम्रो पार्टीका संयोजक क. कञ्चनमाथि एकजना अमेरिकी प्राध्यापकसँग भेटेर आफ्नो कार्यदिशा एकीकृत जनक्रान्तिको व्याख्याले ‘मोहित’ बनाएको भनी एकातिर आफ्नो कार्यदिशा सही रहेको पुष्टि गर्न खोज्नुभएको छ भने अर्कोतिर शङ्काको धुवाँ उडाउन खोज्नुभएको छ । अर्को ठाउँमा यस्तो गम्भीर आरोप लगाउनुभएको छ, ‘उनीहरूको यो हमलापछाडि अमेरिकी साम्राज्यवादी र भारतीय साम्राज्यवादी तत्वहरूको भूमिका पनि कुनै न कुनै रूपले संलग्न छ भन्नेमा कुनै द्विविधा छैन ।’ उहाँमाथि तेस्रो आरोप छ, ‘उनले काठमाडौँमा डेरा हालेछन्, राष्ट्रपति बोकेर फर्केछन् । वैज्ञानिक समाजवाद पढाउन गएको नेता त राष्ट्रपति बोकेर फर्केछन् । वैज्ञानिक समाजवाद पढाउन पठाएको नेता त राष्ट्रपतिको भूत लिएर आएछन् ।’ ‘चुनावका विषयमा पनि कञ्चनको सहमति नै थियो ।’

    यस्तै सुदर्शनमाथि लगाइएका आरोपहरूको सूची यस्तो छ : ‘लिनप्याओवादी’, ‘समानुपातिक सांसद नपाएर रिपोर्टर्स क्लबमा रोएको’, ‘प्रचण्डको हनुमान’, ‘कारबाहीमा परेको बेला सडकमै पुगेको मान्छे नेकपामा आएपछि यसको प्रतिष्ठा भँजाएर करोडपति भएको’, ‘जेलमा अनेक मान्छेलाई भेटेर वार्ताको संयोजक बन्न खोजेको तर आफूले इन्कार गरेको’, ‘वार्ताटोली बनेपछि त्यसको संयोजकलाई विश्वास नगरेको’, ‘रिहाइ भएपछि पार्टी पङ्क्तिलाई धन्यवाद दिनुको सट्टा पार्टीभित्रैबाट गिरफ्तार गराएको भनी आरोप लगाएको’, ‘जेलभित्रै क्रान्ति र पार्टी छोड्ने, पार्टी फुटाएर क्रान्तिलाई धोका दिने तथा क्रान्ति र नेतृत्वलाई बदनाम गर्ने, दुस्मनसामुन्ने जिम्मा लिएको’,…‘होइन भने एनसेलमा जिम्मा लिने सुदर्शन छुट्ने तर हामीले भाग लिएका होइनौँ भन्ने कार्यकर्ता आजसम्म नछुट्ने कसरी हुन्छ ?’, ‘२०७८ सालको दसैँमा जाजरकोट, रुकुम र दाङमा प्रशिक्षण गर्दा चुनावमा भाग लिन सकिन्छ भनेको’, ‘मध्यकमान्डमा आएपछि आफू एक्लो हुँदा र जेलमा परेर कमजोर हुँदा सजातीय विपरीतको एकत्वलाई अधिभूतवादी देख्न थाले’, ‘पार्टीले धेरैपटक विश्वास नगर्न भनेका व्यक्तिलाई काखी च्यापेकै कारण उनको संलग्नतामा गिरफ्तार परेको’, ‘हुन पनि उनी कति एकोहोरे डेब्रे छन् भने आफ्नो अगाडिको साथी कता पुग्यो, सालको ठुटोलाई साथी भनेर १० मिनेट हामीलाई ठिङ्ग उभ्याएका थिए’, ‘…हाम्रो दृष्टिमा यो माक्र्सवादी अर्थशास्त्र नभई सुदर्शनशास्त्र हो’, ‘सुदर्शनहरूले खुब सर्वहारा संस्कृतिको कुरा गर्दछन्, यो सर्वहारा संस्कृति नभई सुदर्शन संस्कृति हो’, ‘सुदर्शनमा माओवादीकालको आर्थिक अराजकता मध्यकमान्डमा छिरेसँगै छताछुल्ल भयो’…इत्यादि ।

    यसरी नै हाम्रो पार्टीको कार्यालय सदस्य दीपकलाई सरकार र नेकपाको ३ बुँदे सहमतिका सन्दर्भमा यस्ता आरोपहरू लगाइएका छन्: ‘वार्ताका लागि दीपकले सुरुमा सातबुँदे सरकारी प्रस्ताव ल्याएका थिए । ती पार्टीलाई आत्मसमर्पण गराउने खालका थिए’, ‘अन्तिममा सबै मिल्यो तर एउटा दुई नम्बर बुँदामा शान्तिपूर्ण रूपले राजनीतिक गतिविधि गर्नेछौँ भन्नेमा ‘वैधानिक’ भन्ने शब्द राख्न खुब जोड गरेका थिए । यो शब्दमा दीपक सहमत पनि भइसकेका थिए तर मैले टुङ्गो नलगाउन भनेँ र प्रकाण्डलाई काठमाडौँ पठाएर त्यो शब्द हटाउन भनेँ ।’

    हाम्रो पार्टीका कार्यालय सदस्य क. गुणराज लोहनीलाई यो आलेखमा लगाएको आरोप यस्तो छ : ‘यो (अन्नपूर्णको पैसा) पैसाको दोषी भने सुदर्शन नभएर गुणराज थिए । यस्ता निकृष्ट, अधर्मी या अनैतिकहरूका बारेमा भन्नु बेकार छ ।’ अर्कोतिर घातक हमला गर्ने दलाल पुँजीवादी सत्ताप्रति ‘तीनबुँदे सहमति पालन नगरेको’, ‘नेतृत्वलाई पक्राउ पुर्जी जारी गरेको’, ‘एमसीसी र एसपीपीविरुद्धको सङ्घर्षलाई शासकहरूले त्रसित र सशङ्कित ढङ्गले हेरेको’, ‘घेरा हाल्ने र सखाप पार्ने नीति लिएको’, ‘मालिकहरूलाई खुसी पार्ने, महाधिवेशनलाई बिथोल्ने र पार्टी चुनाव उपयोगका पक्षमा जान चाहे पनि भाग लिन नसक्ने बनाउने उद्देश्यका साथ घटना घटाइएको छ’ जस्ता गुनासो पोखिएको छ ।

    आदरणीय पाठकवृन्द ! देख्नुभयो त एउटा ‘मालेमावादी’ को बीभत्स लेखनशैली ! श्री विप्लवजी कुनचाहिँ विचारधारात्मक आलोचना हो र कुनचाहिँ शत्रुतापूर्ण हमला हो भन्ने कुरा थाहै पाउनुहुन्न । विचारमा यो समस्या भएकाले व्यवहारमा कुमार पौडेलका हत्यारालाई निशाना लगाउँदा उहाँको हृदयमा स्नेह पलाउँछ र अहिलेसम्म बाँचिरहेको छ भने टुकलाल पुनमाथि निर्मम तरिकाले घरेलु हतियार बर्साएर हत्या गर्न तयार हुनुहुन्छ । लेखनमा हेरौँ न, दुस्मन शक्तिमाथि प्रहार गर्दा चुनाव उपयोग गर्ने वातावरण नबनाइदिएको गुनासो मात्र गर्नुहुन्छ भने विचारधारात्मक आलोचकलाई निर्मम प्रहार गरिरहनुभएको छ । एकीकृत जनक्रान्तिमा संसदीय व्यवस्था जोडी शान्तिपूर्ण तरिकाले वैज्ञानिक समाजवाद ल्याउन सकिन्छ भन्ने कुरालाई उहाँ द्वन्द्ववाद भन्नुहुन्छ । प्रचण्डको भौतिकवाद र अध्यात्मवादको संयोजन गर्ने कुरालाई लिएर विप्लवले ‘महापतन’ नामक किताब लेख्नुभएको छ । उहाँ पनि मुखमा भौतिकवाद र व्यवहारमा कुनै ‘ज्ञानीगुनी’ ले जपेको कालो औँठी लगाएर प्रतिबन्धपछि प्रचण्डकै महापतनको बाटोमा प्रवेश गर्नुभएको छ । प्रधानलाई सहायक र सहायकलाई प्रधान बनाउनु; शत्रु र मित्र नछुट्ट्याउनु, नमिल्ने सिद्धान्तहरूलाई घालमेल पार्नु यही नै सारसङ्ग्रहवाद हो । त्यसकारण जसले धेरै गल्ती गर्छ र आफ्नो गल्तीलाई छिट्टै सच्याउन असमर्थ हुन्छ, त्यो बुद्धिमान मानिस होइन । आखिर विप्लवजी खोक्रो बुद्धि भएको सारसङ्ग्रहवादी नै साबित हुनुभएको छ ।

    विप्लव कमरेड, विचारधारात्मक तथा राजनीतिक आरोप लगाउँदा कम्तीमा बम बनाउने भाँडोमा बारुद, गोली, फ्युजवायर र डेटोनेटरको मात्रा मिलाएर त राख्नुहोस् । रित्तो भाँडोलाई बम भनेर फ्याँक्ने कुरा त कसैलाई आतङ्कित पारेर नाजायज फाइदा उठाएजस्तै हुन्छ ।
    त्यसमा तपाईंकै विरुद्ध विद्रोह गर्ने क्रान्तिकारीहरूले कुन कुरा शब्दाडम्बर हो र कुनचाहिँ वास्तविकता हो भनी छुट्ट्याउन सक्छन् त ! तपाईंका पुङ न पुच्छरका पदावलीको थुप्रोले को डराउँछ र ? शब्दहरूको उपयोग गर्दा पनि आवेग र विवेकको द्वन्द्ववादलाई मिलाउनुपर्दछ । विवेक नियन्त्रित आवेग हुनुपर्दछ । मनपरी शब्द प्रहार गर्दा आफैँमाथि चोट लाग्ने सम्भावना बढी रहन्छ ।

    हाम्रो पार्टी र यसका नेताहरूमाथि किटेरै अमेरिकी साम्राज्यवादी र भातीय साम्राज्यवादी तत्वहरूको संलग्नतामा आफूमाथि ‘हमला’ गरेको आरोप तथ्यहीन तर्क रहेको छ । विप्लवजीले माओवाद साँच्चै ग्रहण गर्नुहुन्छ भने माओको निर्देशन ‘अनुसन्धानबिना बोल्ने अधिकार छैन ।’ अमेरिकी प्राध्यापक त तपाईंलाई भेट्न आएको हो । तपाईंले अन्तर्राष्ट्रिय विभागका प्रमुख क. कञ्चनलाई पठाउनुभयो । यसैलाई आधार मान्ने हो भने अमेरिकी साम्राज्यवादी तत्व त तपाईंसँग संलग्न रहेको छ । आधार अर्को कुनै हो भने तपाईंंले अब संलग्न तत्वहरू को-को हुन् र कहाँ छन्, त्यो खोल्नुपर्दछ । साम्राज्यवादी तत्वको संलग्नताको आरोप ख्यालठट्टाको विषय होइन । जे भने पनि मैले भने भइहाल्छ भन्ने भनाइ त निरङ्कुश राणाशासक जङ्गबहादुरको हो ।

    क. विप्लव, तपाईंलाई हामीले केही सैद्धान्तिक विचलन हुँदाहुँदै पनि क्रान्तिकारी कित्तामै राखेका थियौँ । तर हमीले त तपाईंलाई अब जङ्गबहादुर भन्नुपर्ने हुन्छ । यो बोलाइ त ‘जङ्गे बोल्यो-बोल्यो’ भन्नेसँग मिल्दो छ । त्यसकारण भर्खरै आफूसँगै रहेका साथीहरूलाई आरोप लगाउँदा समालिएर बोल्नुपर्ला विप्लव कमरेड । तपाईंंलाई नाङ्गेझार पार्ने हो भने त अर्को ‘महापतन’ लेख्नुपर्ने हुन्छ । हामीसँग प्रमाण र तथ्यहरूसहितका तर्कहरू छन् । तपाईंको रौँचिरा नालीबेली थाहा पाएका साथीहरू त हामीसँगै हुनुहुन्छ । आफू सिसाको घरभित्र बसेर बाहिर पत्थर नबर्साउनु नै बुद्धिमानी होला ।

    अर्को कुरा, एकीकृत जनक्रान्तिको व्याख्याद्वारा अमेरिकी प्राध्यापक मोहित भएको थियो भने पनि मख्ख हुन आवश्यक छैन । यो कुरा त प्रचण्ड अमेरिका गएर तत्कालीन राष्ट्रपति जर्ज बुससमक्ष माओवादी जनयुद्धको व्याख्या गरेपछि बुस मोहित भएजस्तै वा भारत गएर प्रवचन दिँदा इन्द्रकुमार गुजरालले ‘यस्तो नेता त भारतमा जन्मनुपथ्र्यो’ भनेजस्तै हो । त्यसकारण हामी माक्र्सवादीहरूले रूपलाई मात्र हेरेर निर्णय गर्नु हुँदैन, बरु सारमा के हुन्छ भन्ने आधारमा निष्कर्ष निकाल्नुपर्दछ । एउटा अमेरिकी प्राध्यापकलाई अमेरिकी स्वार्थअनुसार एकीकृत जनक्रान्ति राम्रो लागेर जुरुक्क उठी ठीक छ भनेको हो कि कूटनीतिक पारा मिलाएको हो, त्यो पनि बुझ्न सक्नुपर्दछ ।

    एकीकृत जनक्रान्ति फौजी कार्यदिशा हो वा राजनीतिक कार्यदिशा भन्ने कुरा विप्लवले अहिलेसम्म स्पष्ट पार्नुभएको छैन । कम्युनिस्ट न्युक्लियस, नेपाल र नेपाल कम्युनिस्ट पार्टी-माओवादीबीच एकता वार्ताको अन्तिममा पुगेपछि एकीकृत जनक्रान्ति ‘सामरिक कार्यदिशा हो’ भनेर विप्लवले स्वीकार गर्नुभएको हो । कम्युनिस्ट न्युक्लियस नेपालले आफ्नो भेलाद्वारा राजनीतिक कार्यदिशा वैज्ञानिक समाजवाद र फौजी कार्यदिशा समग्र जनयुद्ध भनी पारित गरेको थियो । वैज्ञानिक समाजवादमा विप्लवहरू विश्वस्त भएपछि र एकीकृत जनक्रान्तिमा हामी विश्वस्त भएपछि नै पार्टी एकता भएको थियो । हामी एकीकृत जनक्रान्तिमा विश्वस्त हुनुको कारण समग्र जनयुद्धसँग मिल्ने व्याख्याले गर्दा हो । तर २०७४ मा एक सैन्य भेला गरी ‘एकीकृत सैन्य रणनीति’ पारित गरियो ।

    त्यही प्रसङ्गमा मैले विप्लवजीलाई ‘यो त समानान्तर सैन्य कार्यदिशा भएन र ?’ भनी सोध्दा ‘समानान्तर होइन, पूरक हो’ भनी जबाफ दिएपछि मैले त्यसलाई सैन्य कार्यक्रम होला भनी बुझेँ । त्यसमा खालि विश्वको सैन्यस्थिति र नेपालको सैन्यस्थितिबारे खिचडी विश्लेषण गर्दै खिचडी सैन्य रणनीति बनाइएको छ । त्यसमा कुनै स्पष्ट बाटो छैन । त्यसकारण एकीकृत जनक्रान्तिलाई न सैन्य कार्यदिशा भनेर त्यहाँ स्पष्ट व्याख्या गरिएको छ, न त राजनीतिक कार्यदिशाका रूपमा । अर्कोतिर वैज्ञानिक समाजवादको पनि स्पष्ट व्याख्या गरिएको छैन । सँगै हुँदा हामीले एकीकृत जनक्रान्तिलाई फौजी र वैज्ञानिक समाजवादलाई राजनीतिक कार्यदिशाका रूपमा व्याख्या गरिरहेका थियाँै तर त्यसलाई विप्लवजीले मुखले ठीक हो भने पनि औपचारिक रूपमा न स्वीकृत गर्नुभएको थियो, न अस्वीकृत । त्यसकारण उहाँको कार्यदिशा, कार्यक्रम र कार्यनीतिमा कुनै बुझाइको एकरूपता, स्पष्टता र क्रमबद्धता नै छैन । कार्यदिशा र कार्यक्रमको अर्थ-सामाजिक र अर्थ-राजनीतिक आधार पनि स्पष्ट पारिएको छैन । त्यसकारण उहाँ अज्ञानताको पनि त्यत्तिकै रोगी हुनुहुन्छ । विषयवस्तुबारे ज्ञान नभए पनि भएको स्वाङ पार्न सिपालु हुनुहुन्छ ।

    जहाँसम्म कञ्चनले अहिले सशस्त्र सङ्घर्ष सफल हुन नसक्ने भएकाले राष्ट्रपतीय प्रणालीको प्रस्ताव ल्याएको भन्ने कुरा छ, त्यसमा कुनै दम छैन । विप्लवजीले जनमतसङ्ग्रहको नारा ल्याएपछि कञ्चन कमरेडले राष्ट्रपतीय प्रणाली वा त्यस्तो शासकीय स्वरूपको कुरा उठाउनुभएको हो । पछि उहाँले वैज्ञानिक समाजवादअन्तर्गत शासकीय स्वरूप के हुनसक्छ भनी चर्चा गर्ने क्रममा जननिर्वाचित व्यवस्थापिका, जननिर्वाचित न्यायपालिका र जननिर्वाचित कार्यपालिकाको बहस गर्ने क्रममा राष्ट्रपतिको प्रसङ्ग उठेको हो ।

    तेस्रो कुरा, उहाँ संसदीय व्यवस्थाअन्तर्गत हुने निर्वाचन उपयोग गर्न सहमत हुनुभएको भए त तपाईंसँग विद्रोह नै गर्नुहुन्नथ्यो होला । संसदीय व्यवस्थाअन्तर्गत हुने निर्वाचन आजका सन्दर्भमा कम्युनिस्टहरूलाई विचलनमा पु¥याउने अखडा बनेको छ भनेर नै आठौँ केन्द्रीय समितिको बाह्रौँ बैठकमा तपाईंलाई पार्टीले भाग नलिने नीति तय गराउन बाध्य बनाएको थियो । त्यो प्रक्रियामा क. कञ्चनको नेतृत्वदायी भूमिका रहेको छ । मैले र उहाँले उक्त बैठकमा स्टालिनको यो संश्लेषण पनि उद्धृत गरेका थियौँ– ‘डुमाको चुनावमा भाग लिने कार्यनीतिले नजानिँदो ढङ्गले जारशाही डुमालाई बलियो बनाउन, जनसमुदायको क्रान्तिकारी भावनालाई कमजोर बनाउन, जनसमुदायको क्रान्तिकारी चेतनालाई धमिल्याउन, कुनै पनि क्रान्तिकारी सङ्गठन निर्माणका लागि असमर्थ बनाउन र सामाजिक जीवनको विकासमा छेकबार खडा गर्न मद्दत गर्दछ । त्यसकारण सामाजिक जनवादीद्वारा यसको खारेजी गरिनुपर्दछ ।’ -राज्यडुमा र सामाजिक जनवादी कार्यनीति, जे.भी.स्टालिन–१, पृ.१२६ ।

    नेपालका सन्दर्भमा स्टालिनको यो संश्लेषण सही साबित भएको छ । विप्लवको संसदीय चुनाव उपयोगले त झन् संसदीय संशोधनवादको मुकुन्डो च्यातिएको छ । नेपालका सन्दर्भमा र विश्वका सन्दर्भमा पनि संसदीय चुनावको उपयोग गर्ने कुनै पनि कम्युनिस्ट पार्टी फर्केर क्रान्ति गरेको देखिँदैन । त्यसकारण यो साधारण कार्यनीति होइन, बरु रणनीतिलाई असर पार्ने कार्यनीति हो । त्यसकारण क. कञ्चन यो संश्लेषणमा अडिग हुनुहुन्छ ।

    सुदर्शनमाथि लगाइएका आरोपहरूको सूची भने लामो छ । पहिलो कुरा त विप्लव कमरेडले जानी-जानी लेखनमा पनि सारसङ्ग्रहवादी गल्ती दोहो¥याइरहनुभएको छ । हाम्रो पार्टीको संयोजक कञ्चन हुनुहुन्छ, सुदर्शन होइन । सुदर्शन-कञ्चन भनेर मुख्यलाई सहायक र सहायकलाई मुख्य बनाउने काम गर्नुभएको छ । यसलाई सारसङ्ग्रहवादी आदत भन्नु सही होला । आरोपहरूको सूचीबाट सर्वप्रथम श्री विप्लवजीले लगाएको दार्शनिक आरोपलाई पहिलोमा राखौँ : सुदर्शनले ‘मध्यकमान्डमा आएपछि आफू एक्लो हुँदा र जेलमा परेर कमजोर हुँदा सजातीय विपरीतको एकत्वलाई अधिभूतवादी देख्न थाले ।’ विसं. २०७३ को फागुन १ गतेदेखि १० गतेसम्म भएको आठौँ महाधिवेशनको पृष्ठभूमि र महाधिवेशनकै दौरानमा मालेमावादी दर्शनको सही व्याख्या र विकासका विषयमा सामान्य छलफल चलिरहेकै थियो ।

    त्यस महाधिवेशनमा श्री विप्लवजीले भौतिकवादी द्वन्द्ववादको नियमअनुसार सबै वस्तुहरू विपरीतहरूका एकत्व हुन् भन्ने कुरा पार्टीमा लागू हुन्छ कि हुँदैन भन्ने प्रश्न उठाउनुभयो । हामीले दर्शनमा विकास गर्नैपर्दछ भन्ने उहाँको जोडबल थियो । छलफलका प्रक्रियामा हामी के निष्कर्षमा पुगेका थियौँ भने विजयी वैज्ञानिक समाजवादमा प्रतिक्रान्ति र सफलताको सन्निकट क्रान्तिहरूमा असफलताका कारण मौलिक माक्र्सवादलाई पकड्न नसक्नु र आजको परिस्थितिअनुसार यसको विकास गर्न नसक्नु हो । मालेमावाद विज्ञान भएकाले यसको विकास गर्नुपर्दछ । भौतिकवादी द्वन्द्ववादलाई माक्र्स-एङ्गेल्सले खुट्टाको भरमा उभ्याइदिनुभयो जसलाई हेगेलले टाउकाको भरमा उभ्याएका थिए । त्यसका साथै उहाँहरूले यसलाई आलोचनात्मक र क्रान्तिकारी बनाउनुभयो जसले गर्दा यसमाथि कुनै पनि चीज हाबी हुन सक्तैन । लेनिनले विपरीतहरूको एकता र सङ्घर्षलाई द्वन्द्ववादको सार बताउँदै एकता सापेक्ष, सर्तबद्ध र अस्थायी हुन्छ भने सङ्घर्ष निरपेक्ष, निःसर्त र स्थायी हुन्छ भनी विकास गर्नुभयो । तर लेनिनले यसको व्याख्या र विकासको आवश्यकता छ भनी १६ वटा तत्वहरूको उल्लेख गर्नुभयो । त्यो व्याख्या र विकासको कार्यभार माओले १९३७ मा ‘व्यवहारबारे’ र ‘अन्तरविरोधबारे’ जस्ता ऐतिहासिक र कालजयी दार्शनिक कृतिहरूको रचनाद्वारा पूरा गर्नुभयो । त्यसकारण एउटा गम्भीर अनुसन्धानद्वारा माक्र्सवादको विकास गर्नुपर्दछ भन्नेमा म सहमत नै थिएँ । तर माक्र्सवादको विकास गर्नुपर्दछ भनी कस्सिएका नेपाली बर्नस्टिन, ट्राट्स्की र खु्रस्चेभहरू मदन भण्डारी र प्रचण्डहरूले माक्र्सवादको विनास गरेका छन् ।

    यसबाट हामी सतर्क थियौँ । माओले अन्तरविरोधका ६ आयामहरूको विश्लेषण गर्नुभएको छ । त्यसमा अन्तरविरोधको मित्रतापूर्ण स्थानको व्याख्या गर्नुभएको छ । हामीले आठौँ महाधिवेशनमा ‘सजातीय विपरीतहरूको एकत्व’ लाई अन्तरविरोधको मित्रतापूर्ण स्थानका रूपमा ग्रहण गरेका थियौँ । महाधिवेशनमा यसबारे मैले नै बढी व्याख्या गरेको थिएँ । यही सारलाई नै महाधिवेशन हलले सर्वसम्मतबाट पारित गरेको थियो । यसका साथै कार्ल माक्र्सको सर्वाधिक महत्वपूर्ण संश्लेषण ‘दार्शनिकहरूले विभिन्न तरिकाले संसारको ब्याख्या मात्र गरेका छन्, मुख्य कुरा त यसलाई बदल्ने हो’ भन्ने प्रस्तावनामा ‘बदलिएको कुरालाई रक्षा गर्ने हो’ भनी थपिएको छ । त्यसका साथै पार्टीभित्र चल्ने सङ्घर्षलाई अन्तरसङ्घर्ष मात्र भनिएको छ । दुई लाइन सङ्घर्षलाई कटाइएको छ । आज आएर समीक्षा गर्दा यी दार्शनिक मान्यताहरूको विकासका नाममा संशोधनवादको ढोका श्री विप्लवजीले खोल्न चाहनुभएको रहेछ भन्ने पुष्टि हुन्छ ।

    महाधिवेशनबाट फर्केलगत्तै विप्लव–प्रकाण्डमण्डलीले आफ्नो समर्थन गर्नेलाई ‘सजातीय’ र आफूहरूको विरोध वा आलोचना गर्नेलाई ‘विजातीय’ मा वर्गीकरण गरी आफ्ना विरोधीहरूको छटनी गर्न थाल्यो । विद्यार्थी सङ्गठनमा, पत्रकार सङ्गठनमा, मजदुर सङ्गठनमा, गणतान्त्रिक सम्पर्क मञ्चमा, खेलकुद महासङ्घमा, स्वास्थ्यकर्मी सङ्गठनमा र अन्ततः पार्टीमा ‘विजातीय तत्वहरू’ निर्ममतापूर्वक कारबाहीमा परे । सयौँ नेता र कार्यकर्ताहरू सडकछाप बनाइए । सङ्गठन सञ्चालनको पद्धति जनवादी केन्द्रीयता होइन, बरु निरङ्कुश तानाशाही लागू भयो । जेलमा रहेका एकजना राजनीतिक परिषद्का सदस्यसहित १९ केन्द्रीय सदस्यहरू विप्लव–प्रकाण्डको निर्णयबाट कथित शुद्धीकरणका नाममा निष्कासित भएका थिए । उहाँहरूसहित महाधिवेशनबाट चुनिएका ६५ जना केन्द्रीय सदस्यमा ३४ जना निष्कासित भएका छन् । हामीले यसलाई नै विप्लव–प्रकाण्ड अघिल्तिर राखेर तपाईंहरू सङ्गठनात्मक रूपमा निषेधात्मक अधिभूतवादी हो भनेका हौँ । यसका साथै आज आएर कथित नवौँ महाधिवेशनमा पार्टीभित्र चल्ने आलोचना र आत्मालोचनाजस्तो वैज्ञानिक मान्यतालाई पनि परित्याग गरिएको छ । यति नाङ्गो तरिकाले त मदन मण्डारी र प्रचण्ड पनि आएका थिएनन् । उहाँ त नाङ्गै मालेमावादको संशोधन गर्दै संसदीय संशोधनवादी हुनुभएको छ । यसरी उहाँहरूले सजातीय विपरीतको एकत्वलाई दुरुपयोग गर्नुभयो ।

    जहाँसम्म सुदर्शनले ‘मध्यकमान्डमा आएपछि आफू एक्लो हुँदा र जेलमा परेर कमजोर हुँदा सजातीय विपरीतको एकत्वलाई अधिभूतवादी देख्न थाले भन्ने आरोप छ, यो भनाइमा उहाँको षड्यन्त्रका तानाबाना लुकेका छन् । मध्यकमान्ड आउँदा सुदर्शन एक्लो र कमजोर भएको होइन, बरु तपाईंले सडकछाप बनाएका कमरेडहरूलाई समेत पार्टीमा जोडेर भुइँ तहसम्म विशेष अभियानका साथ पार्टी निर्माण गरी बलियो भएको थियो । जब पार्टी बलियो भयो तब तपाईंका लँगौटिया यार प्रकाण्डलाई मन परेन किनभने पार्टी बलियो भएपछि उनलाई धारा ३९ मा गहिरो चोट लाग्यो । जुझारु अर्थवाद उदाङ्गो हुन थाल्यो । जुझारु अर्थवादको नाइके तपाई भएकाले त्यो गहिरो चोट प्रकाण्डलाई मात्र होइन, विप्लवलाई पनि लाग्यो । अनि तपाईंले माइला लामाजस्ता कमरेडहरूलाई पनि मेराविरुद्ध लबिङ गर्न निर्देशन दिनुभयो । मेराविरुद्ध कैयौँ इमानदार कमरेडहरू पनि लाग्नुभयो ।

    मध्यकमान्ड विचारधारात्मक, सङ्गठनात्मक, सङ्घर्ष र आर्थिक रूपमा मजबुत हुन थालेपछि तपाईंहरूले हाम्रो पार्टीभित्र घुसेका केही प्यादाहरूको योजनाबद्ध प्रयोग गरी गिरफ्तार गराउनुभयो र जेल पठाउनुभयो । जेलमा हालेपछि त स्वतः कमजोर हुन्छ भन्ने भ्रममा पर्नुभयो । विचारधारात्मक रूपमा बलियो भएकाले त्यसको पनि मैले सामना गरेँ । पार्टीका अधिकांश कमरेडहरूले मेरो रिहाइका लागि पहलकदमी गरिरहनुभएको थियो । पार्टीका सहयोगी र शुभचिन्तकहरूले पनि रिहाइका लागि बल गरिरहनुभएको थियो । तपाईंले त २०७७ सालको असार १ देखि १६ सम्म मैले लगातार गरेको दूरभाषयन्त्र उठाउनुभएन । ३ बुँदे सहमतिपछि पनि बन्दीहरू नछुट्नु विडम्बनाको कुरा थियो । यो म छुट्ने–नछुट्ने भन्ने प्रश्न थिएन, बरु ३ बुँदे सहमति दुवै पक्षबीच लेनदेनको सहमति थियो वा विप्लवको आत्मसमर्पणको तमसुक भन्ने कुराबाट हामी झस्केका थियौँ । तपाईंले भनेजस्तो ‘जल्केको गाई’ हामी थिएनौँ । तपाईं स्वयम् सुदर्शनहरू छुट्छन् कि भनेर जल्किरहनुभएको थियो ।

    क. विप्लव, तपाईंले ममाथि आरोप लगाउनुभएको छ– जेलमा अनेक मान्छेलाई भेटेर वार्ताको संयोजक बन्न खोजेको तर आफुले इन्कार गरेको । मलाई जेलमा गएर भेट्ने व्यक्तिहरू मणि थापा, लेखराज भट्ट, जनार्दन शर्मा, कर्ण थापा, कृष्णबहादुर महरा, गणेशमान पुन, शक्ति बस्नेत, रेखा थापा र गृहसचिव प्रेम राई अथवा मोहन वैद्य ‘किरण’ सबै सकुशल नै हुनुहुन्छ । विष्णु पौडेल भेट्न आएको कुरा जनआस्थाले छापेको थियो तर उहाँ आउनुभएको थिएन । उहाँहरू कसैले पनि वार्ताको संयोजक बन्ने विषयमा कुरा भएको वा गरेको मलाई थाहा छैन । त्यस्तो भनिएको थियो भने उल्लिखित व्यक्तिहरू र यहाँ उल्लेख नभएका तथा नख्खु जेलको अभिलेखमा रहेका नामहरू अनुसन्धान गर्न सक्नुहुन्छ । बरु तपाईंकहाँ त्यस्तो प्रस्ताव आएपछि तपाईंले इन्कार गर्नु त स्वाभाविक छ । प्रकाण्डबाहेक तपाईंको विश्वासपात्र अरू कोे हुनसक्छ र ?
    वार्ताटोली बनेपछि त्यसको संयोजकलाई विश्वास नगरेको कुरा त सही हो किनभने जसले हामीलाई काराबासमा सडाउन अनेक षड्यन्त्र गरेको छ, त्यसलाई विश्वास गर्ने कुरा त तपाईं भए पनि गाह्रै हुन्थ्यो । यसबारे विस्तृत कुरा आगामी दिनमा भन्दै जाउँला । त्यतिबेला तपाईं पार्टीको नेता हुनुहुन्छ भनेर आफूलाई लागेको कुरा भनेको हो तर तपाईं र ‘वार्ताटोली संयोजक’ को जुझारु अर्थवादी स्वार्थ बलियो गरी जोडिएको कुरा त्यति नबुझेरै भनेकोमा पश्चाताप छ ।

    ‘रिहा भएपछि पार्टीपङ्क्तिलाई धन्यवाद दिनुको सट्टा पार्टीभित्रैबाट गिरफ्तार गराएको भनी आरोप लगाएको’ भन्ने तपाईंको आरोप छ । पहिलो कुरा, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी हामी सबैको मेहनत, घाइते-अपाङ्ग योद्धा र सहिदहरूको बलिदानबाट बनेको पार्टी थियो । त्यसकारण मैले रिहा भएर नारायणगोपाल चोकमा बोल्दा तपाईंको नामै लिएर पार्टीपङ्क्तिलाई धन्यवाद दिएको कुरा भनिरहनु पर्दैन । यस्तो झूट कुरा बोल्नु संसदीय संशोधनवादीका लागि त सुहाउँदै होला तर एउटा मालेमावादीका लागि योभन्दा तिरस्कारपूर्ण कुरा अरू हुन सक्दैन । एउटा भौतिकवादीले जे हो त्यही भन्नुपर्दछ । मलाई मैले बोलाएको व्यक्ति परिवर्तन गरी पार्टीभित्र घुसेको शङ्स्कास्पद व्यक्ति पठाएर मोटरमै ल्याई काभ्रे र ललितपुरको सिमानामा २०७५ साल चैत ९ गते बिहान ५ बजे पक्राउ गराएको तथ्य त बरकरार रहेको छ । त्यसबाट छट्पटिएपछि त्यो रिहाइ भाषण गरेको केही घन्टाभित्र मलाई बोलाएर ‘यस्तै कुरा गरेर त बिग्रन्छ’ भन्दै अप्रत्यक्ष धम्की दिनुभएको थियो । सायद त्यतिबेला माइला लामा काठमाडौँको इन्चार्ज नभएको भए मलाई स्वागत गर्ने कुरा पनि हुँदैनथ्यो होला ।

    तपाईंले फेरि आरोप लगाउनुभएको रहेछ-‘जेलभित्रै पार्टी र क्रान्ति छोड्ने, पार्टी फुटाएर क्रान्तिलाई धोका दिने तथा क्रान्ति र नेतृत्वलाई बदनाम गर्ने दुस्मनसामुन्ने जिम्मा लिएको…।’ ‘…होइन भने एनसेलमा जिम्मा लिने सुदर्शन छुट्ने तर हामीले भाग लिएका होइनौँ भन्ने कार्यकर्ता आजसम्म नछुट्ने कसरी हुन्छ ?’
    कमरेड विप्लवसँग ‘दुस्मनसामुन्ने जिम्मा लिएको’ त्यस्तो कुनै प्रमाण छ ? हामीले त्यस्तो जिम्मा लिएको भए ललितपुरको जाउलाखेल प्रहरी परिसरबाटै शङ्कर भाइसँग निस्केर ‘क्या चमत्कार !’ सहित तपाईं र तपाईंका प्रवक्ताको बधाई खाइहाल्थ्यौँ नि । हामी त पार्टी र क्रान्तिकै लागि तीन वर्षसम्म काराबासको साजय भोग्न बाध्य भयौँ । हामीले त पार्टी र नेतृत्वको बदनाम होइन, बरु पार्टी, क्रान्ति र नेतृत्वको सान बढाएका थियौँ । तपाईंको निर्देशनमा हामीले ज्यान हत्केलामा राखेर जोखिमपूर्ण कामहरू गरेका हौँ ।

    जसरी प्रचण्डले बाजुरा कारागारमा बस्दा रिहाइका लागि एउटा वक्तव्य पनि नदिएको अवस्थामा पनि त्यही कारागारमा मैले प्रचण्डपथका बारेमा आलेख तयार पारेँ, त्यसरी नै तपाईंका प्रवक्ताले हाम्रो रिहाइका लागि एक शब्द नबोल्दा पनि पार्टी र क्रान्तिका लागि नख्खु कारागारमा हामीले तपस्या ग¥यौँ । एनसेल वा यस्तै बदनाम अन्य निशानामा कारबाहीको जिम्मा नलिने तपाईंहरूको जुझारु अर्थवादी सोचलाई हामीले जिम्मा लिएर अप्ठेरो पारेकामा माफ गर्नुहोला । त्यसका बाबजुद पनि हामीलाई कारागारमा हालेर मोटै रकम हातपार्नुभयो । एनसेलमाथि कारबाहीको जिम्मा लिने सुदर्शन कारागारबाट छुटेकोमा पश्चाताप रहेछ होइन, तपाईंलाई ! तपाईंलाई भित्रभित्रै आश्चर्य लागेको पनि होला किनभने छुटाउने तपाईंको भित्री मन थिएन भन्ने कुरा तपाईंले उठाउनुभएको प्रश्नबाट पनि स्पष्ट हुन्छ ।

    मुुटुको समस्याका कारण मलाई कारागारबाट गङ्गालाल अस्तालमा भर्ना गरिएको बेला भेट्न जानुभएकै थियो । हो, त्यही अस्पतालको एनजियोग्राफीबाट आएको रिपोर्ट सर्वोच्चको रिटमाथि बहस गर्दा वरिष्ठ अधिवक्ता एकराज भण्डारीलगायतले राखेपछि त्यसैमा टेकेर मलाई छोडिएको थियो । त्यसकारण यो कसरी छुट्यो भनेर चिन्ता नगर्नुहोस् विप्लव कमरेड । तपाईंको भाग्य रहेछ भने म फेरि पनि जेल जान बेर छैन । डर त आखिर आफ्नै नजिकैकाबाटै हुँदोरहेछ । पाण्डवहरूलाई १४ वर्ष बनबास पठाउने त आखिर आफ्नै बडाबा धृतराष्ट्र थियो । धृतराष्ट्रलाई उक्साउने मूलतः दुर्योधन नै हो । तपाईंभित्र पनि दुर्योधन त छँदैछन् ।

    यही प्रसङ्गमा ‘पार्टीले धेरैपटक विश्वास नगर्न भनेको व्यक्तिलाई काखी च्यापेकै कारण उनकै संलग्नतामा गिरफ्तार परेको’ भन्ने आरोप ममाथि लगाइएको छ । तर त्यस्तो विश्वास नगर्न भनेको व्यक्तिलाई कारबाही गरेर पार्टीबाट निकाल्न त कहिल्यै भनिएन । अनि मैले त विश्वास नगर्न भनेको व्यक्तिलाई विश्वास नगरी सापेक्ष रूपमा मैले विश्वास गरेको व्यक्तिलाई केन्द्रीय समितिको बैठकमा लिनका लागि बोलाएको थिएँ । त्यो व्यक्तिलाई आफ्नो साथमा राखेर तपाईंको लँगौटिया यारले विश्वास नगर्न भनेको व्यक्तिलाई मकहाँ पठाइदियो । त्योभन्दा माथिबाटै योजना बनेपछि त कसको के लाग्दोरहेछ र ? त्यो त देखाउने दाँत मात्र थियो, चपाउने दाँत अर्कै थियो ।

    अर्को एक ठाउँमा श्री विप्लवजीले मलाई ‘हुन पनि उनी कति एकोहोरे डेब्रे छन् भने आफ्नो अगाडिको साथी कता पुग्यो कता, सालको ठुटोलाई साथी भनेर १० मिनेट हामीलाई ठिङ्ग उभ्याएका थिए’ भन्ने आरोप लगाउनुभएको छ । यो राती एक जङ्गलमा हिँड्दा भएको घटना हो । कहिलेकहीँ त्यस्तो दृष्टिभ्रम हुन्छ नै । थकाइ र निद्राले दृष्टिभ्रममा मद्दत गर्दछ । तर यसलाई उहाँले त दार्शनिकीकरण गर्नुभयो । ‘एकोहोरे डेब्रे’ हुनुको अर्थ त अधिभूतवादी हुनु हो । उहाँले कति सचेततापूर्वक यो कुरा संश्लेषण गर्नुभयो, त्यो अर्को कुरा हो । अधिभूतवाद भनेको दार्शनिक विधिशास्त्र हो जुन आदर्शवादी दर्शनसँग सम्बन्धित हुन्छ । उहाँले जुन घटनाबाट ‘एकोहोरे डेब्रे’ संश्लेषण गर्नुभएको छ, त्यसको अर्को पक्ष शारीरिक अवस्थालाई नहेरीकन, अभिव्यक्त एउटा घटनालाई लिएर यो संश्लेषण गरिएको छ । कुनै विषयको सैद्धान्तीकरण तब गरिन्छ जब त्यही कुरा बारम्बार दोहोरिन्छ । आरोपका लागि आरोप वा आलोचनाका लागि आलोचनाले आलोचककै संश्लेषण गलत साबित हुन्छ ।

    श्री विप्लवलाई ‘चुनाव प्रयोग’ का लागि आफूलाई साथ नदिएकोमा सबभन्दा बढी चोट लागेको छ जसले गर्दा उहाँलाई संसद्वादीहरूले जति विश्वास गर्नुपर्ने हो त्यति गरेनन् । त्यसैले गर्दा उहाँ हामीलाई पनि मुछिरहने प्रयास गर्नुहुन्छ । त्यसैले सुदर्शनले ‘२०७८ सालको जाजरकोट, रुकुम र दाङमा प्रशिक्षण गर्दा चुनावमा भाग लिन सकिन्छ’ भनेका थिए । म कारागारबाट बाहिर नआउँदै आठौँ के.स.को दसौँ बैठकमा नै स्थानीय चुनावका लागि उहाँले तयारी गर्ने सङ्केत दिइसक्नुभएको थियो । मलाई भने उहाँले संसदीय व्यवस्थाअन्तर्गत हुने चुनावबारे के गर्ने भन्ने सङ्केत पनि दिनुभएको थिएन । खास कुरा प्रकाण्डसँग बाहेक अरूसँग हुँदैनथ्यो । एघारौँ बैठकमा म आइपुगेको थिएँ ।

    त्यो बैठकमा मैले सडकछाप बनाइएका कमरेडहरूलाई पार्टी तथा जवस र मोर्चा सङ्गठनमा जोडी सङ्गठन सुदृढ गर्ने र पार्टी एकतालाई अघि बढाउने प्रस्ताव गरेको थिएँ । त्यसको खण्डन गर्न उहाँले एक घन्टा समय खर्च गर्नुभएको थियो । त्यसपछि मैले दाङ, रुकुम र जाजरकोटका पार्टी जिल्ला समिति बैठकहरूमा भाग लिएँ । त्यहाँ मैले मूलतः वैज्ञानिक समाजवादको व्याख्या गर्दै चुनाव कार्यनीति भएकाले वैज्ञानिक समाजवादी क्रान्तिका लागि जे गर्दा फाइदा हुन्छ त्यही गर्नुपर्दछ । रणनीतिको सेवा हुन्छ भने चुनावको उपयोग पनि गर्न सकिन्छ, जस्तो २०४८ साल र २०४९ सालमा यसको उपयोग गर्दा २०५२ सालको जनयुद्ध अघि बढाउन धेरै मद्दत पुगेको थियो तर आज यसको स्थिति त्यस्तो छैन । संसदीय चुनाव उपयोग गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी पनि संसद्वादमा चुर्लुम्मै डुबेका छन् । बढी सैद्धान्तिक कुरा गरिएको थियो । कुनै भाटले आफ्नो स्वार्थमा त्यस्ता कुरा गरिदिन सक्छ । यसबारे यसभन्दा पहिलेका सामग्रीहरूमा पनि हामीले चुनावबारे स्पष्ट पारिसकेका छौँ ।

    विप्लव महोदय, तपाईंले मलाई ‘प्रचण्डको हनुमान’ र ‘लिनप्याओवादी’ को बिल्ला पनि भिराइदिनुभएको छ । जनयुद्धको पहलकर्ता र त्यसलाई ऐतिहासिक उचाइसम्म उठाउने नेता भएकाले प्रचण्डलाई स्थापित गर्न मैले महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा साँचो हो । यो पनि साँचो हो-जनयुद्धका योजनाहरू कार्यान्वयन हुँदै जाने क्रममा २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनले प्रचण्डपथको संश्लेषण ग¥यो । त्यस बेला पनि म बाजुरा कारागारमा थिएँ । मैले त्यो संश्लेषणलाई अत्यन्त उत्साहका साथ स्वागत गर्दै ‘प्रचण्डपथ : एक्काईसौँ शताब्दीको विचारधारात्मक जग’ शीर्षकमा एउटा लेखको विकास गरेँ । जेलबाट बाहिर आएपछि थप सामग्रीका आधारमा ‘प्रचण्डपथ :एक्काईसौँ शताब्दीको विचारधारात्मक छलाङ’ शीर्षकको किताब नै विकास गरेँ। यसको कारण के हो भने आजको परिस्थितिमा मालेमावादको विकास गर्नैपर्दछ भन्ने आवश्यकताले मलाई प्रेरित गरिरहेको थियो तर प्रचण्डपथका प्रचण्ड तपाईंजस्तै विचलित भएपछि हामीले विचारको विकासका लागि विद्रोह ग¥यौँ । तर मचाहिँ तपाईंजस्तो हनुमान भने कहिल्यै भएको थिइनँ ।

    हनुमानै भएर बसिरहेको भए म आजको भन्दा फरक परिवेशमा हुन्थेँ। बरु तपाईं त प्रचण्ड भारतबाट आधारइलाकामा फर्किसकेपछि खानपिन, दुःखसुखमा सँगसँगै हुनुहुन्थ्यो । तपाईंको नजिकै रहने एकजना कमरेड (जो माकेमै हुनुहुन्छ) अहिले पनि भन्नुहुन्छ, ‘प्रचण्डको घोडाको लगाम विप्लवको हातमा हुन्थ्यो भने पुच्छरचाहिँ विप्लवको स्टाफको हातमा ।’ यसो गर्नु भनेको कम हनुमानगिरी हो त ? त्यति मात्र होइन, प्रचण्डका लागि जहाँ गए पनि मासुका अनेक परिकार बन्थे र डिनरका लागि स्थानीय कोदोको तीनपानेका साथै अनेकथरी विदेशी सोमरसका बोतलहरू आइपुग्थे । दोस्रो सतीपोले कारबाही (यसलाई बढी खारा कारबाहीका नामले चिनिन्छ) पछि हेलिकोप्टरबाट प्रचण्डको बासस्थानमा बम विस्फोट नहोउन्जेलसम्म प्रचण्ड र विप्लवबीचको पिरती उत्कर्षमै थियो । शान्तिप्रक्रियामा आएपछि प्रचण्डले पूर्वी कमान्डमा रहेका अनन्तलाई केन्द्रीय कमान्डमा र आधारइलाकामा रहेका विप्लवलाई सुदूरपश्चिम कमान्डमा पु¥याए । त्यसपछि प्रचण्डप्रति विप्लवको मनमा आशङ्का फैलियो र ‘बुढाहरू हटाऊ’ भन्ने नारा लाग्न थाल्यो । त्यसकारण आफूभित्र जे हुन्छ, अरूलाई त्यस्तैअनुरूप सोच्नु त मनोगतवाद हो ।

    विप्लव महोदय, मलाई तपाईंले लिनप्याओवादी पनि भन्नुभएको छ । थाहा नभएको मान्छेले थाहा नभएको कुरा ग¥यो भने त्यो प्रत्युत्पादक हुन्छ । लिनप्याओ माओका उपाध्यक्ष थिए । चिनियाँ कम्युनिस्ट पार्टीको नवौँ महाधिवेशनबाट उनी उत्तराधिकारी पनि घोषित भएका थिए । जब उनी उत्तराधिकारी घोषित भए तब माओको अति प्रशंसा गर्न थाले । अगस्टको मध्यदेखि सेप्टेम्बर १३, १९७१ मा ‘प्रान्तीय भ्रमणका क्रममा जिम्मेवार कमरेडहरूसँग कुराकानी’ मा माओले भन्नुभएको छ–‘मैले कमरेड लिनप्याओलाई भनेको छु उनले भनेका केही कुराहरू मिलेका छैनन् । उदाहरणका लागि उनले के भनेका छन् भने एउटा विभूति विश्वमा केही शताब्दीमा एकपटक मात्र देखापर्दछ भने चीनमा त केही सहश्राब्दीमा एकपटक मात्र । यसले तथ्यहरूसँग कत्ति पनि मेल खाँदैन ।

    माक्र्स–एङ्गेल्स समकालीन थिए र हामीले लेनिनलाई पाउनुपूर्व एक शताब्दी पनि बितेको छैन । त्यसैले तपाईं कसरी भन्न सक्नुहुन्छ कि विभूति केही शताब्दीमा एकपटक मात्र देखापर्दछ ?’ ‘अरूको १० हजार वाक्यबराबर माओको एउटै वाक्य हुन्छ । यो सफल हुन्छ भनेर तपाईंले नसोच्नुहोस् । जे भए पनि एउटा वाक्य त एउटै वाक्य हुन्छ अनि कसरी यो दस हजार वाक्यहरूको मूल्यबराबर एक वाक्य हुन्छ ? हामीले राज्याध्यक्ष नियुक्त गर्नु हुँदैन । म राज्याध्यक्ष हुनै चाहन्नँ । मैले यो कुरा ६ पटक भनिसकेको छु । मैले हरेकपटक भनेको एउटा वाक्यको मूल्य दस हजार हुन्छ भने साठी हजार वाक्य प्रयोग गरिसकेको छु । तर उनीहरूले कहिल्यै सुनेनन् । त्यसकारण मेरो वाक्यको मूल्य आधा वाक्य बराबर पनि भएन । वास्तवमा यसको मूल्य त शून्यबराबर भयो । बरु चेन पोताको हरेक वाक्यको दस हजार वाक्यबराबरको मूल्य हुन्छ ।’
    –ग्रन्थ ९, पृ-४४५

    अर्कोतिर दसौँ महाधिवेशनको राजनीतिक प्रतिवेदनमा चाओ एनलाईले लेखेका छन्, ‘१९७० को अगस्टमा भएको नवौँ केन्द्रीय समितिको दोस्रो विस्तारित सत्रमा उसले प्रतिक्रान्तिकारी सत्ता अपहरण सुरु ग¥यो, त्यसपछि मार्च १९७१ मा उसले ‘परियोजना ‘५७१’ को रूपरेखा’ शीर्षकको सशस्त्र प्रतिक्रान्तिकारी सत्ताहरणको योजना बनायो र सेप्टेम्बर ८ मा हाम्रा महान् नेता अध्यक्ष माओलाई हत्या गरी सत्ता कब्जा गर्ने योजना अघि सा¥यो र विद्रोही केन्द्रीय समिति स्थापना ग¥यो । आफ्नो षड्यन्त्र असफल भएपछि सेप्टेम्बर १३ मा लिनप्याओ गुप्त तरिकाले जहाज चढ्यो । पार्टी र देशलाई विश्वासघात गरी सोभियत संशोधनवादीहरूको पक्षत्यागीका रूपमा उड्यो र जनवादी गणतन्त्र मङ्गोलियाको उन्दुरखानमा जहाज दुर्घटना भई म¥यो ।’
    –माओसहित ५ जना, पृ ८० ।

    विप्लव महोदय, अब भन्नुहोस् के म र कञ्चन यति भयानक र षड्यन्त्रकारी भएर तपाईंका विरुद्ध लागेका थियौँ त ? न नेपाल १९७१ को माओ नेतृत्वको समाजवादी चीन हो, न हाम्रो छिमेकी सोभियत संशोधनवादी छ । हाम्रो पार्टीमा त्यस्तो चेन पोता पनि थिएन जससँग मिलेर सत्ता अपहरणको योजना बनाइएको होस् । तपाईंले लगाएको आरोपअनुसार हाम्रो विद्रोहमा अमेरिकी वा भारतीय साम्राज्यवादको संलग्नता निश्चित हो भने पनि प्रमाणित गर्नुप¥यो । हाम्रो परियोजना नम्बर कति हो, त्यो पनि एकिन होला । प्रचण्डले बादललाई यस्तो आरोप लगाएका थिए तर चुनबाङ बैठकमा फिर्ता लिए । हामीले त पहिलोपटक नेपालमा वैज्ञानिक समाजवादको कार्यदिशा बनाएर तपाईंलाई मद्दत ग¥यौँ। एकीकृत जनक्रान्ति सारसङ्ग्रहवादी बनिरहेको बेला त्यसलाई सामरिक कार्यदिशा बनाउन प्रयत्न ग¥यौँ तर तपाईंले आफ्नै व्याख्या छोड्नुभएन, त्यसलाई सारसङ्ग्रवादी बनाई नै रहनुभयो । हाम्रो बुझाइ त स्पष्ट छ, बरु तपाईंले पो हामीलाई धोका दिनुभयो । त्यत्रो विद्रोह गरेर आएपछि त धैर्यपूर्वक क्रान्तिमा अघि बढ्नुपथ्र्यो । आखिर प्रचण्डकै बाटोमा लाग्नु त राम्रो कुरा होइन । बरु लँगौटिया यारसँग सतर्क रहनुहोस्, त्यहाँ भेटिन्छ लिनप्याओवाद ।

    ‘समानुपातिक सांसद नपाएर रिपोर्टर्स क्लबमा रोएको’ भन्ने आरोप लगाउन पछि पर्नुभएको रहेनछ । यो मैले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट विद्रोह गर्दाको प्रसङ्ग हो । त्यहाँ मैले आफ्ना विचारधारात्मक तर्कहरू पेस गरेको कुरा हो, रोएको होइन । मेरो विद्रोहको प्रसङ्गलाई रोएको भन्ने हो भने त तपाईं पनि पटकपटक रुनुभएको छ । पहिलोपटक आधारइलाकाबाट केन्द्रीय मुकामसँगै काठमाडौँ आउन नपाउँदा, दोस्रोपटक रोल्पामा सांसदको उम्मेदवार नपाउँदा र तेस्रोपटक मालदार मन्त्री नपाउँदा रुँदै २०६९ मा विद्रोह गर्नुभएको थियो । तथ्य त यही हो । त्यसकारण लाहाको घरमा बसेर अरूको घरमा आगो नलगाएकै राम्रो ।

    कमरेड विप्लवले अर्थशास्त्रीय दृष्टिकोणबाट यस्ता आरोप लगाउनुभएको छ : ‘कारबाहीमा परेको बेला सडकमै पुगेको मान्छे नेकपामा आएपछि यसको प्रतिष्ठा भँजाएर करोडपति भएको’, ‘हाम्रो दृष्टिमा यो माक्र्सवादी अर्थशास्त्र नभई सुदर्शनशास्त्र हो ।’

    कमरेड विप्लव, कृपया ! पार्टीको प्रतिष्ठा भँजाएर यो करोडौँको सम्पत्ति यति नं खाता, फलानो जमिन र यो घरबारी भनेर किटान गरिदिनुस् न, जसरी हामी तपाईंको सम्पत्तिलाई ठोस–ठोस गरिदिनसक्छौँ । आखिर तपाईंको चिन्तनशैली रुमानी नै रहेछ । त्यसैले हामीले निम्नपुँजीजीवी स्वच्छन्दतावादी भनेका छौँ । म मध्यकमान्डमा रहँदा सम्बन्धित स्रोतलाई फोनसमेत गराएर ३ करोडभन्दा बढी त तपाईंलाई नै बुझाएको छु । यहाँ कार्यकर्तालाई के–कति खर्च भएको छ भन्ने थप हिसाब पनि तपाईंलाई बुझाएको छु । बरु तपाईंको लँगौटिया यारले मैले छलफल गरेका ठाउँमा गएर करोडौँ हिसाब लिएर गएको र त्यसको हिसाब नदेखाएको पनि तपाईं र म बसेर छलफल गरेका छौँ । जहाँसम्म हामीले तपाईंप्रति किटान गरेको आर्थिक प्रवृत्ति जुझारु अर्थवादलाई सुदर्शनशास्त्र भन्नुभएको छ, यो वास्तवमा तपाईंको मनोगतवाद हो । यो मेरो शास्त्र होइन, यो त नेकपा (बहुमत) को सामूहिक निर्णय हो । यो विशेष राष्ट्रिय भेलाको निष्कर्ष हो । आफू व्यक्तिवादी भएपछि अरूलाई त्यही दृष्टिले हेर्नु हुँदैन । यस प्रसङ्गमा मलाई एउटा कुरा सम्झना भयो, २०५९ सालतिरको कुरा हो, कालीकोटको कोटवाडामा सुदूरपश्चिम कमान्डको स्कुलिङ हुँदै थियो ।

    एकजना चन्द थरका कमरेडले ‘यो दर्शनशास्त्रको स्कुलिङ होइन, यो त सुदर्शनशास्त्र हो’ भनिदिनुभएछ । यहाँ आइपुगेपछि श्री विप्लवजीले माक्र्सवादका तीनवटै सङ्घटक अङ्ग पूरा गरिदिनुभएको छ : एक, दर्शनशास्त्रलाई पहिले नै सुदर्शनशास्त्र भनिएको थियो, दुई, अर्थशास्त्रीय सुदर्शनशास्त्र र तीन, वैज्ञानिक समाजवादका क्षेत्रमा सुदर्शन संस्कृति । कमरेड विप्लव, तपाईंको ज्ञानलाई विचार गर्दा हामीलाई यति राम्रो नकारात्मक पगरी गुथाउने महाविभूतिलाई साधुवाद दिनैपर्छ ता कि हामीलाई माक्र्सवादका तीनवटै सङ्घटक अङ्गमा विकास गर्ने प्रेरणा मिलोस् ।

    विप्लव महोदयले आर्थिक आत्मनिर्भरताका नाममा, कम्युनका नाममा लुटपाट मच्चाएर त्यसको पनि अतिरिक्त मूल्य लिइरहनुभएको छ, त्यो जुझारु अर्थवाद नै हो । तपाईंले जसरी बिघौँबिघा जमिन लिनुभएको छ, त्यसले तपाईंलाई साम्यवादी क्रान्तितिर होइन, बरु सामन्ती जमिनदारी प्रथातिर तानिरहेको छ । तपाईंले आफ्नै भवनमा भव्य महाधिवेशन बोलाएर जुन आफ्नै उत्पादन भनेर मासु–भात खुवाउनुहुन्छ नि त्यो सामूहिक श्रमको व्यक्तिगत नगदीकरण हो । सतहमा हेर्दा त तपाईं माक्र्सकै शब्दमा पशु–निर्दयता–निवारण समितिको अध्यक्षजस्तो देखिनुहुन्छ तर तपाईंभित्र जुन हृदय धड्किन्छ त्यो पसिना बगाउने भाइबहिनीहरूकै धड्कन हो । त्यसकारण माक्र्सवादी अर्थशास्त्र अतिरिक्त मूल्य शोषणको अन्त्य हो, सामूहिक उत्पादनको सामूहिक स्वामित्व हो, उत्पादनका साधनहरूमाथि समाजको स्वामित्व हो । एउटा साम्यवादी अहिलेदेखि त्यो आचरणका लागि तयार हुनैपर्दछ ।

    कमरेड विप्लव, तपाईंले भन्नुभएको छ : ‘सुदर्शनले सांस्कृतिक क्रान्तिको कुरा गर्दा साथीहरू मुसुमुसु हाँस्दै मुखामुख गर्दछन्,…यो सर्वहारा संस्कृति नभई सुदर्शन संस्कृति हो ।’ तपाईंले पनि जहाँ निसाना लगाएर सांस्कृतिक क्रान्तिको प्रश्न उठाउँदै हुनुहुन्छ नि, त्यो निसानालाई हेर्दा म पनि तपाईंका हरफहरू पढ्दै मुसुमुसु हाँसेँ । सर्वहारा सांस्कृतिक क्रान्तिलाई तपाईंले यौन–मामलामा कैद गरेर आफ्नो सङ्कीर्णतावादी चिन्तन प्रकट गर्नुभएको छ । वैज्ञानिक साम्यवादी संस्कृति भनेको नयाँ उत्पादन सम्बन्ध र नयाँ राजनीतिक व्यवस्थाको अभिव्यक्ति हो । यो अभिव्यक्ति प्राप्त गर्न पुरानो आदतको सत्ता पल्टाउने कुरा हो । त्यसकारण केन्द्रीय सांस्कृतिक क्रान्ति समूहको बैठकमा कुराकानी गर्दै माओ भन्नुहुन्छ : ‘सर्वहारा सांस्कृतिक क्रान्ति भनेको सम्पूर्ण शोषक वर्गको विचारधाराविरुद्ध सांस्कृतिक क्रान्ति हो । यो सांस्कृतिक क्रान्ति पुँजीवादी सांस्कृतिक क्रान्तिबाट बिल्कुलै भिन्न हुन्छ । राजनीतिक, आर्थिक र सांस्कृतिक पूर्वाधारहरूको सिर्जनापछि, सर्वहारा वर्गले राज्यसत्ता हातमा लिएपछि सर्वहारा सांस्कृतिक क्रान्तिको मार्ग प्रसस्त हुन्छ ।’

    ‘सर्वहारा सांस्कृतिक क्रान्तिले शोषक वर्गले पालनपोषण गरेको सम्पूर्ण पुरानो विचारधारा तथा संस्कृति र सम्पूर्ण रीतिरिवाज तथा बानीबेहोरा मात्र उन्मूलन गर्ने उद्देश्य राख्दैन जसले हजारौँ वर्षदेखि जनताको मस्तिष्कलाई विषालु बनाएका छन्, बरु जनसमुदायका माझमा समग्र रूपले सर्वहारा वर्गको नयाँ विचारधारा तथा संस्कृति र समग्र रूपले नयाँ रीतिरिवाज तथा बानीबेहोराको सिर्जना तथा पालनपोषण पनि गर्दछ । रीतिरिवाज र बानीबेहोरा रूपान्तरणमा यो महान् कार्यभारको मानवइतिहासमा कुनै पूर्वउदाहरण छैन ।’ माओले तपाईंलाई यति सुन्दर जबाफ दिएपछि मैले तपाईंले उठाउनुभएको सांस्कृतिक क्रान्तिबारे धेरै व्याख्या गर्नु परेन ।

    यस्तै हाम्रो पार्टीका कार्यालय सदस्य क. दीपकमाथि सातबुँदे सरकारी प्रस्ताव लिएर आएको र ३ बुँदे सहमतिको दोस्रो बुँदामा ‘वैधानिक’ भन्ने पदावली राख्न खुब जोड लगाएको भन्ने आरोप छ । कमरेड विप्लवले पहिलो कुरा त के बुझ्नुप¥यो भने कमरेड दीपकलाई सरकार र नेकपाबीचको माध्यम बनाएपछि पार्टीका प्रस्तावहरू सरकारलाई पु¥याउने अनि सरकारका प्रस्तावहरू पार्टीलाई पु¥याउने कुरा त स्वाभाविक छ । आत्मसमर्पणकारी प्रस्ताव त सरकारले पठायो । त्यसमा दीपकजीको के दोष भयो ? अप्ठ्यारा काममा जोताएर मनमरी दोष थोपर्ने काम नगर्नु नै बेस होला ।

    अहिले पूर्वाग्रह पोख्नु बुद्धिमानी होइन । पहिलो दिनदेखि नै तपाईंसँग दुई लाइन सङ्घर्ष चलाउँदै आएको र तपाईंको चर्को उत्पीडन खपेको त उहाँले नै हो । सैद्धान्तिक तथा राजनीतिक रूपले आलोचना गरिरहेका कमरेडहरूलाई जो मालेमावादी हुन्छ उसले सम्मान गर्न पनि जान्नुपर्दछ । आफूलाई मनपरेन भने ढुङ्गा मुढा बर्साउनु हुँदैन, बरु विचारधारात्मक आलोचना नै गर्नुपर्दछ । ‘वैधानिक गतिविधि कि शान्तिपूर्ण गतिविधि’ भन्ने विषयमा बहस हुनसक्छ । अन्ततः नेकपाले शान्तिपूर्ण गतिविधि गर्ने भन्ने निर्णय भयो । यो त तपाईंको व्यक्तिगत निर्णय होइन, बरु सामूहिक निर्णय हो । तपाईं त सामूहिक सङ्गठनको केन्द्रीय अभिव्यक्ति हुनुहुन्थेन र ? सबै कुरामा आत्मकेन्द्रित व्यक्तिवादको अभिव्यक्ति दिँदै हुनुहुन्छ । सबै कुराको श्रेय तपाईं र तपाईंको लँगौटिया यारले लिनुपर्ने, यो कहाँको साम्यवादी मान्यता हो ?

    त्यसरी नै हाम्रा कार्यालय सदस्य क. गुणराज लोहनीमाथि ‘यो (अन्नपूर्णको पैसा) को दोषी भने सुदर्शन नभएर गुणराज थिए । यस्ता निकृष्ट, अधर्मी वा अनैतिकहरूका बारेमा धेरै भन्नु बेकार छ ।’ ‘…धेरै भन्नु बेकार छ’ भनेर हचक्क हच्किनुभएको छ । सायद कमरेड गुणराजसँग विगत सहकार्यको चित्र दिमागमा आयो होला । अन्नपूर्णसँग मेरो पो करोडौँको मोलमोलाइ भएको थियो । कुरा नमिलेपछि अरूलाई दोष लगाएको हो भन्ने कुरा पनि चलचित्रको दृश्यमा आयो होला । तपाईंको मण्डलीको कर्तुतबारे गुणराजले आफ्ना आलेखहरूमा चिरफार गरिसक्नुभएको छ । म यति मात्र भन्न चाहन्छु– कमरेड गुणराज पनि तपाईंको उत्पीडनबाट खारिएको वैचारिक योद्धा हो । त्यसकारण सिसमहलबाट उहाँमाथि ढुङ्गा हान्नु तपाईंको स्वास्थ्यका लागि हानिकारक छ । उल्टो तपाईंका निकृष्टता, अधर्मिता र अनैतिकताको तथ्यपूर्ण पराकाष्टा उहाँबाटै प्रकाशित हुनसक्छ ।

    कमरेड विप्लव, तपाईंको विचारधारात्मक बारीमा फलेका अड्बाङ्गे र खट्टा स्याउहरू चपाउँदा–चपाउँदा दात कुँडिएर हैरान भएँ । अब सीधा विचारधारात्मक बहसका लागि मैदानमा उत्रिन चुनौती दिन्छु ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ